Comments Add Comment

एनआरएनए स्पेनको अध्यक्षमा गुरुङ

बार्सिलोना। एनआरएनए स्पेनको अध्यक्षमा दिनेश गुरुङ (देउकाजी) विजयी भएका छन् । नयाँ कार्यकालका लागि भएको निर्वाचनमा पेशलकुमार कोइरालालाई १२४ मतले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले ६९६ मत हासिल गर्दा कोइरालाले ५७२ मत प्राप्त गरे।

प्रवासी नेपाली एकता मञ्चनिकट गुरुङको समूहले एक आईसीसी सदस्य, दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाधक्ष्य, सह–कोषाध्यक्षलगायत सबैजसो मुख्य पदमा विजयी हासिल गरेको छ।

कोइराला भने नेपाली जनसम्पर्क समितिनिकट मानिन्छन्।उनको समूहबाट एक आईसीसी सदस्य, एक सचिव र केही सदस्य पदका उम्मेदवारहरु मात्र विजयी भए। एनआरएनए स्पेनको चुनावलाई कांग्रेस भर्सेस कम्युनिस्टबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको थियो।

उम्मेदवारमध्ये नै सर्वाधिक ७७१ मत मत ल्याई आईसीसी सदस्य पदमा सुनील रानाभाट विजयी बनेका छन्। पाँचौं अधिवेशनमा पनि उनि सर्वाधिक मत ल्याई उपाध्यक्ष पदमा विजयी बनेका थिए। यस्तै, चिन्तामणि सापकोटाले ६४५ मतका साथ आईसीसी सदस्यमा चुनिएका छन् ।

एनआरएनए स्पेनको इतिहासमा पहिलोपटक २ हजार बढी पंजीकृत सदस्यता पुगेपछि दुई आईसीसी सदस्य पदका लागि मनोनयन दर्ता भएको थियो। रानाभाट र सापकोटासँगै पूर्व उपाध्यक्ष प्रकाश तिमिल्सिनासमेत चुनावी मैदानमा थिए। तर उनले ४५६ मत मात्र प्राप्त गरे।

त्यस्तै, दुई खुल्ला उपाध्यक्षमा उत्तर राईले र दिनेशकुमार गिरी, उपाध्यक्ष (क्षेत्रतर्फ) तुलसी बहादुर गुरुङ, महासचिवमा उमराज ढकाल (राज) विजयी बनेका छन्। दुई खुल्लातर्फको सचिवमा दुर्गाप्रसाद घिमिरे (लेकाली) र ध्रुव भट्ट, पाईसभास्कोतर्फको सचिव पदमा महानारायण चौधरी, कोषाध्यक्षमा गोविन्दप्रसाद तिमिल्सिना, सह–कोषाध्यक्षमा शान्ता राणा, महिला संयोजकमा मौसमी गुरुङ (समी) ले जित हासिल गरे।

यस्तै, कार्यसमितिको ६ जना सदस्य पदका लागि १० जना चुनावी मैदानमा थिए। आङ्लाक्पा शेर्पा,भूपेन्द्रकुमार श्रेष्ठ तारानाथ अधिकारी, शालिकराम डुम्रे, विदुर गौतम र सोमप्रसाद गुरुङ (युनिस) कार्यसमिति सदस्य पदमा विजयी बनेका छन्।
एनआरएनको स्पेनको ईतिहासमा नै सदस्य पदकालागि समेत पहिलोपटक निर्वाचन भएको हो।

क्षेत्रीय समिति म्याड्रिडमा २३४ ,पाइसभास्कोमा २१८ ,ग्रानक्यानेरियामा १०० र बार्सिलोनाबाट ९२० जनाले मतदान गरेका थिए । २ हजार ३९६ जना पंजीकृत सदस्यता मध्ये ६१ प्रतिशतले मात्र मतदानमा भाग लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment