Comments Add Comment

नेपाल र मलेसियाबीच रोजगारी खुला गर्ने सहमति, नयाँ कामदार जान बाटो खुल्यो

२६ भदौ, काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।

अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।

दुई देशबीच १२ कात्तिकमा भएको श्रम मसझदारी कार्यान्वयन गर्ने सहमति भएको वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू गर्न मलेसिया तयार भएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियामा नयाँ कामदार जान पाउनेछन् ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोड्ने गरी नयाँ सूचीकरण भएको हो ।

अब १२२ वटै संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरसम्म नयाँलाई स्वीकृति प्रदान गर्नुपर्ने छ ।  तत्कालका लागि भने ३६ पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ ।

मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाएका थिए ।

१२ कात्तिकमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी गर्‍यो । तर मलेसियाले पुराना भेन्डर मार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन चाह्यो भने नेपालले त्यसमा सहमति जनाएन ।

समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारी नखुल्दा रोजगार व्यवसायीहरु असन्तुष्ट थिए । म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment