Comments Add Comment

कुमारी हलमा क्यामेरासँग डराएकी सन्नी…

बिहिबार साँझ कुमारी हलमा चलचित्र ‘पासवर्ड’को प्रिमियर शो सम्पन्न भयो । प्रिमियरमा सहभागी हुन बलिउड नायिका सन्नी लियोनी बिहिबार नेपाल आएकी थिइन् । नेपाल आएकी सन्नीको भिडियो खिच्न केही मिडियाकर्मी र धेरै युटुबर त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

सन्नी २ बजे विमानस्थल आइपुग्ने जानकारी पाएकाले पनि २ बजे नै २ सय हारहारीमा क्यामेरा उनको तस्वीर कैद गर्न सोझिएका थिए । निर्धारित समय भन्दा सन्नी २ घन्टा ढिलो मात्र विमानस्थलमा ओर्लिएकी थिइन् । सुरुवातमा आमगन कक्षमै क्यामेरा प्रवेश गर्न दिएको प्रहरीले पछि हल्ला धेरै भएपछि सबैलाई बाहिर जान आग्रह गरेको थियो ।

सन्नी विमानस्थलबाट बाहिर निस्कदै गर्दा क्यामेरा बोकेका धेरैले संयमिमता गुमाएका थिए । सन्नीको गाडी अगाडि दौडिदै पुगेका उनीहरुले प्रहरीले बस्नका लागि आग्रह गरेको सिमा नाघे ।

सन्नी लियोनीको सुरक्षामा खटिएका एक दर्जन बडिगार्डलाई पनि उनलाई सुरक्षा दिन धौ–धौ नै भयो । क्यामेरासँगै मोबाइलबाट फोटो र भिडियो खिच्नेको भिड पनि धेरै देखियो ।

सुरुवातमा सन्नीले विमानस्थलमा प्रतिक्षा गरिरहेका पत्रकारसँग छोटो कुराकानी गर्ने तालिका मिलाइएतापनि ठूलो भिडका कारण त्यो संभव नै भएन । बरु, सन्नीलाई क्यामेरामा लामै समय कैद गर्न बसेका युटुबर र मिडियाकर्मी हिस्स भए ।

सन्नीले छोटो समय कारमा चढ्दै गर्दा हात हल्लाएर हायत होटलको बाटो तताएकी थिइन् । आयोजकले सन्नीको तस्वीर कैद गर्न कुमारी हलमा आउन विमानस्थलमै निमन्त्रणा गर्यो ।

कुमारीमा क्यामेरासँग डराइन् सन्नी

निर्धारित साढे ६ बजेको समय भन्दा करिव डेढ घण्टापछि मात्र सन्नी उच्च सुरक्षाका साथ कुमारी हल पुगेकी थिइन् । सन्नीलाई कुरेर केही युट्युबरहरु हलको बाहिर सडकमा नै उभिएका थिए । प्रहरीले बारम्बार तोकिएको घेराभित्र बस्न आग्रह गरेका थियो ।

सन्नीकै लागि भनेर आयोजकले लाखे नृत्यको व्यवस्था गरेको थियो । भव्य सेट, पञ्चकन्याहरुको स्वागतले सन्नीलाई प्रभावित बनाउने योजना आयोजकको थियो ।

तर, सन्नी न त राम्रोसँग रेड कार्पेटमा हिड्न पाइन्, न त उनलाई पञ्चकन्याले नै स्वागत गर्न सके । भारतमा फ्यानहरुको घेराबाट निस्कन मुश्किल भएको अनुभव संगालेकी सन्नीलाई कुमारी हलमा मिडियाकर्मी र युटुबरबाट बच्न नै मुश्किल देखियो ।

जब सन्नी गाडीबाट ओर्लिइन्, त्यहीबाट उनको अगाडी क्यामेराको लाम लाग्यो । उनीभन्दा अगाडि क्यामेरा बोकेकाहरु हिडे । कार्पेटको छेउमा राखेका फुलका गमलाहरु फुटे, फूलहरु कुच्चिए ।

सुरक्षागार्डको सुरक्षामा बल्लतल्ल स्टेजमा पुगेकी सन्नीको तस्वीर र भिडियो कैद गर्न खोज्दा कतिपय फोटोग्राफरुहरु फलामको डण्डीमा च्यापिए ।

स्टेजमा पुगेकी सन्नीले आफू डराएको अभिव्यक्ति दिइन् । उनले भनिन्–‘मलाई तपाईहरुसँग डर लागिरहेको छ ।’

सन्नीको यो भनाइले पनि माहोल कती आतंकित थियो भन्ने प्रष्ट हुन्छ । कार्यक्रम संचालिकाले माइकबाट बारम्बार संयमित हुन आग्रह गरिरहेकी थिइन् ।

तर, त्यो सुन्न कोही तयार थिएन । नेपाल आएकी पाहुनालाई यो व्यवहार नदेखाउन बारम्बार माइकबाट आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले सुनिरहेका थिएनन् । उनीहरु झन झन स्टेजको नजिक गइरहेका थिए ।

सन्नीलाई नेपालको विषयका बोल्न भनियो । नेपालको बारेमा उनले खुलेर प्रशंसा गरिन् । सन्नीलाई कैद गर्नका लागि एउटा सिमा तोकिएको थियो ।

तर, केही युटुबरले त्यो सिमा नै नाघे । केही युटुबर स्टेजसम्म नै पुगेपछि प्रहरीले लखेट्नुपरेको थियो । कार्यक्रम संचालिकाले बारम्बार ‘जंगली पारा नदेखाउन’ आग्रह गर्नु र सन्नीले ‘डर लागिरहेको छ’ भनेर अभिव्यक्ति दिनु साच्चै दुखलाग्दो कुरा थियो ।

सन्नी आएको थाहा पाएपछि कुमारी हल बाहिरको सडकमा हिडिरहेकाहरु पनि मोबाइल बोकेर हल छिरेका थिए ।

किन भयो यस्तो ?

बलिउड नायिका आउँदा देखिएको यो माहोल हुनुको पछाडि आयोजकको व्यवस्थापन सबैभन्दा कमजोरी हो । कुमारी हलको सानो स्पेशमा २ सय भन्दा बढी क्यामेरा प्रवेश गर्ने अनुमती दिएपछि भद्रगोल हुनु स्वभाविक हो । कतिपय क्यामेरा बोेकेकाहरुले आफू कति सभ्य हुनुपर्छ भनेर विर्सनु अर्को दुखदायी पक्ष हो ।

आयोजकले सन्नीको सुरक्षाका लागि कुनै कसर बाँकी राखेन । तर, विमानस्थलमै देखिएको भद्रगोल माहोल कुमारीमा अझै बढ्ने निश्चित थियो । आयोजकले सन्नीको सुरक्षामा ध्यान दियो, मिडिया व्यवस्थापनमा कुनै ध्यान नै दिएन ।

आयोजकले सुरक्षाकर्मी र सुरक्षागार्डको बाक्लो उपस्थिती हुने कार्यक्रममा पास सिस्टम मात्र गरेर हल परिसरमा प्रवेशको वातावरण मिलाइदिएको भए यति अव्यवस्थित र आतंकित माहोल हुने थिएन ।

तर, क्यामेरा बोकेपछि सबैभन्दा शक्तिशाली मै हुँ भन्ने सोच र सन्नीलाई नेपाल ल्याउन सकेकोमा गमक्क परेको आयोजक दुबैका कारण सन्नी लियोनीका लागि पहिलो नेपाली चलचित्रको कार्यक्रम पीडादायी र डरलाग्दो बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment