 
															२८ भदौ, गोरखा । ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महिनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।
दरबारमा पुरानै संरचनाअनुसार विधिपूर्वक परम्परागत शैलीको मूलढोका राखिएको छ । सूचना अधिकारी कट्टेलले भने, ‘यसअघि भुइँतलामा रहने थामहरु राख्ने काम सकियो, परम्परागत इँटाको गारो लगाउने काम जारी छ ।’
लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । आउँदो दशैँअघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम पूरा गरिने दरबार पुनःनिर्माणको जिम्मा पाएको पचली सिभाको जेभी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि उज्वल श्रेष्ठले बताए । ‘भुइँतलालाई आवश्यक थप पाँच ढोका र आँखीझ्याल जडानको काम भइरहेको छ, काठको काम सकिएपछि गारोको काम सक्न धेरै समय लाग्दैन’, उनले भने ।
परम्परागत गारो लगाउँदा चुनासुर्कीको प्रयोग गरिएकाले एकैदिन धेरै गारो लगाउन मिल्दैन । त्यसलाई सुक्न दिनुपर्ने भएकाले स्वभाविकरुपमा ढिलाइ हुन्छ । पुनःनिर्माणका लागि तोकिएको समयमा नभए पनि अहिलेको गतिअनुसार निर्माण अघि बढाउन सके र थप केही समस्या नभए अबको छ महिनामा निर्माण सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रतिनिधिको दाबी छ ।
भनेको आकारको काठ नपाइनु तथा भ्यालढोकामा बुट्टा बनाउन अरु कामभन्दा गाह्रो हुने भएकाले तोकिएको समयमा निर्माण सम्पन्न गर्न अप्ठेरो परेको हो । ‘पुरानो शैलीमा परिवर्तन हुन दिनु भएन, त्यही शैली र बुट्टा निर्माण गर्दा राम्रोसँग हेरेर गर्नुपर्यो,’ श्रेष्ठले भने, ‘काम गर्ने सिकर्मीलाई सजिलो छैन ।’
काठमाडौँबाट अनुभवी सिकर्मी ल्याएर बुट्टेदार दरबारको भ्यालढोका निर्माण भइरहेको छ । गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको दरबारको पुनःनिर्माण पुरानै संरचनामा गरिएको हो । राष्ट्रिय पुरातत्व विभागसँग पुनःनिर्माणका लागि सम्झौता भए पनि पटक–पटक दरबारको जग निर्माणका लागि डिजाइनमा परिवर्तन भएकाले आफूहरुलाई काममा तीव्रता दिन गाह्रो भएको श्रेष्ठले दाबी गरे।
कम्पनीले सम्झौता भएको दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने गरी पुरातत्व विभागसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले करिब १७ महिनाभित्र मन्दिर पुनःनिर्माण सक्नुपर्ने गरी सम्झौता भएको हो । वि.सं. २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएर २०७५ को वैशाख ७ गतेदेखि विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनःनिर्माण शुरु भएको थियो ।
तत्कालीन राजा राम शाहको पालामा वि.सं. १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार चार करोड ३७ लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको हो ।
नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर छ । ऐतिहासिक गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिर छ । भूकम्पले भत्काएको गोरखनाथको गुफा यसअघि निर्माण भइसकेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी कट्टेलले जानकारी दिए ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4