Comments Add Comment

प्रधानमन्त्रीलाई भेटेपछि श्वेताले भनिन्ः मेरो जाँगर थपियो

१ असोज, काठमाडौं । अभिनेत्री श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो पहलमा निर्माणधिन माझी बस्तीको प्रगतिबारे जानकारी गराएकी छन् । भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए ।

श्वेताले भेटघाटको तस्वीर फेसबुकमा हाल्दै प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ । प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’

श्वेताले प्रधानमन्त्री ओलीसँग आधा घन्टा कुराकानी गरेकी थिइन् । उनले निर्माणाधिन माझीवस्तीमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्रीबाट पाएको बताइन् ।

‘माझीबस्तीबारे प्रधानमन्त्रीलाई धेरै कुरा पहिल्यै थाहा रहेछ, उहाँले मलाई बधाई र धन्यवाद दिनुभयो,’ श्वेताले सुनाइन् ।

माझी वस्तीमा अहिलेसम्म सरकारबाट राम्रो सहयोग र समन्वय पाइरहेको भन्दै उनले पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् ।

माझी बस्तीलाई चार करोड अपुग

श्वेताले स्थापना गरेको श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती अन्तिम चरणमा छ । उक्त बस्तीमा ५३ वटा घर रहेका छन् ।

श्वेताका अनुसार दशैंदेखि नै माझीहरुलाई घरमा प्रवेश गराइने छ । तर, बस्तीको औपचारिक हस्तान्तरण भने पुस–माघतिर गरिने उनले बताइन् ।

‘घरहरु बस्नयोग्य भइसकेका छन्, तर अझै पनि बस्तिको धेरै काम बाँकी नै छ, माघसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौं,’ उनले भनिन् ।

तर, बस्ती फिनिसिङ गर्न श्वेतालाई अझै साढे चार करोड अपुग छ । घरहरु बने पनि बाटो, ढल, पानी, बिजुली लगायतको काम बाँकी छन् । अपुग रकम जुटाउन श्वेताले आर्थिक संकलनको प्रयत्न गरिरहेकी छन् । साथै बस्ती निर्माण गर्दा फाउन्डेसनलाई करिब एक करोड ऋण पनि लागेको श्वेताले बताइन् ।

‘सहयोगको आश्वासनहरु पाइरहेकी छु, म पूर्ण विश्वस्त छु चाँडोभन्दा चाँडो आर्थिक स्रोत जुटाएर बस्ती निर्माण सम्पन्न गर्नेछु,’ उनले भनिन् । उक्त बस्तीलाई होमस्टेका रुपमा विकास गर्न चाहेको श्वेताले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment