Comments Add Comment

साउनमा मुद्रास्फिति बढ्यो, सबैभन्दा धेरै असर काठमाडौंमा

७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै मुद्रास्फीति बढेको देखाएको हो । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मुद्रास्फीति उच्च हुनुको अर्थ वस्तु तथा सेवाको मूल्य बढ्नु हो । साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यत तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौंमा भएको छ । आर्थिक वर्षको पहिलो महिनामा काठमाडौं उपत्यकाको मुद्रास्फीति ८.६३ प्रतिशत रह्यो । यो अन्य क्षेत्रको भन्दा धेरै हो ।

काठमाडौंपछि तराई क्षेत्रमा महंगी बढेको छ । तराईमा ६.४६ प्रतिशत मुद्रास्फीति देखिएको छ भने पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

२०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत मुद्रास्फीति रहेको थियो । छिमेकी मुलुक भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि बढेको छ । राष्ट्र बैंकका अनुसार २०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो ।

साउन महिनामा प्राथमिक वस्तु, इन्धन तथा उर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ । यस महिनामा प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।

वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.८३ प्रतिशत, ५.११ प्रतिशत र २.२० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment