Comments Add Comment

हाइकु विश्व सम्मेलनको सम्झना

भूगोलका प्राध्यापक एवं हाइकु केन्द्र नेपालका अध्यक्ष रामकुमार पाँडेलाई टोक्योस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न जाँदा म निकै हतारमा थिएँ । योबेला म फगत चेलोका रूपमा मात्र पाँडे सरलाई स्वागत गर्न पुगेको थिइनँ, वर्ल्ड हाइकु एसोसिएसनको कार्यकारीको हैसियतमा केही महत्त्वपूर्ण जिम्मेवारी मेरो काँधमा थियो ।

टोक्योमा आयोजना हुन लागेको दसौँ वर्ल्ड हाइकु कन्फरेन्सका लागि १७ देशका प्रतिनिधिहरू टोक्यो ओर्लंदै थिएँ । उनीहरूमध्ये थप केहीलाई सोही दिनको बेलुका र भोलिपल्ट सबेरै स्वागत गर्ने र व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारीमा थिएँ ।

टोक्योमा १३ देखि १५ सेप्टेम्बरसम्म कार्यक्रम हुँदै थियो । बेलायतबाट कृष्ण बजगाईं पनि यही कार्यक्रमका लागि आउने पक्का भइसकेको थियो । वर्ल्ड हाइकु एसोसिएसनका अध्यक्ष बान्या नाचुइसीले मलाई पाहुनालाई स्वागत गर्नेदेखि अन्तर्राष्ट्रिय समन्वयको जिम्मा दिनुभएको थियो ।

हामी नेपाल सरकारले तोकेका पर्यटन दूत होइनौं, तर नेपाली भएका नाताले सरकारले गरेका काममा सहयोगी भूमिका निभाउने यो मौका थियो । पर्यटन प्रवर्द्धन गर्ने यो ठूलो प्लेटर्फम थियो । हाइकुको माध्यमबाट नेपालमा पर्यटक बढाउन सकिन्छ भन्ने मेरो सिद्धान्त र अभियानबाट पाँडे सर परिचित हुनुहुन्छ ।

‘हजुरलाई होटेलमा छाडेर म फर्किन्छु है सर, अन्यथा नलिनुहोला ।’ टर्मिनलको पार्किङस्थलमा गाडी अन गर्ने बित्तिकै मैले पाँडे सरसँग क्षमा माग्दै भनें ।

सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा आयोजना गराउनका निम्ति मैले सरसँग सल्लाह गरेर नै केही महिना अगाडिदेखि पहल गरिरहेको थिएँ । वर्ल्ड हाइकुको महत्त्वपूर्ण एजेन्डामा यसले प्रवेश पाइसकेको कुरा सरलाई अवगत नै थियो । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका ती शिखरपुरुषमध्ये एकमात्र जिवीत उहाँ नेपालले पाउन लागेको यस्तो मौका नगुमोस् भन्ने कुरामा सचेत हुनुहुन्थ्यो ।

‘संसारमा आएपछि हजार सपना देखिन्छन्, त्यसमध्ये एउटा सपना राम्रोसँग पूरा भयो भने जीवनलाई सफल मान्नुपर्छ ।’ केही महिनाअघि अनेसासको छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका निम्ति बेलायत जाँदा जहाजमा हेरिरहेको एउटा चलचित्रको नायकले बोलेको यो संवादले मलाई तान्यो ।

हो नि, मानिसको जीवनमा सबै सपना पूरा हुन्छन् भन्ने छैन । खासमा समयसँगै सपनाहरू पनि परिवर्तन हुँदै जाने भएकाले कति सपनालाई त मानिस आफैँले बिर्सन्छ । जुन सपनालाई हामीले डोर्‍याउँछौँ, त्यो सपनाले पनि हामीलाई अघि बढ्न हौसला दिइरहन्छ ।

हो, यस्तै सपना थियो, विश्वचर्चित हाइजिनसँगको भेटघाट । हाइकुको संसारमा प्रवेश गरेपछि यसका दिग्गज व्यक्तित्वहरूलाई भेट्नखोज्नु मेरो स्वाभाविक सपना थियो । हाइकुको त्यान्द्रो समातेरै म जापानसम्म आइपुगेको थिएँ । सपनाले मानिसलाई कसरी डोर्‍याउँछ भन्ने कुरा मेरो जापान आवागमन नै थियो ।

१५ वर्षसम्म सपनालाई पछ्याइरहँदा मलाई जापानस्थित पुराना हाइकु कविहरूको सङ्ग्रहालय, बासोको यात्रामार्ग मात्र होइन, टोक्योमा सञ्चालित केही हाइकु स्कुलहरूमा पुर्‍यायो । ती स्कुलहरूमार्फत् वर्ल्ड हाइकु एसोसिएसनका अध्यक्ष बान्या नाचुइसीको सम्पर्कमा पुगेँ । र, एक वर्षअघि नाचुइसी समूहले मलाई वर्ल्ड हाइकु एसोसिएसनको कार्यकारी सदस्य नियुक्त गर्‍यो ।

केही महिनाअगाडि टोक्योमै अनेसास जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना भएको थियो । महोत्सवमा नाचुइसी सेन्सेईसहित झन्डै एक दर्जन जापानी कविहरूले सहभागिता जनाएका थिए । यसपटक जापानमा विश्व हाइकु सम्मेलन हुने तय दुई वर्ष अगाडि इटलीबाटै गरिएको थियो । गत सालको आरम्भबाटै दसौँ सम्मेलनको तयारी घनिभूत हुँदै थियो ।

भोलिपल्ट सबेरै कृष्ण बजगाईंजीलाई रिसिभ गरेर सीधै पाँडे सर बसेको होटेल गएँ । केहीबेर विश्राम र केही कागजी तयारी पश्चात् हामी टोक्योतर्फ लम्कियौँ । पहिलो दिन १३ तारिखको साँझ सबै पाहुनालाई डिनर रिसेप्सन राखिएको थियो ।

योकोहामाबाट मैले उहाँहरूलाई लिएर ओच्यानोमिजुस्थित होटेल जुराकु पुग्दा केही सहभागीहरू लबीमा बसेर गफ गर्दै थिए । मेइजी युनिभर्सिटीका प्रोफेसरसमेत रहेका अध्यक्ष बान्या सेन्सेई निकै दौडधुपमा देखिन्थे । हङ्गेरी, फ्रान्स, इटली, इराक, अमेरिका, डेनमार्क, मोरक्को लगायत विभिन्न मुलुकबाट आएका कविहरूसँग केहीबेर फोटो सेसन चल्यो र सबै जम्मा भएर डिनरस्थलतर्फ लाग्यौँ ।

नेपाल सरकारले साहित्य पनि पर्यटन उद्योगको एउटा कडी हुनसक्छ भन्ने सायद महसुस गरेको छैन । यो  सपना  त्यो बेला मात्र पूरा हुन्छ, जुन दिन हामीले विश्व हाइकु सम्मेलनलाई जापानी लेखक-कविको मतिष्कमा प्रभाव पार्ने गरी काम गर्छौं

पैदल १५ मिनेटको दूरीमा पुग्नुपर्ने थियो । प्रमुख अतिथि थिए जापानका लागि इराकी राजदूत महामहिम खलिल अब्दुल र पूर्वयोजनाअनुसार नै राजदूतपछिको बरियतामा पाँडे सरलाई पाउँदा मन गर्वले ढक्क फुल्यो । छोटो औपचारिक कार्यक्रमको आयोजना गरेर डिनर-सत्र समापन भयो ।

सम्मेलनको उद्घाटन-सत्र भोलिपल्ट अर्थात् १४ तारिख थियो । मूल कार्यक्रमका लागि जिम्बोच्यो स्टेसन नजिक गाकुसी खाइखान हलमा पुग्नुअगाडि नै सबैलाई विस्तृत कार्यक्रम तालिका थमाइएको थियो । उपहारस्वरूप लोगो अंकित झोला, ब्याच, पम्प्लेट्स र केही प्रकाशन सामग्रीहरू सबैको हातहातमा झल्किन्थ्यो ।  तोकिएकै समय ठीक १०  बजे सबै सहभागीहरू कार्यक्रमस्थलमा आइसकेका थिए ।

कार्यक्रम औपचारिक सुरु हुनु अगाडि नै संस्थाको वार्षिक रिपोर्ट आय-व्यय लगायतका विषय टुङ्गिएको थियो । अध्यक्ष बान्या सेन्सेइको विशेष मन्तव्यपछि सम्मेलनको अरू कार्यक्रम अगाडि बढ्यो । सम्मेलनमा सहभागी हुने सबैको ८/८ ओटा हाइकु अङ्ग्रेजी र मातृभाषामा समेटेर प्रकाशित गरिएको किताब ‘एन्थोलोजी २०१९’ को विमोचन गरियो ।

पहिलो दिनमा हासेगावा र चिइकु बोन गरी २ जनाले सहजकर्ताको भूमिका निभाएका थिए ।  लञ्च ब्रेकलगत्तै युरोपियन, अमेरिकन, चिनियाँ र मङ्गोलियन सहभागीद्वारा आ-आफ्नो मुलुकको हाइकुको अवस्थाबारे मन्तव्य राखेपछि कार्यक्रम नेपाल सेसनतर्फ प्रवेश गर्‍यो ।

नेपाल सेसन सामान्य औपचारिकतामा मात्रै सीमित रहेन । अन्य १६ देशका सहभागीको ध्यान पूर्णरूपमा आकर्षित गर्न सफल भयो । सेसनको सहजकर्ताका रूपमा आलोक चालिसेले निकै उत्कृष्ट भूमिका निर्वाह गरे ।

नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडे सरको सभापतित्वमा सम्पन्न नेपाल सेसनको प्रमुख अतिथिमा वर्ल्ड हाइकुका अध्यक्ष बान्या नाचुइसी रहनुभएको थियो । नेपाल हाइकु केन्द्रको अन्तर्राष्ट्रिय संयोजकको नाताले मैले नेपाली हाइकु गतिविधिबारे प्रस्ट पार्दै गर्दा कृष्ण बजगाईंले युवापुस्तामा हाइकुले ल्याएको परिवर्तनको सन्दर्भ उठान गर्नुभयो । हाइकु कृतिको विमोचन, हाइगा प्रदर्शनसहित हाइकु वाचन पनि भयो नेपाल सेसनमा । पाँडे सरले मन्तव्यका साथमा सेसनको अन्त्य गर्दै नाचुइसी सेन्सेईलाई खादा लगाएर सम्मान गर्नुभयो ।

सम्मेलनको अन्तिम दिन अझै विशेष रहृयो ।

सबै विदेशी सहभागीहरूले जापानी शैलीमा तोकिएकै समयलाई पछ्याइरहेका थियौँ । सहभागीहरू सबैको ध्यान सम्मेलनमै केन्दि्रत थियो । हाइकु लेखन कार्यशाला, अनुवाद कार्यशाला मात्रै होइन, मोडर्न हाइकु लेखनबारे बहस भयो । बीचबीचमा हाइकु वाचन पनि भयो ।

अर्को रोमाञ्चक त बासो हाइकु कार्डले गरायो । हाइकु सम्राट माचुओ बासोको हाइकुलाई तासजस्तै कार्डमा लेखेर समूह विभाजन गरी मिलाउने प्रतिस्पर्धामा युरोपियन टिम प्रथम भयो भने नेपाली टिम दोस्रो भएको थियो । प्राचीन शैलीमा आ-आफ्नो भाषामा सहभागीहरूद्वारा हाइकु क्यालिग्राफी गर्ने कार्यशालाले पनि सुनमा सुगन्ध थपेको थियो । दोस्रो दिनमा नाकायामा र सायुमी सान सहजकर्ताको भूमिकामा थिए ।

सम्मेलनको अन्तिम सत्रमा आगामी सम्मेलन २०२० को सेप्टेम्बर महिनामा नेपालमा गर्ने निर्णय भयो । हलले थपडी बजाएर पारित गर्‍यो । वर्ल्ड हाइकुका अध्यक्ष बान्या नाचुइसीले नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडे सरलाई सम्मेलनको झण्डा हस्तान्तरण गर्नुभयो र सम्मेलन समापन भयो ।

जापानमा हाइकु साहित्यको विशिष्ट स्थान रहेको छ । उनीहरू यसलाई आफ्नो देश संस्कृति र राष्ट्रियतासँग गाँसेर हेर्ने गर्दछन् । यो सम्मेलनमा सहभागी भएपश्चात् यो बारे झनै छर्लङ्ग हुने मौका मिल्यो । कुनै सहभागीले राम्रो हाइकु वाचन गर्‍यो भने शीर निहुराएर सम्मान प्रकट गर्ने गर्दथे जापानी कविहरू ।

सन् २०२० लाई नेपालले भ्रमण वर्षको रूपमा मनाउँदै छ । सोही सन्दर्भ पारेर विश्वभरिका हाइकु कविहरूलाई नेपाल देखाउने हाम्रो सपना साकार बन्नेतर्फ अग्रसर भएको छ । विगत केही वर्षदेखि हाइकुको माध्यमबाट पर्यटक भित्र्याउन सकिने कुरालाई अभियानकै रूपमा हामीले उठान गर्दै आइरहेका छौं ।

नेपाल सरकारले साहित्य पनि पर्यटन उद्योगको एउटा कडी हुनसक्छ भन्ने सायद महसुस गरेको छैन । यो  सपना  त्यो बेला मात्र पूरा हुन्छ, जुन दिन हामीले विश्व हाइकु सम्मेलनलाई जापानी लेखक-कविको मतिष्कमा प्रभाव पार्ने गरी काम गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment