Comments Add Comment

नेकपा कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी- गगन थापा

'कम्युनिष्ट सिंह बनेर आए कांग्रेस शिकारी बन्छ'

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी -नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले भने, ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दैछन् । जुन कुरा चीनले आफूले दिन्छु भन्दैन, त्यो पनि हामीलाई बेच्छु भन्दैछ । नेपाल कम्युनिष्ट पार्टी भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो ।’

नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन चाहेको आरोप पनि उनले लगाए । कम्बोडियाको राजनीतिक अवस्थासँग हालको नेपालको अवस्थालाई तुलना गर्दै थापाले भने, ‘त्यहाँ अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । त्यहाँ प्रेस छ, तर सरकारले चाहेको भन्दा फरक कुरा लेख्दैन । नेपाललाई त्यही बनाउन खोजिँदै छ ।’

‘नेकपा सिंह बने कांग्रेस शिकारी’

नेकपा सरकारले आधा दर्जन कानुन ल्याएर आम नेपालीको जनजीवन प्रभावित पार्न खोजेको र निरंकुश लाद्न खोजेको उनले आरोप लगाए । सरकारको निरंकुश शैलीविरुद्ध लड्ने तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

‘राजनीतिक अधिकार, सम्पत्ति राख्न पाउने अधिकार लगायतका यति धेरै विषयहरु छन् जसलाई एकपछि अर्को कानुन बनाएर सरकारले यसलाई भत्काउन खोज्दै छ । यसकाविरुद्ध लड्ने कुराका निम्ति हामीले तयारी गर्नुपर्छ,’ थापाले भने ।

उनले त्यस्ता कानुन कांग्रेसले रोक्नु पर्ने बताउँदै सदन र सडकबाट संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यो कानुनलाई रोक्ने कांग्रेसले हो । तर, संसदभित्र रहेका सीमित सांसदहरुले त्यसलाई रोक्न सकिन्न,’ कांग्रेस सांसदसमेत रहेका थापाले भने, ‘संसदीय व्यवस्थामा जहिले पनि सरकार बहुमतमा रहन्छ । त्यो त्योबेलामा मात्र रोकिन्छ, जतिखेर संसदको ताकतसँग सडकको ताकत एकाकार हुन्छ ।’

उनले नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा अब कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए । उनले भने, ‘सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए कांग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment