Comments Add Comment

चित्लाङ–थानकोट सडक भोलिबाट सञ्चालनमा आउने

१२ असोज, वीरगञ्ज । चित्लाङ–थानकोट सडक खण्डको सवारी आवागमन भोलिबाट सञ्चालनमा आउने भएको छ ।

पीएस/किराँतेश्वर जेभी कन्स्ट्रक्सनले यो सडक खण्ड निर्माणको जिम्मा लिए पनि लामो समयदेखि अलपत्र रहँदै आएको थियो । गत जेठमा स्थानीयले सडक निर्माणको काम अवरुद्ध पारेर विरोध जनाएपछि सडक आयोजना कार्यालय, ठेकेदार पक्ष र स्थानीयबीच मंसिरभित्र निर्माण सम्पन्न गर्ने र दशैंमा सडक सञ्चालन गर्ने सहमति भएको थियो । यही पूर्वसहमतिअनुसार, निर्माण भइरहेको सडक दशैंका लागि सोमबारबाट सञ्चालनमा आउने भएको छ ।

थाहा नगरपालिका–९ का वडाध्यक्ष परशुराम श्रेष्ठले सडक निर्माणको कामले पछिल्लो समय गति लिइरहेको र दशैंका लागि सडक सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

‘सम्झौता अनुसार तीनपटक बाटो अनुगमन गर्‍यौं, त्यसपछि बाटो निर्माणले गति लिएको छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘सडकमा विगतभन्दा निकै स्तरीय काम भएको छ ।’

चित्लाङ–थानकोट सडकलाई थाहानगरको मुख्य विकासको मार्ग हो । पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङलाई थानकोटसँग जोड्ने सडकखण्ड निर्माण सम्पन्न नहुँदा चित्लाङसँगै यस आसपासका बासिन्दाले असुविधा झेल्दै आइरहेका छन् ।

सडक निर्माण पछि चित्लाङ, बिसिंखेल, टिस्टुङ, बज्रबाराहीको मात्रै नभएर पालुङमा उत्पादित तरकारी समेत उपत्यकामा पुर्‍याउन र त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment