Comments Add Comment

ओमानमा नेपालको पहिलो हारः आयरल्यान्डसँग १३ रनले पराजित

२२ असोज, काठमाडौं । ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । पहिलो दुई म्याचमा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्था थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपाली समर्थकहरुले जितको आशा गर्न थालेका थिए । तर, लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । तर, अर्को इन्डबाट इशान पाण्डेले रन गति बढाउन नसक्दा पारसमाथि दवाव थपियो । उनलाई मार्क अडायरले क्याचआउट गराए ।

आजको खेलमा कमब्याक गरेका अर्का ओपनर इशान पाण्डेले भने रन बनाउन निकै संघर्ष गरे । ३० बलमा २२ रन बनाएर आउट भएका उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो । दुवैले सुझवुझपूर्ण ब्याटिङ गरिरहँदा १४ औं ओभरमा निर्णायक मोड आयो । सो ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालले लगातार विकेट गुमायो । त्यसपछि धराशयी बनेको नेपाल फेरि बौरिन सकेन ।

आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विनोद भण्डारी २ बलमा १ रन हानेर रन आउट भए । सन्दिप जोराले पनि २ रन मात्र जोड्न सके भने सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए ।

नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसी क्रिजमा थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर करणले झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा उनी लङ अनमा क्याच हुन पुगे । उनको विकेटसँगै नेपालको आशा सकियो ।

बलिङमा उत्कृष्ट कमब्याक

आजको म्याचमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो । नेपालले सुरुमै दुवै इन्डमा स्पिनर खेलाएर फरक प्रयोग ग¥यो । यो निर्णय सही सावित पनि भयो, जब दोस्रो ओभरमा सन्दिप लामिछानेले विष्फोटक ब्याट्सम्यान केभिन ओब्रायनलाई पेभिलियनको बाटो देखाए ।

७ रनमै विकेट गुमाएर झट्का खाएको आयरल्यान्डलाई त्यसपछि भने बलरले दवावमा राख्न सकेनन् । पहिलो ओभर फ्याक्दा दुई रन मात्र खर्चेका स्पिनर ललित राजवंशीले तेस्रो ओभरमा दुई छक्कासहित १६ रन खाए ।

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले एन्डी बलबिर्नीसँग निकै महत्वपूर्ण साझेदारी गरे । फलस्वरुप ११ ओभरमा आयरल्यान्डले एक विकेट मात्र गुमाएर ९४ रन बनाइसकेको थियो । २ सय रनको नजिक पुग्नसक्ने सम्भावना देखिएको अवस्थामा १२ ओभरले खेलको दिशा बदल्यो ।

राजवंशीले फ्याकेको १२ औं ओभरमा आयरल्यान्डले लगातार बलमा दुई विकेट गुमायो । तेस्रो बलमा राजवंशीले बलबिर्नीलाई विनोद भण्डारीको हातबाट स्टम्पिङ गराए । त्यसपछि चौंथो बलमा आयरल्यान्डका टेक्टर रनआउट भए ।

त्यसपछिका ओभरहरुमा नेपाली बलरले निकै कसिलो बलिङ गरे । १४.५ ओभरमा अविनाश बोहराले गेरी विल्सनको विकेट लिए । १५ औं ओभरमा पनि आयरल्यान्डले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा मार्क अडायर रन आउट भए भने लगत्तको बलमा करण केसीले पाउल स्टर्लिङको निर्णायक विकेट लिए । त्यतिबेलासम्म स्टर्लिङले ४७ बलमा ५९ रनको महत्वपूर्ण इनिङ खेलिसकेका थिए । उनको इनिङमा २ छक्का र ६ चौका सामेल थिए ।

सन्दिपले आफ्नो अन्तिम ओभरमा गारेथ डेलानीको विकेट लिँदै आफ्नो विकेट संख्या बढाए । १८ औंभरमा फेरि अविनाशले पनि आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए ।

नेपालले आयरल्यान्डलाई १ सय ३५ रनभित्रै समेट्ने सम्भावना देखिँदा करण केसीको अन्तिम ओभर भने महंगो बन्न पुग्यो । उनले दुई छक्का सहित १८ रन खर्चिन पुगे । यही ओभर अन्ततः दुवै टिमका लागि महत्वपूर्ण सावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment