
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् ।
सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।
सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बतायो । सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।
सी काठमाडौं उत्रिनुअघिदेखि नै नेपाली सेनाले हवाई गस्ती गर्दै आएको छ । सी विमानस्थलबाट होटल सोल्टी प्रस्थान गर्दा पनि सेनाले ‘एरियल रेकी’ अर्थात् हवाई स्कर्टिङ गरेेेेेको छ । सवारी सुरु हुनु अघिदेखि नै सडकमा अन्य गाडी र पैदलयात्रीको आवत–जावत बन्द गरिएको थियोे ।
महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले विशिष्ट पाहुनाको भ्रमणलाई लक्षित गरी सुरक्षा प्रवन्धमा कुनै कसर बाँकी नराखिएको बताए ।
सी काठमाडौं आउनुअघि नै चिनियाँ जनमुक्ति सेनाको कमाण्डो टोली नेपाल आएर सुक्ष्म निगरानी गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेना सादा पोशाकमा परिचालित भएको गृह मन्त्रालय स्रोतले बतायो ।
सी दुईदिने औपचारिक भ्रमणका लागि भारतको चेन्नाई हुँदै नेपाल भ्रमणमा आएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरेेेेकी छिन् । चिनियाँ राष्ट्रपति सी काठमाडौं अवतरण गर्दा विमानस्थलसमेत करिब दुई घण्टा बन्द गरिएको थियोे । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4