Comments Add Comment

सडक फराकिलो पार्न दबाव दिन वीरगञ्जमा हस्ताक्षर अभियान

२६ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको सडक फराकिलो पार्न दबाव दिन केही युवाले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

मुख्य सडकको दायाबाया २५/२५ मिटर सडक क्षेत्र कायम गर्न माग गर्दै वीरगञ्ज विकास युवा संघर्ष समितिले आइतबारदेखि हस्ताक्षर अभियान शुरु गरेको हो । वीरगञ्जको घण्टाघरमा तीन दिनसम्म हस्ताक्षर संकलन गर्ने र भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी उनीहरुको छ ।

संघर्ष समितिका सदस्य अकलेश साहले सडक विस्तार रोक्ने वा कम विस्तार गर्ने भन्ने चलखेल भइरहेकोले त्यसको विरोधमा हस्ताक्षर संकलन गरिएको बताए ।

‘कोही सडक विस्तार रोक्न अदालतमा स्टे अर्डरका लागि गएका छन्, कोही मन्त्री भेटन गएका छन्’ उनले भने ‘सडक विस्तारविरुद्ध भइरहेको चलखेलको विरोधमा हामीले हस्ताक्षर अभियान चलाएका हौं । सर्वसाधारणका राम्रो साथ मिलेको छ ।’

संघर्ष समितिले यसअघि वीरगञ्जमा विरोध प्रदर्शन र प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

वीरगञ्जको मुख्य सडक फराकिलो पार्ने चर्चा लामो समयदेखि चलेको भए पनि त्यसले साकार रुप पाउन सकेको छैन । त्रिभुवन राजपथ अन्र्तगत पर्ने मुख्य सडक फराकिलो बनाउँदा भत्किने संरचनाका धनीको दबाबले अहिलेसम्म काम हुन नसकेको हो ।

पछिल्लो पटक नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गण्डक–घण्टाघर–रक्सौल सडकखण्डमा घर टहरा हटाउन छठसम्मको समय दिएको छ ।

वीरगञ्ज महानगरपालिका र स्थानीय वासिन्दाको एक पक्षले सडकको दाया बाया १५÷१५ मिटर मात्रै फराकिलो पार्नुपर्ने धारणा राखेका छन् एक पक्षले मुआब्जा दिएर सडक विस्तार गर्नुपर्ने धारणा राखेको छ ।

मुख्य सडकमा संरचना भएका घरधनी, वीरगञ्जका उद्योगी व्यापारी र राजनीतिक दलको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई दशैं अघि नै भेटसमेत गरेका छन् ।

जीतपुर, परवानीपुर क्षेत्रको सडक २५/२५ मिटर नै चौडा भइसक्दा वीरगञ्जको सडक विस्तार अन्यौलमा छ । साँघुरो भएका कारण मुख्य सडकमा सवारी जाम हुँदा आवात जावतमा सास्ती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment