Comments Add Comment

हत्यापछि ससुरालीमा खबर– छोरी लिन आउनु !

दहेजले खोस्यो कवाडी संकलनसँगै बुनेको सपना

२८ असोज, विराटनगर । विराटनगर–११ पिचराका मनिकचन्द सहनीको परिवार दसैंको रमझमपछि दैनिकीमा फर्कने सुरसारमा थियो । मनिक मजदुरी गर्थे, श्रीमती आनन्दीदेवी कवाडीको सामान संकलन गर्थिन् । परिवारको गर्जो जसोतसो मजदुरीबाट चलेकै थियो । तर दसैं सकिन नपाउँदै उनको परिवारमा बज्रपात पर्यो । दुई सन्तान मध्ये छोरीको विवाह गरिदिएको ८ महिना बित्न नपाउँदै हत्या भयो ।

गत फागुन तेस्रो साता सहनी परिवारले २२ वर्षीया छोरी रञ्जनाको भारत अररिया पिपराका भीम बहरदारसँग विवाह गरिदिएका थिए । तर दहेज कम भएको भन्दै तीनै ज्वाईले छोरीको हत्या गरी शव खोलामा फालिदिए ।

सहनी परिवारले विवाह अघि र पछि गरी ऋण खोजेर २ लाख रुपैयाँ दहेज(दाइजो) दिएको थियो । तर ज्वाईलाई सो रकमले पुगेन । सैलुन खोल्न भन्दै थप २ लाख ल्याउन रञ्जनालाई दबाव दिइरहे ।

ऋण खोजेर आफ्नो विवाह गरेका कारण उनले दबाव टार्दै गइन् । दहेजकै निहुँमा परिवारबाट पटक पटक यातना भोगिन् । ‘दाइजो मागे जति दिएकै थियो, तर आज यस्तो भयो,’  नातिनीको किरिया गरिरहेका उमालालले भने, ‘ हत्या गरी हातखुट्टा बाधेर खोलामा फालिदिए ।’

कवाडीको सामान संकलन गर्ने आनन्दीदेवीका अनुसार विवाह पछि ज्वाईले मोटरसाइकल मागे । ऋण खोजेर सहनी परिवारले ९० हजार भारु दिए । त्यस बाहेक ऋण भन्दै पटक-पटक ५–१० हजार मागीरहे । तर सैलुन खोल्न भन्दै मागेको २ लाख रुपैयाँ कवाडीको काम गर्ने आमा र दैनिक ज्याला मजदुरी गर्ने बुबाले दिन सकेनन् ।

अन्तत २ लाख दिन नसक्दा सहनी परिवारले छोरी गुमाउनु पर्यो । ‘हामीसँग कहाँबाट ल्याएर पैसा दिन सक्नु,’ आनन्दीले भनिन्, ‘ दहेज ल्याउ भन्दै छोरीलाई घरका सबैले यातना दिइरहन्थे ।’

मागेजति दाइजो नआएपछि बहरदार परिवारले निर्घात कुटपिट गरी रञ्जनालाई मिरगञ्ज पुल नजिकै खोलामा फालेको स्थानीय लक्ष्मीदेवी रायले बताइन् । शव भेटिएपछि गाउँ नै शोकमा डुबेको उनले बताइन् ।

सैलुनले खोस्यो सपना

रञ्जनाका श्रीमान भीमले दाजुसँग मिलेर भारतमा नै सैलुन पसल सञ्चालन गर्थे । विवाह पछि उनले पसल छाडे । नयाँ पसल खोल्न भन्दै ससुरालीसँग पैसा माग्दै रञ्जनालाई यातना दिइरहन्थे । यातनाकै कारण दुईसाता रञ्जना माइत आएकी थिइन् । गत मंगलबार भीम आफै लिन आए । दशैंमा छोरी घर पठाएको सहनी परिवारले आइतबार बिहान खोलामा शव भेट्यो ।

शुक्रबार विराटनगरको बजार आएका भीमले रञ्जना घरमा बस्न नमान्ने भन्दै छोरी लिन आउन ससुरालीमा खबर पठाएका थिए ।

भारतीय प्रहरीको असहयोग

शनिबार बिहान रञ्जनालाई बेपत्ता बनाएको जानकारी पाएपछि माइती पक्ष छोरीको घर पुग्यो । तर घरमा ताला लगाएर भीमको परिवार भागेको थियो । खोज्दै जाँदा अररिया जिल्ला कै भाण्टाबारी भन्ने स्थानमा भीम र उनका आफन्तहरु भेटिएपछि सोधीखोजी गर्दा खोलामा शव फालेको बताएको स्थानीय बिशाल सहनीले बताए ।

यो पनि पढ्नुहोस दाइजो नदिएको भन्दै भारतमा नेपाली चेलीको हत्या

खोलामा शव रहेको थाहा पाएपछि माइती पक्ष आइतबार बिहानै जोगवनी प्रहरी थाना पुगे । तर प्रहरीले उनीहरुको पुकार सुनेन् । दिनभर हारगुहार गरेपछि बल्ल साढे १ बजे प्रहरी खोलासम्म  पुग्यो । प्रहरीलाई बोलाउन पनि स्थानीय नेताको सोर्स लगाउनु लक्ष्मीदेवीले बताइन् । ‘बिहानै थाना जादा भारतीय प्रहरीले हप्कीदप्की गरे,’ उनले भनिन्, ‘ डिस्टर्भ नगर भन्दै बाहिर पठाए ।’

दिउँसो खोलासम्म पुगेको प्रहरीले शव छुन र मान्छे समात्न मानेन् । स्थानीयले नै शव निकाले । रञ्जनाका श्रीमान भिम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई आफूहरुले समातेर प्रहरीमा बुझाएको विशाल सहनीले बताए । घटनामा संलग्न सासु र नन्द भने फरार छन् । भारतीय प्रहरीले  सोमबार मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment