 
																			२९ असोज, विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको जरिवाना तिर्न नसक्दा मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ ।
तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ सरदारको घरबाट सोही गाउँका ६ जनाले तीनवटा हाँस चोरी गरेका थिए ।
राति करिब १२ बजे चोरी गर्दा तीनजना बालक पक्राउ परेका थिए । उनीहरुमाथि सोधपुछ गर्दा अरु तीनजना पनि संलग्न देखिएपछि स्थानीयको भेलाले ६ जनालाई जनही पाँच हजारका दरले जरिवाना सुनाएको स्थानीय दलकुमार ठाकुरले बताए ।
एक महिनामा जरिवाना तिर्ने सहमति गरेका उनीहरुले जरिवाना नतिरेपछि गाउँमा अन्य व्यक्तिको घर प्रवेशमा रोक ठाकुरले बताए ।
ठाकुरका अनुसार चोरी गर्नेहरु १२ वर्षदेखि २५ वर्ष उमेर समूहका छन् । रंगेहात पक्राउ परेका तीन बालक भने १५ वर्ष मुनिका छन् ।
गत भदौमा स्थानीयको भेलाले ६ जनालाई एक महिनाभित्र जरिवाना तिर्न मौखिक आदेश दिएको थियो । तर ३० हजार तिर्न नसकेपछि कटहरी ७ रुडीया टोलका ललिता यादव, बुजीया सरदार, टिकवा सरदार, गीता सरदार, राजकुमारी सरदार, लगनी सरदार र मंजादेवी सरदारको परिवार बहिस्कारमा परेको हो ।
असोज २८ गतेबाट सात परिवारलाई गाउँका ९३ घरमा प्रवेश गर्न रोक लगाएको हो । स्थानीय अगुवा समेत रहेका ठाकुरका अनुसार प्रतिबन्धको लिखित निर्णय भने भएको छैन ।
सात परिवारले उक्त टोलको कुनै घरमा जान नपाउने, पसल, मिल, कलमासमेत जान नपाउने गरी बन्देज लगाएको पीडित परिवारकी मञ्जादेवी सरदारले बताइन् । समाजले उनको छुट्टिएर बसेका छोरालाईसमेत बहिस्कार गरेको छ । सामाजिक बहिस्कारमा परेपछि उनी बुधबार न्याय माग्दै कटहरी गाउँपालिकाको कार्यलयमा आएकी थिइन् ।
आइतबार पनि पीडित महिलाहरु गाउँपालिका पुगेका थिए । गाउँपालिका अध्यक्ष रामकुमार कामतले छलफल गराउन भनेपछि प्रहरी चौकी थलाहाले दुबै समूहलाई बोलाएर छलफल गराएको थियो । आइतबार भएको छलफलमा स्थानीय भद्र भलादमीका तर्फबाट उपस्थित भएका व्यक्तिहरुले निर्णय उल्टाउन नसक्ने बताउदै छलफल बहिस्कार गरेका थिए ।
प्रहरी चौकी थलाहका इञ्जाई असाई चुडामणि खतिवडाले लिखित सहमति नभएपछि समाजमा आरोप प्रत्यारोप नगर्ने भन्दै मौखिम सहमति गरेर पठाएको बताए । ‘पीडित पक्षको निवेदन आएपछि समाजका अगुवालाई बोलाएर छलफल गराएँ’ खतिवडा भन्छन् ‘छलफल भयो तर जरिवाना गराउने पक्ष सहमतिमा आउन मानेनन् ।’
हाँस चोरी भएको निवेदन पनि नआएको उनले सुनाए । ‘हाँस चोरी गर्ने तीनजना नाबालक छन्’ उनले भने ‘समाजले जरिवाना गर्न मिल्दैन भनेर सम्झाएँ तर सामाजिक बहिस्कार गरेको जानकारी आएको छैन ।’
अध्यक्ष भन्छन्– यो गलत हो
कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामत सामाजिक बहिस्कारमा परेको जानकारी आएलगत्तै वडा अध्यक्षसँग जानकारी लिएर समस्या सामधान गर्न लगाएको बताए ।
केही दिन अघि पीडित महिलाहरु आएपछि प्रहरी चौकीको समन्वयमा छलफल गराएको बताउँदै उनले पून सामाजिक बहिष्कार गरेको जानकारी आएपछि समस्या सामधान गर्न पहल गरिरहेको बताए ।
‘आज पीडित महिलाहरु आउनुभएको थियो,’ उनले भने ‘दण्ड जरिवाना गर्ने अधिकार कसैलाई छैन । छलफल गर्छाै भएन भने कानुनी उपचार खोज्छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4