Comments Add Comment

महावीरको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन, के-के हुँदैछन् ‘आविष्कार’ ?

१ कार्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरभित्र स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन भएको छ । केन्द्रका परिकल्पनार संस्थापक महावीर पुनसहित विभिन्न अतिथिहरुले शुक्रबार एक समारोहबीच यसको उद्घाटन गरे ।

यो नेपाली युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटर्फम’का रुपमा उनले नै स्थापना गरेका हुन् । यो केन्द्र सञ्चालनका लागि उनले केही वर्षयता आर्थिक सहयोग संकलन गर्दै आएका छन् ।

आविष्कार केन्द्रमा अहिले १८ भन्दा प्रोजेक्टहरु चलिरहेका छन् । आविष्कार र नवप्रवर्तनको प्रयासमा यहाँ युवाहरु साँझ विहान नभनी काम गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको जमिनमा आविष्कार केन्द्रको भवन छ ।

आविष्कार केन्द्रमा अहिले सेलरोटी बनाउने मेसिनदेखि औषधी बोक्ने ड्रोनसम्म बन्दैछन् । औषधी बोक्ने ड्रोनको प्रोजेक्ट लगभग अन्तिम चरणमा छ । केही प्राविधिक समस्या हल हुनासाथै तिहारपछि म्याग्दी र मकवानपुरमा औषधी बोकर गाउँ जाने ड्रोनको परीक्षण गरिने केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए ।

‘गाउँघरमा ड्रोनबाट औषधी पठाउने परिकल्पना नेपाली युवाकै हो, आविष्कार केन्द्रले त्यसलाई सघाएको हो,’ पुनको दाबी छ ।

आविष्कार केन्द्रको प्रयोग सफल भएमा केही समयपछि सेलरोटी हाल्ने मेसिन पनि तयार हुनेछ । व्यवसायिक रुपमा सेल रोटी बेच्नेहरुलाई लक्षित गर्दै यो मेसिन बनाउन लागिएको हो । अभिशेष नकर्मी र कृष्ण डीईओले तयार गर्दै गरेको यो मेसिनले साना हटोलहरुलाई दिनदिनै ठूलो मात्रामा सेल रोटी बनाउनुपर्ने दुःख हटाउन सक्ने विश्वास गरिएको छ । मेसिन मुछिएको पिठोलाई हालेपछि यसले नै सही आकारमा सेल पकाउनेछ ।

यस्तै यहाँ ९ महिना नपुग्दै जन्मिएका र नियमोनियाबाट प्रभावित शिशुलाई लक्षित गरी बेबी वार्मर मेसिनहरु पनि तयार गरिँदैछ । छिट्टै जन्मिएका बच्चाको स्वास्थ्यमा उचित ताप नपुगेर पर्ने असरलाई ध्यानमा राखेर नेपालमै यस्तो मेसिन बनाउन लागिएको हो । सञ्जयसिंह ठकुरी र सुनिल बानियाँ लगायतको टोली यसमा संलग्न छ ।

गाउँको हेल्थपोस्टहरुमा राख्नको लागि सस्तो र राम्रो किसिमको बच्चाको ईन्क्युबेटरको विकास गर्न लागिएको हो । ईन्क्युबेटर समय नपुगिकन जन्मेको बच्चाहरु र जन्डिस भएका बच्चाहरुलाई बचाउनको लागि प्रयोग गर्न सकिने छ ।

यस्तै यहाँ विद्युतीय सवारी निर्माणको लागि पनि काम हुँदैछ । नयाँ प्रयोगहरु गरेर विद्युतीय सवारी निमाण गर्ने गरी पनि प्रोजेक्ट चलाइएको छ । गाडीमा अटोमेटिक ड्राइभिङ लगायतको परीक्षण पनि गरिँदैछ । विद्युतीय सवारीमा नयाँ फिचर्सहरु थप्न नेपाली युवाहरु प्रयत्न गर्दछन्, आविष्कार केन्द्रमार्फत ।

यस्तै यहाँ बाँदर भगाउने मेसिन बनाउन पनि विभिन्न प्रयोग गरिँदैछ । धेरै बाँदर आएर बालीनाली नष्ट गर्ने समस्यालाई ध्यानमा राखेर खेतबारीमा राख्न मेसिन बनाउन लागिएको हो । यो मेसिनले बारीमा बाँदर आएमा सेन्सरका माध्यमबाट सूचना लिएर आफैं फरक-फरक आवाजहरु निकाल्नेछ । खेतबारीमा बाँदर नआएपनि निश्चित समयममा थाल ठटाएको, बाघ कराएको लगायतका आवाज समय-समयमा मेसिनले निकाल्नेछ ।

यस्तै यहाँ अत्याधुनिक सुविधासतिहको एपको पनि विकास गरिँदैछ । युवको एक समूहले ‘ओके जर्नी’ नामको बसको टिकट बुकिङ गर्ने एप बनाएका छन् । यो अहिले परीक्षणको क्रममा छ ।

यस्तै यहाँ पानी तताउने विद्यमान सोलर थर्मल कलेक्टर (एसटीसी) प्रविधिको दक्षता सुधार गर्न प्रोटोटाइप विकसित गरी परीक्षण पनि गरिँदैछ । ग्रामीण क्षेत्रका लागि पानी फिल्टर र टि्रटमेन्ट प्रणालीको विकास गरिदैछ ।

थ्री व्हृिवलर सवारीहरुका लागि लिड-एसिड ब्याट्री चार्जिङ र मर्मत प्रणाली विकास गरिएको छ । यहाँ नै विकास भएको ई-कमर्स प्लेटर्फम एभरेष्ट कार्ट विकास गरी सार्वजनिक गरेका भइसकेको छ ।

जापान र अमेरिकाका नेपाली डाक्टरहरूको टोलीको सहयोगमा ग्रामीण स्वास्थ्य चौकी र टेलिमेडिसिन प्रोग्रामको लागि इलेक्ट्रोनिक मेडिकल रेर्कडिङ प्रणाली विकास पनि विकास गरिँदैछ ।

वेबमा आधारित शैक्षिक सहयोग र प्रवर्टन प्रवर्द्धनको लागि पनि प्रणाली विकास गरिँदैछ । पुरानो डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने प्रोजेक्ट पनि चलिरहेको छ ।

शहरको सडक बत्तीको लागि स्वचालित सोलर प्यानल सफाई प्रणालीको विकास पनि गरिँदैछ । शहरी क्षेत्रमा बस्ने कम आय भएका घरपरिवारका लागि सरल र सस्तो कपडा धुने मेसिन विकास पनि गरिँदैछ ।

यस्ता काममा सबै युवा इन्जिनियरहरु संलग्न छन् । आविस्कार केन्द्र प्रोजेक्टहरु काठमाडौं बाहिर पनि सञ्चालनमा छन् । नयाँ प्रविधिको विकास र पुरानो प्रविधिको स्तरोन्नतिमा केन्द्रित भएर आविष्कार केन्द्रले काम गर्न सकेकोमा सन्तोष मिलेको पुन बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment