Comments Add Comment

सुगठित शरीर देखाएर नेपाल चिनाउने सुजनको धोको

ताज्मानिया । भनिन्छ कुनै कुरामा सफलता हासिल गर्न निरन्तर मेहनत, कडा परिश्रम, र दृढ इच्छाशक्ति चाहिन्छ । चाहे मातृभूमि होस या विदेश, आफूले आँटेको काममा मेहनत र कडा परिश्रम गर्‍ये भने सफलता आफूलाई पछ्याउँदै आउँछ ।

हो, यसैको उदाहरण बनेका छन् अष्ट्रेलिया, लन्चेस्टनका एक नेपाली युवा, सुजन शिल्पकार । गत बिहीबार पोखरा न्युरोडका ३४ वर्षीय यी युवा अष्ट्रेलियाको ताज्मानिया क्षेत्रीय स्तरको ‘आइ कम्पिट नेचुरल बडी फिटनेस’ प्रतियोगितामा स्थानीय गोरेहरुलाई पछार्दै दुईवटा स्वर्ण पदक जिते ।
उनले पहिलो पटक प्रतियोगितामा भाग लिनेहरुको विधा र ३१ वर्षभन्दा माथिकाहरुको विधामा स्वर्ण पदक प्राप्त गरे भने ‘ओपन फिजिक्स’ विधामा पाँचौ स्थान प्राप्त गरे । योसँगै उनलाई अब अष्ट्रेलियाको राष्ट्रिय स्तरको फिटनेश प्रतियोगितामा भाग लिनको लागि बाटो खुलेको छ ।
‘रहरको लागि मात्र जिम गर्ने सामान्य मान्छेले प्रतियोगितामा भाग लिएर स्वर्ण पाउँदा त एकदम खुशी भएँ,’ अनलाइनखबरसँगको भेटमा सुजनले सफलताको सुत्र बताए, ‘मेहनत र इच्छाशक्ति भयो भने त हुने रहेछ त ।’

घण्टाको हिसाबले काम गरेर जिविको पार्जन हुने देशमा समयको व्यवस्थापन कसरी गर्नु भयो ? भन्ने प्रश्नमा उनले भने, ‘हामी नेपाली पौरख गर्न सिपालु छौं नि ।’

कसरी पुगे आइकम्पिट नेचुरल प्रतियोगितासम्म ?

नेपाल हुँदा देखिनै उनी आफू स्वस्थ र फूर्तिलो रहनका लागि मात्र जिम जाने गर्थे । करिब १६ वर्षको हुँदादेखि जिम सुरु गरेका उनी अस्ट्रेलिया आएर पनि वर्कआउटलाई निरन्तरता दिए ।

लन्चेस्टनको एउटा फिटनेस सेन्टरमा वर्कआउट गरिरहँदा उनले अस्टेलियाका दुईवटा साथीहरु भेटे, बेन र जेफ । ‘उनीहरुकै सल्लाहमा प्रतियोगितासम्म पुगें,’ उनले विगत सम्झिए, ‘उनीहरुको ठूलो गुन छ ममाथि ।’

उनको राम्रो र सुगठित शरीर देखेर साथीहरुले प्रतियोगितामा भाग लिन प्रेरित गरे । उनले पनि साथीहरुको कुरालाई स्वीकार्दै प्रतियोगितामा भाग लिए र फर्किए दुई स्वर्णसहित ।

तास्मानिया क्षेत्रको लन्चेस्टनमा बस्ने पाँच वर्षीय बालकका पिता यो क्षेत्रीयस्तरको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । ‘यो प्रतियोगिता मैले मात्र जितेको होइन, यो प्रतियोगितामा मेरो सहभागिता र जीतले केही हदसम्म नेपाललाई पनि चिनाउन पाएको छु,’ उनले भने ।

उनको दैनिकी सामान्य मानिसको भन्दा धेरै भिन्न छ । खानेकुरा जोखेर खानुपर्छ, पानी नापेर पिउनु पर्छ । उनी भाग लिएको प्रतियोगितामा शरीरमा बोसोको मात्रा, मास मसल्स, र पोज दिने कुराले हार जितको निर्धारण हुने रहेछ । ‘जति सक्यो त्यति धेरै मास मसल्स देखाउनुपर्छ, बोसो त कतै पनि देखिनै हुँदैन,’ उनले भने ।

यो सबै कुरा डाइटले निर्धारण गर्ने हुनाले उनको खानामा एउटा नियम छ, लो कार्व, हाइ प्रोटिन । उनी दिनमा पाँच पटक खाना खान्छन् तर सबै उमालेको ।

नुन मसला, पिरो उनले एकदमै बार्नुपर्छ । उठ्ने बित्तिकै ७ वटा उसुनेको अण्डा खान्छन् । एक पटकमा १८० ग्राम उमालेको चिकेन र उमालेको ब्रोकाउली ।

पार्टीहरुमा जाँदा, साथीभाइहरुसँग जाँदा पनि खाना उनी आफैले घरबाट बनाएर लैजान्छन् । साथीहरुले पनि उनलाई जिस्काउन उनैतिर फर्काएर बियरका बोतल ठोक्काउँछन् । ‘तर खान्न भन्ने संकल्प भएपछि खान मन पनि लाग्दो रहेनछ,’ उनले हाँस्दै भने ।

नेपाल चिनाउने लक्ष्य

सुरुमा उनलाई फिटनेस सम्बन्धी कुनै प्रतियोगितामा भाग लिन्छु भन्ने लागेकै थिएन तर पहिलो पटकनै सफलता प्राप्त भएपछि त नेपालको नाम राख्न सकिन्छ कि भन्ने सोंच आएको बताए ।

‘सुरुमा त सोचेकै थिइन, अब त देशको नाम राखेर आफ्नो देश प्रतिको जिम्मेवारी वहन गर्ने बेला आएजस्तो लाग्छ,’ उनले भने ।

यही अक्टोबर महिनाको अन्त्यतिर अस्ट्रेलियाको मेलबर्नमा आइसिएन वर्ल्ड च्याम्पियनसिप, २०१९ प्रतियोगिता आयोजना हुँदैछ । उनी पनि यो प्रतियोगितामा भाग लिएर नेपाल को नाम राख्ने योजनामा छन् । ‘यस्तै राष्ट्रियस्तरको प्रतियोगिता जितेर नेपाललाई विश्वमा चिनाउने मेरो ठूलो लक्ष्य रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment