Comments Add Comment
आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङः :

‘मिर्गौलाले काम गरेन, नियमित डायलासिस गर्नुपर्ने भयो’

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए ।

शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका थिए । मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको उनले जानकारी दिए ।

अब आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्ने चिकित्सकहरुको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्छन्’ उनले भने ।

बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएर आफू सिस्कित भएको नभई केही समस्या देखिएकाले चकित्सकहरुले परीक्षण गरिरहेको जानकारी गराएको बताए ।

उनले भने, ‘केही रिपोर्ट प्राप्त भएपछि थप केही गर्नुपर्ने भयो भने निर्णय होला । अहिले भने ग्राण्डीमा डायलासिस भयो र अहिले उहाँ सामान्य अवस्थामा हुनुहुन्छ ।’

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

२० भदौमा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या सुरु भयो । २ कात्तिकमा ग्राण्डी अस्पतालमा पुगेका उनको मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो ।

बुधबार फेरि अस्पताल पुगे र आकस्मिक रुपमा डायलासिस गरियो । बिहीबार दोस्रो पटक डायलासिस गरेपछि अस्पतालबाट सरकारी निवास फर्किएका थिए ।

अब आज वा भोलि अर्को डायलासिस गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment