Comments Add Comment

जीवनसाथीको बानी मन नपरेपछि….

विवाहभन्दा पहिला त जीवनसाथीको हरेक कुरा लोभलाग्दा लाग्छ । तर, जब विवाहपछि उनको कुनै बानी मन परेन भने के गर्ने ? कमल र बन्दना केही समयअघि मात्र साथी बनेका थिए । हरेक भेटघाटको क्रममा बन्दनालाई कमलको व्यक्ति तथा साथ निकै राम्रो लाग्दथ्यो । हरेक भेटघाटको क्रममा कमल राम्रो ड्रेसअपमा प्रस्तुत हुन्थे । जसबाट बन्दना निकै प्रभावित हुन्थिन् । बिस्तारै दुबैको प्रेमले गाढा स्वरुप लिन थाल्यो । फलस्वरुप, उनीहरुबीच शारीरिक सम्बन्धसमेत कायम भयो । कमल सधैं बन्दनासँग नारी-पुरुष समानताको कुरा गरिरहन्थे । अन्ततः बन्दनाले कमलसंग विवाह गर्ने निर्णय गरिन् ।

विवाह भएको एक वर्ष पनि नबित्दै बन्दनाले कमलका थुप्रै नराम्रा बानीहरुका बारेमा जानकारी पाइन् । उनलाई कमलले दिनहुँ ननुहाउने, नुहाएपछि तौलियालाई ओछ्यान तथा सोफामा त्यसै फ्याँकिदिने, राति सुत्नुभन्दा अघि ब्रस नगर्ने जस्ता नराम्रा बानीहरुका बारेमा जानकारी भयो । उता, कमलले पनि बन्दनाको फोनमा धेरै बोल्ने बानीप्रति आपत्ति जनाउन थाले । अब कमलको नारी-पुरुषबीचको समानता सम्बन्धि कुरा पनि हावा झैं हुन थाल्यो । विवाह भएको तेस्रो वर्ष नै उनीहरु छुट्टएि ।

प्रेम विवाहमा केटा तथा केटीले एक-अर्कालाई राम्ररी चिन्ने अवसर पाएका हुन्छन् । तर, के वास्तविकतामै यस्ता हुन्छ र ? वास्तवमा टाढा रहेर अर्थात् अलग-अलग रहेर गरिने प्रेम बनावटी, अधुरो तथा भ्रमित गर्ने खालको हुन सक्छ । त्यस्तो प्रेम गर्नु कुनै पनि युवाका लागि निकै सहज हुन्छ, किनभने यसमा उसले आफ्नो व्यक्तित्वको हरेक पक्ष देखाउनै पर्दैन । उसले निकै सजिलै आफ्ना नराम्रा बानीहरु लुकाउन सक्छ । यसप्रकारको प्रेममा अधिकांश भेटघाटहरु पहिलेदेखि नै तय हुन्छ र त्यो भेट घरभन्दा बाहिर नै हुन्छ । त्यसैले दुबै पक्षसँग आफ्नो तयारी गर्ने तथा दोस्रो पक्षलाई प्रभावित गर्नका लागि प्रशस्त समय हुन्छ ।

सँगै बसेपछि वास्तविक परीक्षा

घरभन्दा बाहिर प्रेमी-प्रेमिकाले एक-अर्काको राम्रो कुरामात्र देख्छन् । विभिन्न समस्याहरु हुँदा-हुँदै पनि दुबैले आफ्नो सकारात्मक पक्षलाई मात्र प्रस्तुत गरिरहेका छन् । प्रेमीले सेन्ट, पाउडर लगाएर घरबाट निस्किँदा उनकी प्रेमिकाले उनले आज ननुहाएको तीन दिन भयो भन्ने कुरा पत्तै पाउँदिनन् । प्रेमिकालाई त उनका प्रेमीले उनको अण्डरगार्मेन्टहरु हरेक दिन फेर्छन् कि फेर्दैनन् भन्ने कुराको पनि जानकारी हुँदैन । अथवा प्रेमिकालाई पछिल्लो डेटिङमा प्रेमीले जुन आकर्षक पहिरन लगाएका थिए, त्यो पनि उनको हो कि उनका कुनै साथीको हो भन्ने कुराको जानकारी समेत हुँदैन ।

समग्रमा, प्रेम विवाह होस् अथवा परम्परागत विवाह, कुनै पनि जोडीको वास्तविक परीक्षा भने सँगै बसेपछि मात्रै प्रारम्भ हुन्छ । यो हिसाबले हेर्ने हो भने विवाहको स्थायित्वको ग्यारेन्टीलाई लिएर प्रेम विवाह अथवा परम्परागत विवाहमा धेरै भिन्नता छैन । किनभने, दुबै प्रसंगमा जीवनसाथीको वास्तविक रुपसँगै बसेपछि मात्र थाहा पाइन्छ । दुबै प्रकारका विवाहहरुमा जीवनसाथी भविष्यमा गएर कस्तो हुने हो भन्ने कुराको ग्यारेन्टी लिन सकिँदैन ।

सामञ्जयताको आवश्यकता

यहाँ हामी के कुराको बहसमा छैनौं भने दुबै प्रकारका विवाहमध्ये कुन विवाह सही हो ? यद्यपि हामी के भन्न चाहन्छौं भने विवाहभन्दा पहिला गरिएको प्रेम विवाहपछि गरिने प्रेमभन्दा सहज हुन्छ । विवाहपछि जोडीलाई एक-अर्काको बारेमा सबै कुरा थाहा भइसकेको हुन्छ । एक-अर्काको वास्तविक समेत खुलिसकेको हुन्छ । राम्रा-नराम्रा सबै बानीहरुको बारेमा जानकारी भइसकेको हुन्छ । जिन्दगीका हरेक साना-ठूला समस्याहरु समेत सँग-सँगै अघि बढिरहेका हुन्छन् ।

यति भइसकेपछि उनी यदि कुनै जोडीमा प्रेम सम्बन्ध कायम रहन्छ भने मात्र भने हामी त्यसलाई वास्तविक प्रेम भन्न सक्छौं । त्यसो त कतिपय मानिसहरु यसलाई सम्झौता पनि भन्छन् । तर, हरेक सम्बन्धको अनिवार्य यथार्थता के छ भने केही सम्झौता नगरी कोही कसैसँग पनि लामो समयसम्म अथवा जीवनभरी सँगै रहनै सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment