Comments Add Comment

जिल्ला अदालतमा आलमको छोटो बयान, भोलि फेरि हुने

१९ कात्तिक, रौतहट । सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको छोटो मात्र बयान भयो ।

बयानका लागि बिहान १०.३० बजे नै अदालत पुर्‍याइएका आलमको बयान ३ : १५ बजे शुरु भएको थियो । आलमलाई १ : १५ बजे जिल्ला न्यायाधीश ढकालको इजलासमा लगेपछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्रति आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान केही बेर रोकिएको थियो ।

आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्राप्त गरेपछि मात्रै आलमको बयान शुरु भएको थियो । ‘प्रतिवादी पक्षका कानून व्यवसायीहरुले मुद्दाको नक्कल माग गरेकाले केही बेर बयान स्थगित भएको थियो’ सरकारी वकिल खडिन्द्रराज कटुवालले भने ‘त्यस पछि शुरु भएको बयान झण्डै ४५ मिनेट चलेको थियो ।’

आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेकोसम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने सरकारी वकिल कटुवालले जानकारी दिएका छन् ।

मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको हो ।

जसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजाय मागदाबी प्रहरीले गरेको छ । मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले आलमलाई विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरी तीन अभियोग लगाउदै मुद्दा दर्ता गराएको हो ।

जाहेरवालाको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल र आशिकराम कार्की मंगलबार जिल्ला अदालत आएका थिए । पीडितको पक्षबाट निशुल्क रुपमा वकालत गर्न झण्डै १२ जना कानून व्यवसायीहरु रौतहट आएका छन् भने प्रतिवादी आलमको पक्ष बाट पनि रौतहट बाहिर बाट कानून व्यवसायी आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment