Comments Add Comment

पहिलो बिमस्टेक बन्दरगाह सम्मेलनमा भूपरिवेष्ठित मुलुकका मुद्दा

२२ कात्तिक, काठमाडौं । पहिलो बिमस्टेक बन्दरगाह सम्मेलन भारतको विशाखापटनममा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा बिमस्टेकमा आबद्ध मुलुकको द्वीपक्षीय व्यापार अभिवृद्धि तथा भूपरिवेष्ठित मुलुकहरुको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।

सम्मेलनमा नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सहभागी छ । अन्य तहका पहलहरूमा नखप्टिने गरी बिमस्टेक मुलुकका विशिष्ट विशेषतालाई ध्यान दिँदै यस क्षेत्रका बन्दरगाहबिच बिमस्टेक चासो समूह विकास गर्ने, क्षेत्रीय समृद्धिका लागि सबै बन्दरगाहको प्रतिस्पर्धात्मक लाभ अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल भएको सम्मेलनमा सहभागी वाणिज्य मन्त्रालयकी उपसचिव सिर्जना तिवारीले जानकारी दिइन् ।

‘बिमस्टेक मुलुकबीच मौलिक सिपिङ उद्योग तथा सम्बन्धित पूर्वाधार प्रवर्धन गर्ने तथा भूपरिवेष्ठित देशहरूका व्यापार मुद्दा सम्बोधन गर्ने विषयमा पनि सम्मेलनमा छलफल भयो,’ उनले भनिन् ।

पहिलो बिमस्टेक बन्दरगाह सम्मेलनले सामुन्द्रिक अन्तरक्रिया, बन्दरगाह केन्द्रित कनेक्टिभिटी पहलमा उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने लक्ष्य लिएको थियो । सम्मेलनमा बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का तथा थाइल्याण्डका प्रतिनिधिहरू सहभागी थिए ।

गत मार्चमा थाइल्यान्डको बैंककमा भएको बिमस्टेक राष्ट्रिय सुरक्षा प्रमुखको तेस्रो बैठकमा बिमस्टेक बन्दरगाह सम्मेलनबारे छलफल भएको थियो । सन् २०१९मै बिमस्टेक बन्दरगाह सम्मेलन गर्ने भारतको प्रस्तावलाई बैठकले सदर गरेको पृष्ठभूमिमा यो सम्मेलन आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment