
२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच झण्डै तीन महिनापछि मंगलबार पहिलो पटक वान टु वान वार्ता भएको हो । प्रधानमन्त्री ५ भदौमा उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा दुई नेताबीच भनाभन भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले नेता नेपालको शुभकामनासमेत नचाहिने टिप्पणी गरेका थिए ।
त्यसयता पार्टीको बैठकहरुमा दुई नेताबीच भेट भएपछि एक्लाएक्लै छलफल गरेका थिएनन् ।
मंगलबारको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्वंयमको पहलमा झण्डै चार घन्टा कुराकानी भएको छ । ‘पछिल्लो समय दुई नेताको सम्बन्ध सौहर्दपूर्ण थिएन’, नेकपा स्रोतले भन्यो, ‘मंगलबार मन माझमाझ गर्ने काम भएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विविध कारणले पार्टीका निर्णयहरु सहमतिमा गर्न नसकेको भन्दै अब सहमतिमा नै जाने आश्वासन दिएका छन् ।
जवाफमा नेता नेपालले आफूले जहिले पनि पार्टीको निर्णयहरु विधिसम्मत हुनुपर्छ भन्दै आएको स्मरण गराएका थिए । अध्यक्षको हैसियतमा त्यो तपाईको दायित्व पनि हो, जुन तपाईले पूरा गर्नु भएन र समस्या आयो’, नेता नेपालको भनाइ थियो ।
दुई नेताबीच पार्टी एकताका बाँकी काम टुंगोमा पु¥याउने, सीमा विवाद लगायतका विषयमा कुराकानी भएको थियो ।
प्रतिक्रिया 4