+
+
Shares

सार्वजनिक यातायातले सिट फोहोर राखे कारबाही

मोटरसाइकलको ऐनाको स्वरुप पनि फेर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १७:५१

१ मंसिर, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिने भएको छ ।

सार्वजनिक बस, ट्याक्सीलगायतको सिट घिनलाग्दो भएको जनगुनासो आएपछि व्यवसायीसँग छलफल गरेर सिटलाई सफा पार्नका लागि निश्चित समय दिइने भएको हो ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले केही दिनमै व्यवसायीसँग छलफल गरेर समय तोकिने अनलाइनखबरलाई बताए । उनका अनुसार बस्नलाई समेत असजिलो हुने र सिटमा बस्ने वित्तिकै काटीले पाइन्ट च्यातिने जस्तो स्थिति सार्वजनिक यातायातमा देखिएको छ ।
‘हामीले केही फोटोहरु पनि संकलन गरेका छौं’, ढकालले भने, ‘ती फोटो समेत देखाएर व्यवसायीका प्रतिनिधि राखेर छलफल गर्छौं ।’

लुकिङ ग्लास ‘मोडिफाइ’ गर्न नपाइने

ढकालका अनुसार उपत्यकामा हुने धेरै दुर्घटनामा मोटरसाइकलको ऐनाले पनि भूमिका खेलेको छ । त्यसैले ऐनाको स्वरुप परिवर्तन गर्न पनि निषेध गरिएको उनले बताए ।

‘बाख्राको कान जस्तो ग्लास राखेपछि पछाडि आउँदै गरेको गाडी देखिँदैन । र, दुर्घटना हुने गरेको छ’, उनले भने ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि कारबाही गर्न थालिसकिएको उनले बताए । उनका अनुसार शनिबार मात्रै ३४५ मोटरसाइकल चालक कारबाहीमा परेका छन् ।

आइतबार भने २ सय ६७ जनालाई कारबाही गरिएको ढकालले बताए । उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?