Comments Add Comment

भारतीय फिल्ममा महंगो लगानी: ‘एउटै दृश्यका लागि ९० करोडसम्म खर्च’

भारतमा यतिबेला ‘बाला’ नामक चलचित्रले धमाल मच्चाइरहेको छ । कम बजेटमा बनेको यो चलचित्रले दोश्रो हप्ताको आइतबारसम्म ९० करोडको व्यापार गरिसकेको छ ।

एकातिर उत्कृष्ट कथामा बनेका कम बजेटका चलचित्रले निर्मातालाई प्रशस्त मुनाफा दिइरहेका छन् । अर्कोतिर, केही मेकरहरु एउटै दृश्यका लागि करोडौ रकम खर्च गरेर चलचित्र बनाइरहेका छन् ।बलिउडमा मात्र होइन, साउथका केही चलचित्रको लगानी होस उडाउने खालको छ ।

छायांकन भैरहेको चलचित्र ‘ब्रम्हास्त्र’लाई बलिउडको सबैभन्दा महंगो चलचित्र भनिएको छ । यो चलचित्रमा प्रयोग हुने उच्च भीएफएक्सका कारण पनि यसको लगानी चुलिएको हो । रणवीर कपुर, आलिया भट्टको साथमा अमिताभ बच्चन चलचित्रका मुख्य कलाकार हुन् ।

आउँदो बर्ष बलिउडले भीएफएक्सले सजिएका आधा दर्जन भन्दा बढी चलचित्र दर्शकमाझ ल्याउँदैछ । ‘महाभारत, ब्रम्हास्त्र, पृथ्वीराज, ममंगम, महावीर कर्ण’ लगायतका चलचित्रको बजेट उच्च हुने बताइएको छ ।

चलचित्र ‘साहो’को एक दृश्यका लागि ९० करोड खर्च भएको चर्चा चलेको थियो । प्रभासले ३७ कार र ५ ट्रकलाई एक्लै तोडेको दृश्य खिच्न मात्र ९० करोड खर्च गरिएको थियो । यसैले, पनि यो चलचित्रको बजेट आकासिएको थियो । यस्तै, अजय देवगण, राम चरण र जुनियर एन्टिआरको मुख्य भूमिकामा बनिरहेको ‘आरआरआर’ चलचित्रको बजेट पनि उच्च हुने बताइएको छ । यो चलचित्र करिब ४ सय करोडमा बन्दैछ । ऐतिहासिक कथामा बनेको यो चलचित्रको इन्ट्री सिनका लागि मात्र ४० करोड खर्च गर्न लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रजनीकान्त र अक्षय कुमारको मुख्य भूमिका रहेको ‘२.०’ चलचित्रको क्लाइमेक्सका लागि २० करोड खर्च गरिएको थियो । भारतमा भीएफएक्स र स्पेशल इफेक्ट्सका लागि कैयौ स्टूडियो खोलिएका छन् । जसमा प्राइम फोकस र रेड चिल्ली सबैभन्दा अगाडि आउँछन् ।

निर्माता आनन्द पण्डितले भारतीय मिडियासँग भनेका छन्–‘ मेरो प्रोडक्शन हाउसमा बनेको चलचित्र ‘टोटल धमाल’को बजेट १०८ करोड छ । यो चलचित्रको सम्पूर्ण दृश्यको छायांकन मुम्बइमा गरिएको थियो । चलचित्रमा केही दृश्य अबुधाबीका पनि थिए । तर, चलचित्र हेर्ने कसैले पनि मुम्बइमा खिचिएको भनेर भन्न सकेनन् ।’ १०८ करोड रुपैयाँमा बनेको यो चलचित्रमा २२ करोड रुपैयाँ स्पेशल इफेक्ट्सका लागि खर्च गरिएको थियो ।

करिब ८ बर्ष अगाडि १२५ करोडको बजेटमा बनेको चलचित्र ‘रा वन’को भीएफएक्स र पहिरनमा नै महंगो रकम खर्च भएको थियो । चलचित्रमा साहरुख खानले लगाएको ‘जी वन’को पहिरन तयार गर्न नै १ करोड खर्च भएको थियो । चलचित्र ‘बाहुवली’को क्लाइमेक्सले सर्वाधिक चर्चा पायो । यो चलचित्रको क्लाइमेक्सका लागि मात्र ३० करोड रकम खर्च गरिएको थियो ।

अहिले भारतमा भीएफएक्सका लागि मात्र बर्षमा ३ सय करोड भन्दा बढी खर्च गरिन्छ । यसमा केही हलिउड चलचित्र समेत छन्, जसले भारतमा भीएफएक्स गराउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment