Comments Add Comment

मुआब्जा निर्धारणको माग गर्दै आरुघाटमा आन्दोलनको घोषणा

२ मंसिर, गोरखा । बुढिगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरिएको छ । बुढिगण्डकी सरोकार समिति गोरखा र धादिङको संयुक्त आयोजनामा सोमबार बसेको सरोकारवालाको बैठकले आन्दोलनको एक्यवद्धता लागि मंसिर ४ गते केन्द्र र प्रदेशका सांसदहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नाको कार्यक्रम गर्ने बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए । ‘धर्ना कार्यक्रममा गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय समिति सदस्य, सम्बन्धित वडाध्यक्ष र सरोकार समितिका अध्यक्षहरु सहभागी हुनेछन्,’ उनले भने, ‘सांसदहरुलाइ पनि कार्यक्रममा सहभागी हुन अनुरोध गर्नेछौ ।’

मंसिर ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना कार्यक्रम गर्ने बताउँदै उनले थपे, ‘९ गते सिउरेनीटारमा रहेको आयोजनाको वातावरण मुआब्जा वितरण पुर्नवास तथा पुर्नस्थापना इकाइको कार्यालयमा धर्ना दिन्छौं ।’ मुआब्जा निर्धारण नभए पुनस् बैठक बसेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले चेतावनी दिए । ‘पहिले मुआब्जा तोक्नुपर्‍यो, त्यसपछि आयोजना निर्माण, रिङरोड लगायतका कुरा गर्नु पर्‍यो,’ उनले भने । मुआब्जा निर्धारणको माग गर्दै सोमबार गोरखा र धादिङको आरुघाट बजार बन्द गरिएको थियो । बन्दका कारण जनजिवन प्रभावित बन्यो ।

आयोजनाको डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसक्दा पनि गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरे बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । मुआब्जा निर्धारणको माग गर्दै सरोकार समितिले बिभिन्न समयमा आन्दोलन पनि गर्दै आएको छ ।

मुआब्जा निर्धारणका लागी आफू सँधै तयार रहेको बताउँदै गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने, ‘आयोजनाले ल्याएको प्रस्तावमा म सही गर्न तयार छु, सबैभन्दा पहिले आयोजनाले सम्पूर्ण तयारी सकेर ल्याउनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment