Comments Add Comment

पुर्जाको टोलीले कानूनविपरीत आमादब्लममा कुवेतको झण्डा फहराएको ठहर

कारवाहीबारे पर्यटन विभाग छलफलमा

Photo Credit : निर्मल पुर्जाको फेसबुक पेज ।

२ मंसिर, काठमाडौं । आमादब्लम हिमालमा कुवेती झण्डा फहराइएको विषयमा विवाद बढेपछि पर्यटन विभागले छानबिन गरेको छ । छानबिनबाट सरकारको अनुमतिबिनै झण्डा फहराइएको पाइएको पर्यटन विभागले जनाएको छ ।

नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जासमेत सहभागी आरोहण दलले गत साता आमादब्लम हिमाल आरोहण गरेको थियो । आरोहणका क्रममा विशाल आकारको कुवेती राष्ट्रिय झण्डा शिखरमा फरफराइएको भिडियो पुर्जाले नै सामाजिक सञ्जालमा राखेका छन् । यसलाई लिएर विभिन्न टिप्पणीहरु भएका थिए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले झण्डा लैजान सरकारसँग अनुमति नलिइएको बताए । यस विषयमा आरोहण दल, टोली नेता र सरकारी सम्पर्क अधिकृतसँग स्पष्टीकरण लिइएको उनको भनाइ छ ।

‘दुई देशबीचको कूटनीतिक सम्बन्धसँग जोडिएको विषयसमेत भएकाले कुनै कम्पनीले लुकाएर झण्डा लैजानु अस्वभाविक हो,’ घिमिरेले अनलाइनखबरसँग भने ।

स्पष्टीकरणका दौरान आरोहण दलले झण्डा लैजान अनुमति चाहिन्छ भन्ने थाहा नभएको बताएको छ । जबकि यो आरोहण अभियान चलाउने कम्पनी हिमालयन एडभेन्चर पछिल्लो कीर्तिमानी आरोही पुर्जाकै हो । ८ हजार मिटर अग्ला विश्वका सबै हिमाल चढेका आरोहीलाई आरोहणसम्बन्धी  कानून थाहा नहुनु आश्चर्यको कुरा भएको विभागका अधिकारीहरु बताउँछन् ।

हिमालमा जानुअघि लैजान पाउने र नपाउने बस्तुहरु तथा तिनीहरुको अनुमति प्रक्रिया सम्बन्धमा स्पष्ट कानून छ । पुर्जाको आरोहण दलले यसलाई उल्लंघन गरेको सरकारले ठहर्‍याएको छ ।

‘यो टोलीबाट कानून विपरित काम भएको छ,’ विभागका महानिर्देशक घिमिरेले भने, ‘हामी छलफल गरिरहेका छौं, छिट्टै निष्कर्षमा पुग्छौं ।’
कुवेतको झण्डा आमादब्लम जाँदैछ भन्ने थाहा पाएको भए नेपाल सरकार आफैले सक्रियता लिएर प्रचारमा सहयोग गर्ने उनको भनाइ छ ।

‘हामीलाई थाहा दिएर लगेको भए कुवेतमा नेपालको प्रवर्द्धन हुनेगरी हामीले नै त्यसको प्रचार गर्ने थियौं, तर, त्यसो नगरी यहाँ कानून मिच्ने काम भएको छ,’ घिमिरेले भने ।

के भन्छन् पुर्जा ?

पुर्जा र आरोहण दलले भने भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि झण्डा लगेको बताएका छन् । पुर्जाले यस विषयामा फेसबुकमा स्पष्टीकरणसमेत दिएका छन् । आफ्नो स्पष्टीकरणमा उनले झण्डाको आकार अत्यधिक ठूलो भएकोमा माफी मागेका छन् तर झण्डा फहराउने कार्यले भिजिट नेपालालाई सहयोग गर्ने उनको तर्क छ ।

उनले फेसबुकमा लेखेको स्टाटसको सार यस्तो छ :

हो, मैले कुवेतका हाम्रा साथीहरुलाई उनीहरुको राष्ट्रिय झण्डा आमाबब्लम शिखरमा पुर्‍याउन सहयोग गरेको हुँ, ताकि चाँडै आउन लागेको उनीहरुको राष्ट्रिय दिवस मनाउन सहयोग पुगोस ।

यस्तो लाग्छ, मानिसहरुले आजकाल धेरै अनुसन्धान गर्दैनन् र थोरै ज्ञानका आधारमा आफ्नो धारणा राख्छन् । जस्तो कि एउटा भनाइ छः अल्पज्ञान खतरनाक हुन्छ ।

हामीले झण्डाहरु शिखरमा फहराएर काठमाडौं फिर्ता ल्याइसकेका छौं । हिमालमा हामीले झण्डाको कुनै चिह्न छोडेका छैनौं ।

यस आरोहणमा १७ जना नेपाली शेर्पा गाइडहरु थिए भने ४ जना बेस क्याम्प किचेन स्टाफ र २० जना नेपाली भरिया थिए । यसले पक्कै नि नेपालको अर्थतन्त्रलाई मद्दत गरेको छ । साथै यसले भिजिट नेपाल २०२० लाई पनि सघाउने छ ।

हो, झण्डाको आकार पक्कै पनि ठूलो थियो, त्यसमा म माफी चाहन्छु, तर अरुले जस्तो हामीले त्यहाँ कुनै चिह्न छोडका छैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment