Comments Add Comment

पूर्वराजाले मेराे नामै लिएर प्रशंसा गर्दा दंग परेँ : केकी अधिकारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक नाइट क्लब एलओडीमा नाच्दै रमाइलो गरेको भिडिओ र फोटो अहिले भाइरल भइरहेको छ । उनी बुहारी हिमानीसहित नाइट क्लबमा पुगेका थिए । त्यहीँ थिइन् नायिका केकी अधिकारी, रिमा विश्वकर्मालगायत ।

उनीहरुले पनि पूर्वराजपरिवारसँग केही क्षण कुराकानी गरे र फोटो खिचाए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रत्यक्ष साक्षात्कार हुँदाको अनुभव केकीले अनलाइनखबरसँग बाँडेकी छन् । यस्तो छ केकीको भनाइको सम्पादित अंश :

****

म, रीमा विश्वकर्मा लगायत एउटा विशेष कामले ठमेलको एलओडी (नाइट क्लब)मा गएका थियौं । हामी त्यहाँ गइसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउन लागेको जानकारी भयो । एलओडी पुगेपछि हामी उहाँहरुकै प्रतिक्षामा रह्यौं । १५/२० मिनेटमै पूर्वराजपरिवार आउँछ भनेपछि हामी कुरेर बसेका थियौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित त्यहाँ ‘भिजिट’ गर्ने भनेर जानकारी गराइएको रहेछ । त्यस्तो कुनै विशेष इभेन्ट थिएन । पारिवारिक मनोरञ्जनका लागि हुनसक्छ उहाँहरु आउनु भएको । हामी गएकै बेला उहाँहरु आएको राम्रो संयोग मिल्यो । ज्ञानेन्द्र शाह, हिमानीलगायत राजपरिवारका सदस्यसँग त्यसरी प्रत्यक्ष साक्षात्कार गर्ने मौका मिलेको थिएन ।

उहाँहरु चार-पाँच जना हुनुहुन्थ्यो, सुरक्षा गार्डसहित । जब उहाँहरु क्लबमा आउनुभयो, माहौल नै भिन्न भयो । हाम्रोलागि पनि त्यो अनपेक्षित जस्तै भइदियो । पूर्व राजपरिवारलाई आफ्नै आँखा अगाडि त्यसरी हेर्ने र बुझ्न पाइएको थिएन । त्यतीका भिडमा पनि उहाँहरु कति निस्फिक्री र निर्धक्क रमाइलो गर्नुभयो, जो चकित तुल्याउने खालको थियो । त्यसमाथि एलओडीमा नेपाली गीतहरु घन्काइएकाले माहौल अरु रमाइलो बनेको थियो ।

एलओडीमा आएका सबैसँग उहाँहरु सौहार्दपूर्ण ढंगले हेलमेल भइरहनुभएको थियो । न उहाँहरुलाई कुनै सुरक्षाको भय जस्तो देखिन्थ्यो न कुनै दम्भ नै । मिजासिला र मिलनसार देखिन्थे सबैजना । सर्वसाधारणसँग एकदमै खुलेर कुरा गर्ने, फोटो खिच्ने, नाच्ने गर्नुभयो ।

ज्ञानेन्द्र शाह, हिमानी दिज्यूलगायतले हामीलाई पनि विशेष टि्रट गर्नुभयो, कलाकार भनेर । मेरो त नामै लिएर भन्नुभयो, ‘केकी जी तपाईंको फिल्म हेरेको छु, राम्रो अभिनय गर्नुहुन्छ ।’ उहाँहरुले यसरी अपि्रसियट गरिदिँदा म त दंग परें ।

हामी उहाँहरु बसेकै नजिक बसेका थियौं । यद्यपि उहाँहरुले के खानुभयो भन्ने कुराचाहिँ ख्याल गरिएन । धेरै लामो समय बस्नु भएन पनि । एक/डेढ घण्टा रमाइलो गरेर त्यहाँबाट निस्किनुभयो ।

हामी एलओडीमा ‘कमेडी च्याम्पियन’का लागि लोकेसनको कुरा गर्न त्यहाँ पुगेका थियौं । त्यही मेलोमेसोमा केही क्षण रमाइलो गरेर हामी पनि बाहिरियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment