Comments Add Comment

सिद्धार्थ राणा : चर्चा नचाहने ठूला करदाता

बाबुको पदचिह्नमा हिँडेका सिद्धार्थको यस्तो छ सफलता रहस्य

१ मंसिर, काठमाडौं । आइतबार आयोजित कर दिवसको कार्यक्रममा सर्वाधिक आयकर तिर्ने करदाताको नाम घोषणा हुनु अगावै सहभागी सबैको दिमागमा आइसकेको थियो एउटा नाम– सिद्धार्थ शम्शेर राणा । नभन्दै उनले लगातार पाचौंपटक (हालसम्म छैटौंं) सर्वोत्कृष्ट व्यक्तिगत करदाताको सम्मान पाए ।

यद्यपि, कार्यक्रममा राणाको उपस्थिति भने थिएन । उनको तर्फबाट सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहाल सम्मान ग्रहण गरेका थिए । उनले तिरेको करको रकम सार्वजनिक गरिएको छैन ।

नेपालमा सर्वाधिक आयकर तिर्ने उद्योगीका रुपमा लगातार दोाहेरिएका सिद्धार्थको विषयमा धेरैलाई जिज्ञासा छ । किनकी उनी ‘लाइमलाइट’ बाट टाढा छन् । अरुबेला कतै नदेखिने/नसुनिने राणा कर दिवसका दिन मात्रै सञ्चारमाध्यममा छाउँछन् ।

उद्योगी–व्यवसायीहरु आफ्नो कारोबार लुकाउँछन्, कर छली गर्छन् र सकेसम्म राज्यलाई ढाँट्छन् भन्ने आम मान्यता छ । यस्तो मान्यतालाई व्यवहारबाटै गलत सावित गरिरहेका सिद्धार्थको स्पष्ट सन्देश हो, ‘कर तिर्नु नागरिकको दायित्व मात्र हौइन, गौरव पनि हो ।’

सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक समितिका निर्देशक सिद्धार्थ नेपालका नमूना करदाता भएको बताउँछन् आन्तरिक राजश्व विभागका एक अधिकारी ।
‘कर तिर्नु नै ठूलो कुरा हो भन्न त मिल्दैन,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘तर, ६ वर्षसम्म एउटै व्यक्ति उच्च आयकरदाता बन्नु सामान्य कुरा पनि हैन । राणा करदाताका लागि प्रेरणा र हामीजस्ता कर उठाउने निकायका लागि सम्मानका पात्र हुन् ।’

सिद्धार्थ जत्तिकै र कतिपय अवस्थामा उनीभन्दा सफल कहलिएका उद्योगी–व्यवसायी कर तिर्ने मामलामा चाहिँ निकै पछाडि छन् । सिद्धार्थले पनि सार्वजनिक रुपमा कर तिर्ने संस्कारबारे बोलेका छैनन् । निकटस्थका अनुसार सिद्धार्थले सर्वाधिक आयकारदाता बन्नुलाई नै ठूलो रुपमा लिएका पनि छैनन् । उनको एउटै सोच हो, राज्यलाई छल्नु हुँदैन र कमाईको अनुपातमा खुशीसाथ कर तिर्नुपर्छ ।

‘उहाँले कसैलाई उछिन्नकै लागि धेरै कर तिर्ने गरेको होइन,’ सिद्धार्थको तर्फबाट सम्मान ग्रहण गरेका सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहाल भन्छन्, ‘उहाँले आफ्नो दायित्व पूरा गर्नुभएको मात्र हो । पुरस्कार र चर्चामा उहाँलाई खासै विश्वास पनि छैन ।’

दाहालका अनुसार ६ पटक पुरस्कार पाएकोमध्ये १ पटक मात्रै सिद्धार्थ समारोहमा आफैं उपस्थित भएका थिए ।

बाबुको पदचापमा सिद्धार्थ

सिद्धार्थलाई आफ्नो दायित्व पूरा गर्ने प्रेरणा बाबुबाट प्राप्त भएको बताउँछन् उनका निकटस्थहरु ।

सिद्धार्थका बाबु प्रभाकर राणाले नेपालमा कुनै समय करको विवाद उत्कर्षमा पुग्दा सकारात्मक भूमिका खेलेका थिए । करका मामिलामा सबै व्यवसायीको सोच गलत हुन्न भन्ने सन्देश उनले दिएका थिए । गत वर्ष उनको निधन भयो । नेपालमा स्वच्छ व्यवसायका लागि उनी ‘पायोनियर’ नै मानिन्छन् । सिद्धार्थले पक्रिएको र हिँडेको मार्ग त्यही हो ।

जसरी बाबु प्रभाकर राज्यलाई तिर्नुपर्ने कर छल्नुहुन्न भन्ने मान्यता राख्थे, त्यही सोच, शैली र संस्कार बोकेर हिँडेका छन् सिद्धार्थले । उनको लगानी रहेको कम्पनी सूर्य नेपाल देशकै सफल कम्पनीको सूचीमा अग्रस्थानमा छ । त्यसैले सार्वाधिक कर तिर्ने कम्पनीका रुपमा पटक–पटक सम्मानित हुने गौरव उनलाई मिलेको हो ।

सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा पर्छ ।
सिद्धार्थले आफ्नो नेतृत्वमा चलिरहेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राख्न खोजेका छन् । यसमा उनले अड्चन भने नभोगेका होइनन् ।

तर, आफ्ना बाबुको विरासतलाई उनले ढल्न दिएका छैनन्, कम्पनीका कारोबारलाई पारदर्शी बनाउँदै स्वच्छ छविका साथ व्यवसायमा होमिएका कारण नै उनले लगातार राज्यबाट सम्मान थाप्न सेकेको उनको कम्पीमा प्रमुख कार्यकारी अधिकत रहेका शम्भु दाहाल बताउँछन् ।

सफल कम्पनीको नेतृत्व

सिद्धार्थले नेतृत्व गरेका कम्पनीहरु सफल पनि हुँदै आएका छन् । नेपालमा टाटा मोटर्सको आधिकारिक विक्रेता रहेको यो कम्पनीले विभिन्न अटो पार्ट्सको पनि विक्री वितरण गर्छ । राणाको कम्पनी सिप्रदीले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेको छ । सिप्रदी यातयात व्यवसायमा आउन चाहने धेरै नयाँ व्यवसायीलाई आफैंसँग डोर्‍याउने कम्पनीमा रुपमा परिचित छ ।

सिप्रदीमार्फत देशभर हजारौं यातायात व्यवसायी स्वरोजगार छन् । विशेषगरी वित्तीय अवस्था कमजोर रहेका व्यवसायीलाई पनि सिप्रदीमार्फत सहज वातावरण बनाएर गाडी किन्न हौस्याउँछन् उनी । सिद्धार्थकै नेतृत्वमा टाटा नेपालको एक नम्बरको अटो कम्पनीका रुपमा स्थापित भएको छ ।

यो कम्पनी वर्षैपिच्छे टाटाको उत्कृष्ट आधिकारिक विक्रेताका रुपमा पुरस्कार थाप्छ । वर्षमा ३५ अर्बभन्दा बढीको कारोबार गर्ने सिप्रदी व्यवसायिक सवारी साधनमा एक नम्बरमा छँदैछ, अब प्यासेन्जर कार सेगमेन्टमा पनि पहिलो बन्ने योजना लिएर हिँडेको छ । त्यसैले पनि सिद्धार्थले आम्दानीका मामिलामा अरुलाई उछिन्न सकेका छन् । सिप्रदी बजारले सम्भव हुने अवस्था भए देशभित्रै सवारीको एसेम्बल प्लान्ट राख्न चाहन्छ ।

सिद्धार्थ नेतृत्वको कम्पनीको लगानी सोल्टी होटलमा पनि छ । नेपालमा अतिविशिष्ट विदेशी पाहुना सोल्टीमै राखिनुले यो होटलको विश्वसनीयता र गुणस्तरलाई झल्काउँछ । असोज अन्तिममा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई सरकारले सोल्टीमै राखेर रात्रीभोजसमेत गरेको थियो ।

बाबुले स्थापना गरेको सोल्टीसहित होटल व्यवसायलाई विस्तार गर्न अहिले सिद्धार्थले जोडबल गरेका छन् । सोल्टी होटलको चेन नेपालगञ्जमा पनि खुलेको छ । काठमाडौंको रविभवनमा नयाँ पाँचतारे होटल सिद्धार्थकै नेतृत्वमा खुल्दैछ भने उनकै समूहले बर्दियामा लक्जरी रिसोर्ट सञ्चालन गर्ने तयारी गर्दैछ ।

पर्यटन क्षेत्रलाई पनि निकै माया गर्ने सिद्धार्थले आफ्ना कम्पनीभित्र कर्पोरेट वातावरण सिर्जना गरेका छन् । उनी कामदार र कर्मचारीको वृत्तिविकासमा ध्यान दिने गर्छन् । उनको कम्पनीमा तल्लो तहबाट प्रवेश गरेका कर्मचारीलाई पनि व्यवस्थापनसम्म पुग्ने ढोका खुल्ला हुन्छ ।

उनको बाबुको प्रयासमा खुलेको कम्पनीले प्रसिद्ध जोन प्लेयर ब्रान्डको कपडाको उत्पादन नेपालमै थालेको थियो । तर, राजनीतिक अस्थिरताका कारण उत्पन्न श्रम समस्याले कम्पनी बन्द हुन पुग्यो ।

विदेशी लगानीका माध्यमबाट विभिन्न विदेशी प्रविधिलाई नेपालमा ल्याउन उनको घराना सफल छ । विदेशी पुँजी र प्रविधि ल्याएर देशभित्रै रोजगारी सिर्जना गर्न यो राणा परिवारको ठूलो भूमिका छ । भोटेकोशी जलविद्युत आयोजनामा नेपालमा पहिलोपटक जलविद्युतमा प्रत्यक्ष विदेशी लगानी यही परिवारले भित्र्याएको थियो ।

पारदर्शिताको पक्ष

अहिले नेपालमा कामदार कर्मचारीलाई सर्वाधिक पारिश्रमिक भुक्तानी गर्नेमध्येमा सिद्धार्थका कम्पनीहरु पर्छन् । उनका कम्पनीहरुमा अनुभवी, विज्ञ तथा व्यवसायिक कर्मचारी र व्यवस्थापकहरु रहने गरेको र विना हस्तक्षेप सञ्चालन हुने गरेको निर्देशक दाहाल बताउँछन् ।

दाहाल २०४९ सालबाट यो घरानाको व्यवसायमा जोडिन आइपुगेका हुन् । भारतमा चाटर्ड एकाउन्टेन्टका रुपमा काम गरेर आएका दाहाललाई सिद्धार्थको परिवारको व्यवसायिक अभ्यास निकै मनपर्छ ।

‘कम्पनीहरुमा पारिवारिक हस्तक्षेप पटक्कै हुँदैन, उहाँको कम्पनीमा आउनेले सुरुमै पारदर्शी हुन सिक्नुपर्छ, कम्पनीको प्रणालीलाई आत्मसाथ गर्नुपर्छ,’ उनी भन्छन्, ‘उहाँका कम्पनीभित्र कुनै ट्याक्स प्लान गर्नुपर्दैन, जे हुन्छ त्यो परादर्शी रुपमा देखिन्छ ।’

सिद्धार्थले व्यवसायमा आउनुअघि बेलायतको बार्कलेज बैंक र नेपालको स्टान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए । पछि उनले बाबु प्रभाकरका व्यवसाय सम्हाले । नेतृत्वमा आएपछि पनि उनले बाबुुको आदर्शलाई छाडेनन् । ‘परिवार र व्यवसाय विल्कुलै फरक हुनुपर्छ’ भन्ने प्रभाकरको मान्यतालाई सिद्धार्थले पनि आत्मसाथ गरे ।

सिद्धार्थ सन् २००१ मा ३४ वर्षको उमेरमा वर्ल्ड इकोनोमिक फोरम, डावोसद्वारा ‘ग्लोबल लिडर फर टुमरो’ का रूपमा सम्मानित भएका थिए । उनी शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा पनि सक्रिय छन् । नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्छन् ।

निकटस्थका अनुसार उनी आफ्ना सहयोगबारे बाहिर जानकारी नगराउन आग्रह गर्छन् । भन्ने गर्छन् ‘सहयोग गर्ने हो, यस्तो गरेँ भनेर हल्ला गर्ने हैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment