Comments Add Comment

नेकपा शीर्ष नेताको ठहर : एनजीओ ब्राण्डको नागरिक समाज चाहिँदैन

१ मंसिर, काठमाडौं । कुनै बेला एक अर्काविरुद्ध सडक कब्जा गर्ने युवा संघ र वाईसीएलका नेताहरु आइतबार एउटै मञ्चमा एउटै ब्यानरमुनि थिए ।

नेकपा एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको एकता भेलामा उपस्थित थिए प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितका नेता ।

युवालाई उत्साहित पार्दै शीर्ष नेताले पार्टी र सरकार सञ्चालनमा नेतृत्व एकजुट रहेको सन्देश पनि दिए । उनीहरुले नेकपाको सरकारलाई बदनाम गर्ने नियोजित प्रयास भइरहेको भन्दै भ्रम चिर्न र नेतृत्वको प्रतिरक्षामा उत्रिन युवालाई आह्वान पनि गरे ।

उनीहरुले सरकारको आलोचना गर्नेलाई पुँजीवादी, ‘एनजीओ ब्रान्ड’को नागरिक समाज र पश्चिमा वा बुर्जुवा शक्तिको बिल्लासमेत भिराए । आगामी १४ मंसिरको उपचुनावलाई पार्टीको प्रतिष्ठासँग जोड्दै नेकपाको जनमत कमजोर बन्दैछ भन्नेहरुलाई जवाफ दिनुपर्ने समेत नेताहरुले बताए ।

३ जेठ २०७४ मा पार्टी एकीरकणको घोषणा गरेको नेकपाले तीन महिनामा एकताको सम्पूर्ण काम सक्ने घोषणा गरेका थिए । तर, एकीकरण प्रक्रिया अझै बाँकी छ । युवा संघ नेपाल भने नेकपामा सबैभन्दा पहिले एकता टुंग्याउने भातृसंगठन बन्न पुगेको छ । ‘करिब–करिब पार्टी एकीकरणको काम सकिएको छ’ भेलालाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलले भने ।

कमजोरी छन् भने भन्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारबाही, राष्ट्रियता, सीमा समस्या, आर्थिक, सामाजिक पक्षलाई विगत र वर्तमानसँग तुलनात्मक चर्चा गरे ।
‘युवाले देशको वर्तमान अवस्था थाहा पाउन जरुरी रहेको’ भन्दै आफ्नो भाषण सुरु गरेका ओलीले आफ्नो र सरकारको आलोचना गर्नेको पनि आलोचना गरे । भारतलाई नेपाली भूमि कालापानीमा राखिएको सुरक्षा फौज फिर्ता लैजान आग्रह गरे । सम्बोधनमा उनले एक घण्टा १३ मिनेट खर्चिए ।

सरकार र आफ्नो आलोचना गर्नेलाई ओलीको जवाफ छ– यहाँ दुई थरी आलोचना हुन्छन् । एउटा वैचारिक हिसाबले । जसमा सत्यता छैन । अर्को आत्मकेन्द्रित, स्वार्थी आलोचना भइरहेका छन् । जसलाई देश र जनताको चिन्ता छैन ।

प्रधानमन्त्री ओलीले ‘पुँजीवाद’ र नागरिक समाजको पनि आलोचना गरे । ‘अहिले पुँजीवाद लौरो टेकेर लरखराइरहेको छ । तैपनि फाईफुईं गर्न खोज्छ । पुँजीवाद निर्ममताको अर्को रुप हो’ ओलीले भने ।

उनले नागरिक समाजप्रति पनि कटाक्ष गरे । ‘हामीलाई समतामूलक समाज चाहिन्छ । जहाँ नागरिक समाज हुन्छ र स्वच्छ आलोचना गर्छ’, उनी भन्छन्, ‘हामीलाई एनजीओ ब्रान्डको नागरिक समाज चाहिदैन । दुइचार ‘चुच्चेबट्टे एनजीओ ब्रान्ड’को नागरिक समाज भनेको होइन ।’

प्रधानमन्त्रीले आलोचकहरुलाई चुनौती दिँदै भने, ‘म चुनौती दिन्छु, म माथि केही कमजोरी छन् भने भन्नुस् ।’

प्रधानमन्त्री ओलीले युवाहरुलाई सिर्जनात्मक काममा लाग्न र उत्पादन बढाउनेतिर ध्यान दिन पटक–पटक आग्रह गरे । ‘हिजो आर्थिक हिसाबले विपन्न थियौं । तर, अहिले अर्थतन्त्र आत्मविश्वासका साथ अगाडि बढेको छ । तथापि, हामीसँग पैसा र प्रविधिको कमी छ’ ओलीले भने ‘त्यसलाई पूर्ति गर्ने तिर हामी लागिरहेका छौं ।’

अध्यक्ष ओलीले निष्ठावान भएर राजनीति गर्न नेता/कार्यकर्तालाई सुझाव दिए । ‘अनुचित सम्पत्ति आर्जन गर्नेतिर नलाग्नुस् । अहिले बचियो भनेर हुन्न हामीले १२ बर्षअघिको केस पनि निकालेका छौं ।’

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा कांग्रेस सांसद मोहम्मद आफताब आलम कारागार चलान भएका छन् । यही घटनातर्फ संकेत गर्दै उनले नेता/कार्यक्रतालाई निस्ष्ठावान हुन भनेका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड र आफ्नो मित्रता देखेर दुनियाँनै अचम्मित भएको पनि उल्लेख गरे । आफुहरुबीचको मित्रताले ‘दो शेर एक हि जंगल मे नही रह सक्ते’, भन्ने हिन्दी उखानको पनि अन्त्य गरेको उनको भनाइ छ । ओली भन्छन्, ‘अब बडे बडे दो शेर एक ही जंगलमै रह सक्ते हे ।’

चारैतिर घेराबन्दी छ : प्रचण्ड

पार्टीका अर्का अध्यक्ष प्रचण्डले एकता भएकै दिनदेखि नेकपाविरुद्ध षडयन्त्र सुरु भएको बताए । नेतृत्वमा फाटो ल्याउने, नियोजित भ्रम छर्ने काम भइरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने ‘नेकपाविरुद्ध चारैतिर घेराबन्दी छ । विश्व अर्कैको हातमा छ । चाहे पश्चिमा भन्नुस् वा बुर्जुवाहरु हामीभित्र भ्रम, अहंकार पैदा गर्न अनेकन हतकण्डाहरु अपनाइरहेका छन् ।

पार्टीभित्र अझै पनि पार्टी एकता नभएको भएर अवसर पाइन्थ्यो कि भनेर एकताको विरोधमा बोल्ने नेता/कार्यकर्ताहरु रहेको उनले बताए ।

प्रचण्डले भने–आफ्नो आफ्नैमा फर्किए एकताको मर्म पुरा हुँदैन । हामीबीच एकता भएको थिएन भने कुनै पनि पार्टीको बहुमत पनि आउने थिएन । ७० बर्षदेखि जो चलिरहेको अस्थिरता त्यही हुन्थ्यो र अहिलेको जस्तो केन्द्रमा दुई तिहाइको सरकार, प्रदेश र स्थानीय तहका सरकार बनाउने अवसर प्राप्त हुने थिएन ।

अध्यक्ष प्रचण्डले सबै कम्युनिस्ट आन्दोलनलाई सम्बोधन गर्दै नेकपाको अन्तरिम राजनीतिक सिद्धान्त तयार भएको भन्दै यसलाई थप परिमार्जन गर्दै जान सकिने बताए । त्यस क्रममा उनले तत्कालीन एमाले महासचिव मदन भण्डारीको र आफ्नो भूमिकालाई पनि राजनीतिक सिद्धान्तले समेटेको बताए ।

‘राजनीतिक सिद्धान्तले मदन भण्डारीलाई इन्कार गरेको छैन । उहाँले प्रतिपादन गरेको जबजलाई इन्कार गरेको छैन । तत्कालीन माओवादीले गरेको सशस्त्र जनयुद्धलाई पनि इन्कार गरेको छैन । प्रचण्डको भूमिकालाई पनि निषेध गरेको छैन’ उनले भने ।

कार्यक्रममा महासचिव महासचिव पौडेलले पार्टी एकीकरणमा मात्रै केन्द्रित रहेर आफ्नो धारणा राखे । पार्टी एकतामा बिलम्ब भएको स्वीकार गर्दै उनले भने, ‘करिब–करिब पार्टी एकीकरणको काम सकिएको छ ।’

अध्यक्षद्वयलाई सम्मान

राष्ट्रिय भेलामा पार्टीका दुवै अध्यक्ष ओली र प्रचण्ड सम्मानित भएका छन् । राष्ट्रिय युवा संघ नेपालले ओली र प्रचण्डलाई पूर्वअध्यक्षका रुपमा सम्मानित गरेको हो ।

यस्तै, कार्याक्रममा, तत्कालीन नेकपा एमाले निकट युवा संघ र तत्कालीन नेकपा माओवादी केन्द्र निकट वाईसीएलका पूर्वअध्यक्षहरूलाई पनि सम्मान गरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीलाई युवा संघका संयोजक रामप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गरे । अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सम्मानपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment