Comments Add Comment

पत्रकार भेला पारेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सम्हाले कार्यभार

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस संगठन र सम्वद्ध बिटमा काम गर्ने पत्रकार भेला गरेर आफ्नो कार्यभार सम्हालेका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा अनौपचारिक कार्यक्रमबीच थापाले औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी लिएका हुन् ।

थापालाई मन्त्रिपरिषदको शुक्रवारको बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको थियो । उनले प्रेस सल्लाहकारको काम सरकारको विरुद्धको प्रोपोगाण्डाको खण्डन गर्ने भन्दा पनि कामका आधारमा सरकार र प्रधानमन्त्रीलाई जनताबीच जस्ताको तस्तै प्रस्तुत गर्नु रहेको बताए ।

उनले प्रेस सल्लाहकारको जिम्मेवारीको सीमाभित्र रहेर आफूले मिडियामा सही र तथ्यपरक सूचना प्रवाह गर्न प्रभावकारी संयन्त्र निर्माण गर्ने बताए । यसअघि कुनै कमजोरी भएका रहेछन् भने सुधार गर्दै जनताबीच सत्य तथ्य र यथार्थ जानकारी मिडियामार्फत प्रवाह गर्न आफू सबैसँग सहकार्यका लागि इच्छुक रहेको बताए ।

उनले सञ्चारकर्मीलाई अनुमान, हल्ला र आरोप भन्दा पनि सत्य, तथ्यमा आधारित रहेर व्यवसायिक धर्म निर्वाह गर्न आग्रह गर्दै त्यसका लागि सही सूचना दिन आफू तत्पर रहेको समेत बताए । चाँडो हुन खोज्दा गलत सूचना प्रवाह हुनुभन्दा पुष्टि गरेरमात्र समाचार प्रकाशन प्रसारण गर्दा पत्रकारकै विश्वसनीयता कायम हुने उनले बताए ।

आफू पत्रकारिता गरेरै आएको हुनाले पत्रकार र सञ्चारमाध्यमका प्राथमिकताको बारेमा अवगत रहेको भन्दै उनले सरकार र विशेषतः प्रधानमन्त्री कार्यालय तथा मिडियाबीच सूचना प्रवाहमा सहज पहुँचको व्यवस्था मिलाउने आश्वासनसमेत दिए ।

नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका थापा दोस्रोपटक प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारीमा आएका हुन् । यसअघि उनी २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए ।

नेपाल पत्रकार महासंघको नेतृत्व तहमा रहिसकेका थापा तत्कालिन एमालेको केन्द्रीय राजनीतिमा गएपछि सक्रिय पत्रकारिताबाट अलग भएका थिए । उनी पछिल्लो समय विभिन्न सञ्चार माध्यममा स्तम्भकारको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment