Comments Add Comment

वीरगञ्जको नेशनल मेडिकल कलेजमा सधैं लफडा

६ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस पढ्दै गरेका १८ औं ब्याचका विद्यार्थीहरु कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै आन्दोलन गरिरहेका छन् ।

सरकारले कलेजलाई शुल्क फिर्ता गर्न दिएको १५ दिने अल्टिमेटमको चार दिन बाँकी रहँदा उनीहरु बिहीबार फेरि आन्दोलनमा उत्रिए ।

कलेज अगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर’, कलेज प्रशासन किन मौन ? सरकारले तोकेको समय बित्न ४ दिन बाँकी’ नारा लेखेको प्लेकार्ड बोकेर  उनीहरु धर्नामा बसेका थिए ।

दिउँसो २ बजेदेखि साँझ ५ बजे बसेका विद्यार्थीहरु धर्ना सकिएपछि कलेजभित्र जान पाएनन् । नेशनल मेडिकल कलेजमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका धनबहादुर तामाङ राति ९ बजेसम्मपछि मात्रै ढोका खुलेको बताउँछन् । ‘शान्तिपूर्ण धर्ना सकेपछि गेट बन्द गरेर हामीलाई भित्र जान दिइएन । पछि प्रहरीले दवाव दिएपछि मात्रै ढोका खोलियो’ तामाङले भने ‘समस्या समाधान गर्नुको साटो कलेज व्यवस्थापनले सिनियरलाई उचालेर बाहिरका मान्छे समेत ल्याएर हामी विरुद्ध प्रयोग गरेको हामीलाई आशंका छ ।’

कलेज व्यवस्थापनले भने विद्यार्थीको परीक्षा विथोल्न खोजेकाले रोकेको प्रतिक्रिया दिएको छ ।

‘सिनियरको परीक्षा विथोल्न खोजेका छैनौं’

चिकित्सा शिक्षा संघर्ष समितिको आह्वानमा नेशनल मेडिकल कलेज १८ औं व्याचका प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । कलेजमा चलेको आन्दोलनमा प्रथम वर्षका विद्यार्थीहरु मात्रै संग्लग्न छन् । परीक्षा नजिकिदै जाँदा आन्दोलन गर्दा पढाई र परीक्षामा असर परेको भन्दै केही सिनियर विद्यार्थी असन्तुष्ट छन्।

वीरगञ्जमा आन्दोलनरत विद्यार्थीले सिनियरको परीक्षा विथोल्ने भनेका छैनन् । तर उनीहरुले आन्दोलन गर्दा पढाई र परीक्षा दुवैमा असर पर्ने सिनियरको बुझाइ छ ।

तर, आन्दोलनरत विद्यार्थीले मंसिर ३ गते जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माग पूरा भएको एक महिनापछि मात्रै त्रिवि अन्तर्गत शैक्षिक कार्यक्रममा सहभागी हुने उल्लेख गरिएको थियो । नेशनल मेडिकल कलेज, वीरगञ्ज (प्रथम वर्ष), चितवन मेडिकल कलेज, चितवन र युनिभर्सल मेडिकल कलेज, भैरहवाका आन्दोलनरत विद्यार्थीले संयुक्त विज्ञप्ति निकालेका थिए ।

‘पहिलो वर्षका विद्यार्थी मात्रै आन्दोलनमा छौं, हामीले माग पूरा नभएसम्म परीक्षा दिन्नौं भनेका हौं’ विद्यार्थी तामाङले भने ‘सिनियर दाई दिदीहरुको परीक्षा विथोल्ने हाम्रो कुनै योजना छैन ।’

प्रशासन भन्छ :  विद्यार्थी उचालिएका छन्

नेशनल मेडिकल कलेजमा विद्यार्थी आन्दोलनलाई लिएर लफडा नै हुने गरेको छ । कलेज व्यवस्थापनले आन्दोलनरत विद्यार्थी हुन वा सिनियर कसैलाई पनि सम्झाउन सकेको छैन। कलेज प्रशासनले नै सिनियर विद्यार्थीलाई उचालेको आरोप लाग्दै आएको छ ।

माथिबाटै निदेर्शन आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले ‘शुल्क विवाद’ बारे अध्ययन गरेको छ । कलेजले विद्यार्थीसँग ५ देखि ७ लाखसम्म अतिरिक्त शुल्क लिएको ठहर प्रशासनको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विद्यार्थीलाई विभिन्न पक्षले उचाल्ने काम गरेको बताए ।

‘सरकारले तोके भन्दा बढी लिएको शुल्क जतिसिक्दो छिटो फिर्ता गर्नु भनी कलेज प्रशासनलाई हामीले पत्राचार गरिसकेका छौं’ उनले भने ‘आन्दोलनरत विद्यार्थी र सिनियर विद्यार्थी दुवैलाई कसैले उचालिरहेका छन् । पढाईको समय फर्कदैन, विद्यार्थीले ढिपी छोडेर त्यसैमा ध्यान दिनुपर्छ ।’

सरकारको निर्णय कार्यान्वयन गराउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै प्रजिअ भट्टराईले कलेज प्रशासनलाई पनि विद्यार्थीलाई अनुशासनमा राख्न भनिसकेको बताए ।

आन्दोलनले परीक्षाा प्रभावित : बसरुद्धिन

कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी जुनियर विद्यार्थीको आन्दोलनका कारण परीक्षा ढिलो भइरहेको बताउँछन् । विद्यार्थीको आन्दोलनको कारण अरु पढ्ने विद्यार्थीलाई हानी भएको उनको आरोप छ। भन्छन्, ‘सिनियरहरले आन्दोलनको कारण होष्टलमा पढ्ने वातावरण नभएको भन्दै गुनासो गरेका छन्।’

जुनियर विद्यार्थीहरुले कुरा नमानेकोले सिनियरले पनि नमानेको उनको तर्क छ ।

अन्सारी त्रिुभुवन विश्वविद्यालयले गर्ने निर्णय पर्खेर बसेका छन्  ‘घाटा लागेपछि सरकारले वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरेको होइन र ? घाटा खाएर कलेज चलाउन सकिदैन । बरु अस्पताल चलाएर बस्छु’ उनले भने ‘त्रिविसँग कलेज सञ्चालकको बैठक भइसकेको छ । अब निर्णय पर्खेर बसेका छौं। युनिभर्सिटीले कलेज नचलाउ भन्छ भने चलाउँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment