Comments Add Comment

प्रचण्डलाई पेस्तोल उपहार दिने मन्त्री !

५ मंसिर, काठमाडौं । आजभन्दा ३८ वर्ष पहिले प्रचण्डले आफ्ना कार्यकर्ताबाट उपहारस्वरुप एउटा पेस्तोल पाएका थिए । तिनै कार्यकर्ता अहिले प्रचण्डको सदभाव पाएर मन्त्री बन्न पुगेका छन् ।

भारतको गोरखपुरमा ०३८ सालमा युवक संगठनको भेला हुँदै थियो । संगठनका केन्द्रीय अध्यक्ष थिए प्रचण्ड ।

भेलामा केन्द्रीय सदस्य लेखराज भट्टले प्रचण्डलाई ‘जनयुद्धको सफलताका लागि’ एउटा पेस्तोल उपहार दिए । र, त्यहीबेलादेखि प्रचण्ड र लेखराजवीच बढेको आत्मीयता अहिलेसम्म टुटेको छैन ।

प्रचण्डको विश्वासपात्र मानिने भट्ट तेस्रोपटक मन्त्री बनेका छन् । केपी शर्मा ओली नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषदमा पनि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ ।

विसं. ०१६ सालमा डोटीको सम्पन्न परिवारमा जन्मिएका र २०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका भट्टसँग यसअघि श्रम मन्त्री र वाणिज्य तथा आपूर्ति मन्त्री बनेको अनुभव छ ।

यो पनि पढ्नुहोस उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउँछु : मन्त्री लेखराज भट्ट

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा लेखराजलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका थिए । ०५१ सालमा बागबजारको भित्तोकाण्डमा डा. बाबुराम भट्टराईमाथिको आक्रमण योजना विफल पारेको श्रेय पाउने गरेका लेखराजलाई डा. भट्टराईले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिएका थिए ।

कैलाली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र (आईए) पास गरेका भट्टले भारतको कानपुर विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक पास गरेका छन् ।

बुवा दशरथले कांग्रेसको राजनीति गरे पनि लेखराज भने भीमदत्त पन्तको किसान आन्दोलनबाट प्रभावित हुँदै कम्युनिष्ट नेता बनेर उदाए । खान लाउन नपुग्ने गरिबहरु मात्र कम्युनिष्ट हुन्छन् भन्ने सोच राख्नेहरुले लेखराजलाई ‘सामन्त कम्युनिष्ट’ भन्ने गर्थे ।

कम्युनिष्ट पार्टीको सदस्यता ०२३ सालमा लिएका लेखराजले शाही परिवार धीरेन्द्रको लगानी रहेको भनिने कैलालीको लक्ष्मीपत्ता उद्योगमा मजदुर आन्दोलनको नेतृत्व गरे ।

लेखराज ०५२ सालदेखि प्रचण्ड नेतृत्वको जनयुद्धमा पूर्णकालीन रुपमा लागे । ०५७ सालमा उनी तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बने । जनयुद्धको समयमा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पश्चिम व्युरो इञ्चार्ज हुँदा लेखराज त्यसको कार्यालय सचिव थिए ।

उनी ०५४ सालमा फुन्टिवाङ बैठकपछि सेती-महाकाली व्युरो इञ्चार्ज र ०६० सालमा माओवादीको सेती-महाकाली जनसरकार प्रमुख पनि बने । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको हाल उनी स्थायी समिति सदस्य र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज छन् ।

भट्ट ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट र ०७४ सालमा प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भए ।

आर्थिकरूपमा खासै विवादमा नपरे पनि भट्टको सचिवालयमा काम गरेका व्यक्ति भने आलोचित रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment