
६ मंसिर, धरान । डेढ वर्षयता प्रमुखविहीन अवस्थामा रहेको धरान उपमहानगरपालिकाले एक सातापछि अभिभावक पाउँदैछ । मेयर तारा सुब्बाको निधन भएपछि नेतृत्वविहीन बनेको धरानमा मेयर र एकजना वडाध्यक्षका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा भावी नतिजाको जोडघटाउ पनि सुरु भएको छ ।
चुनावी मैदानमा नेकपाका प्रकाश राई र कांग्रेसका तिलक राईसँगै २३ जना छन् । १२ जना दलका र ११ जना स्वतन्त्र उम्मदेवारहरु चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धी भने कांग्रेस र नेकपा नै भएको रहेको दाबी गर्छन् महेन्द्र क्याम्पस धरानका सहप्राध्यापक एवं राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा ।
विश्लेषक शर्मा धरानका स्थायी बासिन्दा हुन् । उनले धेरैपटक यहाँको चुनावलाई हेरेका छन् । यसपटकको उपनिर्वाचनमा दुईतिहाई बहुमत प्राप्त सरकारसँग वितृष्णा भए पनि कांग्रेसप्रति आर्कषण नरहेकाले मतदाताहरुमा उत्साह नदेखिएको उनको विश्लेषण छ ।
आसन्न उपनिर्वाचनबारे डा. शर्माले यस्तो विश्लेषण सुनाए–
दुई तिहाईको बहुमत सरकार बनेपछि जनतामा अपेक्षा ठूलो थियो । तर, यो अवधिमा जनताको विश्वास जित्ने काम एकदमै न्यूनमत भए । सरकारले विकासको नेतृत्व लिन सकेन । जनतामा वितृष्णा पलाएको छ ।
अन्तराष्ट्रिय सम्बन्धमा चीनसँग विश्वास बढे पनि भारतसँग तिक्तताको अवस्था छ । चौतर्फी रुपमा सरकारप्रतिको विश्वास खस्किएको अवस्थामा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । अवसर हुँदा पनि काम नगरेका कारण नेकपाको भोट घट्ने निश्चित छ । तर, धरानको इतिहास भने अलि फरक छ ।
विसं २०१५ को निर्वाचनमा धरानसँग इटहरी, दुहबी र इनरुवासमेत जोडिएका कारण कांग्रेसले जितेको थियो । तर, २०१७ साल यताका चुनावमा वामपन्थी वा वामपन्थी पक्षधरले मात्र जितेको इतिहास छ ।
यहाँका कम्युनिष्ट मतदातामा इमान्दारिता देखिन्छ । वामपन्थीको कामबाट होइन, कम्युनिष्ट मतदाता इमान्दार भएका कारण वामपन्थीहरुले जित्दै आएका हुन् । विगतमा मतदाताको इमान्दारिताको फाइदा वामपन्थी दलहरुले उठाउँदै आएका छन् । गत निर्वाचनमा पनि त्यही इमान्दारिताको बलमा तत्कालीन एमालेका तारा सुब्बाले मेयरको चुनाव जिते ।
तत्कालीन एमाले र माओवादीले गत स्थानीय तह निर्वाचनमा ल्याएको भोट जोड्दा ३२ हजार हाराहारी हुन्छ । कांग्रेस एक्लैले १६ हजार ल्याएको छ । यो पटक १३ हजार मतदाता थपिएका छन् । ४–५ हजार मतदाता धरानभन्दा बाहिर छन् ।
गत चुनावमा ५३ हजार हाराहारी मत खसेको थियो । तर, त्यो अनुपातमा यो पटक मत खस्ने अवस्था छैन । यसपालि ४५÷५० हजारको बीचमा भोट खस्दा दुई दलबीच तीब्र प्रतिस्पर्धा हुन्छ ।
सरसर्ती हेर्दा गणितीय हिसाबमा बामपन्थी बलियो देखिन्छ ।
दुई पार्टी एक हुँदा फाइदा नेकपालाई छ । तर, पार्टी एकीकरण हुँदा असन्तुष्टि पनि छ । सरकारको कामका कारण नेकपाप्रति वितृष्णा छ ।
तर, कांग्रेसलाई भोट दिनुपर्ने कारण के ? कांग्रेसँगको आकर्षण के छ ? नेकपाप्रतिको वितृष्णा र कांग्रेसप्रति आकर्षण नभए पनि मतदातालाई भरपर्दाे अर्काे विकल्प आएको छैन ।
पहिचानको आन्दोलन गरिरहेका दलहरुले केही मत ल्याउँछन् । तर, मूलभूत प्रतिस्पर्धा कांग्रेस र नेकपाको हो ।
अर्काे पक्ष, धरान शिक्षित भए पनि मतदाताको ट्रेन्ड पुरानै छ । सहरी मतदातामा माहौल हेरेर भोट हाल्ने परम्परा छ । तर, धरानमा यस्तो टे«न्ड विकास भएको छैन ।
काठमाडौंमा रविन्द्र मिश्रहरुले मत ल्याउनु शिक्षित सहरको ट्रेन्ड हो । तर, धरान शिक्षित भएर पनि ग्रामीण शैली अपनाइन्छ । यहाँ पार्टी हेरेर भोट हाल्ने परम्परा छ, एजेण्डा हेरेर भोट हाल्ने प्रवृत्ति विकास हुन बाँकी छ ।
प्रतिक्रिया 4