
१६ भदौ, काठमाडौं । रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मदेवार छनोटको तयारी सुरु गरिसकेको छैन । संसद्को चौथो दल रास्वपाले प्रतिस्पर्धी तय गरिसकेको छ । उपनिर्वाचनको उम्मेदवारका लागि अन्य दलले उम्मेदवार छनोटको तयारी सुरु गरेका छन् ।
कांग्रेस : केन्द्रको पत्रको प्रतीक्षामा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक उपनिर्वाचन केन्द्रित कार्यका लागि रुपन्देही–३ पुगे पनि उम्मेदवारको विषय उठान नै गरेका छैनन् ।
पार्टीभित्र गुटगत समस्या समाधान गर्न र बिच्किएका नेता–कार्यकर्ता मनाउने उद्देश्यले महामन्त्री शर्मा दुईपटक भैरहवा पुगेका थिए ।
कांग्रेसको विधान अनुसार केन्द्रले आकांक्षीहरुमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न क्षेत्रलाई परिपत्र गर्ने व्यवस्था छ ।
हालसम्म कांग्रेसले आकांक्षीहरुको नाम सिफारिस गर्न परिपत्र गरेको छैन । रुपन्देही–३ का कांग्रेस सभापति सुशील गुरुङले केन्द्रको पत्रको प्रतीक्षा गरेको जानकारी गराए । उनले भने, ‘केन्द्रको पत्र आएपछि सर्वसम्मत गरेर नाम पठाउने प्रयास गर्नेछौं ।’
कांग्रेसबाट गत निर्वाचनमा पराजित बालकृष्ण खाँणले हालसम्म उम्मेदवारको इच्छा सार्वजनिक रूपमा व्यक्त गरेका छैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा विचाराधीन अवस्थामा रहेकाले खाँणले इच्छा व्यक्त नगरेको कांग्रेसका नेताहरुले जानकारी गराएका छन् ।
यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार हुन इच्छा राख्नेहरुमा रामचन्द्र ढकाल, सुशील गुरुङ, रमेश खनाल लगायत छन् । ढकाल रुपन्देहीका पूर्व सभापति हुन् भने गत निर्वाचनमा प्रदेश सभामा पराजित भएका थिए ।
गुरुङ क्षेत्रीय सभापति हुन् भने खनाल लुम्बिनी प्रदेश समिति सदस्य हुन् । ढकाल र गुरुङ नेता खाँण निकटका हुन् । खनाल संस्थापनइतरका हुन् ।
गत निर्वाचनमा रुपन्देही–४ र ५ मा पराजित क्रमशः प्रमोद यादव र भरत शाहको पनि आकांक्षीका रुपमा नाम चर्चामा छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार असोजको पहिलो सातासम्म पार्टीले उम्मेदवारको टुंगो लगाउने छ ।
एमाले : चार जनाको नाम सिफारिस
गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन गरेको नेकपा एमालेले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार साउनको अन्तिम साता चार जनाको नाम सिफारिस गरिएको छ ।
पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र नेता यज्ञजित शाहको नाम सिफारिस गरिएको छ ।
गत निर्वाचनमा रुपन्देही–५ को उम्मदेवार हुनका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका उनले टिकट भने पाउन सकेका थिएनन् । भट्टराई रुपन्देही–५ निवासी हुन् ।
माओवादी : हेडक्वार्टरको निर्णय पर्खिंदै
प्रतिनिधिसभाको तेस्रो शक्ति माओवादी केन्द्रले आफ्नै उम्मदेवार बनाउने बताए पनि नाम छनोट गर्ने प्रक्रिया भने सुरु गरेको छैन । गत दुई निर्वाचनमा माओवादी केन्द्रले यस क्षेत्रमा आफ्नो उम्मदेवार उठाएको थिएन । माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलका उम्मदेवारलाई समर्थन नगर्ने बताए ।
गत दुई निर्वाचनमा माओवादी केन्द्रका मतदाताले हँसिया हथौडामा मत दिन नपाएको उल्लेख गर्दै जिसीले अनलाइनखबरसँग भने, ‘हँसिया हथौडामा नै मत दिन पाउनुपर्ने कुरा केन्द्रलाई भनेका छौं ।’ जिल्लाका नेताहरुको आशय बुझेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अन्य दलको साथ नलिई एक्लै लड्न तयारी गर्न निर्देशन दिएका छन् ।
आइतबार बुटवलमा भएको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकमा भने, ‘एक्लै लड्ने हो । रुपन्देहीमा पहिलेभन्दा राम्रो परिणाम ल्याउँछौं ।’ माओवादीको रुपन्देही जिल्ला कमिटीले फैज अहमद खान, मनिषकुमार जोशी, सोनिया यादव र तीरबहादुर रोकामगरको नाम केन्द्रमा सिफारिस गरेको छ ।
रास्वपा : डा. लेखजंग थापा उम्मेदवार तय
दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार चयनमा अन्यलाई उछिनेको छ । प्रारम्भिक मतदानका लागि चयन भएका आकांक्षी ९ जनामा डा. लेखजंग थापालाई उम्मेदवार बनाइएको छ ।
प्रारम्भिक मतदान र सचिवालयका लागि तय गरिएको मतभारको आधारमा थापालाई चयन गरिएको रास्वपाले जानकारी गराएको छ । रुपन्देही–३ मा प्रारम्भिक मतदानलाई पाइलट प्रोजेक्टका रुपमा प्रयोग गर्ने विधि बनाएको सहमहामन्त्री एवं रुपन्देही इञ्चार्ज विपिनकुमार आचार्यले जानकारी गराए ।
रास्वपा स्रोतका अनुसार प्रारम्भिक मतदानमा सबैभन्दा बढी मत ज्ञानु पौडेलले ल्याएकी थिइन् । सहकारी अभियन्ता एवं महिला सशक्तीकरणका क्षेत्रमा काम गरेकी पौडेल स्थानीय रुपमा घुलमिल भएकी व्यक्ति हुन् । उम्मेदवार चयन गर्ने क्रममा डा. थापाले खेलेको भूमिकालाई लिएर अन्य आठ जनाले उजुरी समेत पार्टी केन्द्रमा दिएका थिए ।
त्यस उजुरी उपर पार्टीले छानबिन नगरिकन थापालाई उम्मेदवार चयन गरेको छ । डाक्टर थापा २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिकतर्फको उम्मेदवारको सूचीमा थिए ।
वरिष्ठ न्यूरोलोजिस्ट डाक्टर थापाले आकांक्षीहरु सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याललाई पछि पारेर उम्मेदवार बने ।
राप्रपा : दीपक बोहोराका परिवारका तीनसहित ४ जना सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकांक्षी चार जना बीचमा सहमति गराएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएर आकांक्षी चार जनाले सहमति गरेका हुन् ।
स्वाति थापा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र बसन्तविक्रम शाहीले आफूहरू मध्ये जोसुकै उम्मेदवार बने पनि सहयोग गर्ने सहमति गरेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी गराए । यस क्षेत्रमा गत निर्वाचनमा एमालेको सहयोगमा राप्रपाका उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए । बोहराको निधनले उपनिर्वाचन हुन लागेको हो ।
राप्रपाबाट आकांक्षी चारमध्ये शाही बाहेक अन्य एउटै परिवारका सदस्य हुन् । २०७९ सालमा निर्वाचित दीपक बोहराका परिवारका तीन सदस्य स्वाति थापा, गौरव बोहरा, प्रज्ज्वल बोहरा सहित शाहीको नाम केन्द्रमा सिफारिस भएको छ ।
नेकपा (एकीकृत समाजवादी) : महासचिव घनश्याम भूसाल सहित ७ जनाको सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट उम्मेदवार हुनका लागि सात जनाको नाम सिफारिस गरिएको छ । एकीकृत समाजवादीको रुपन्देन्ही कमिटीको बैठकले महासचिव घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।
लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको छ ।
जनमत पार्टी : धनिराम चौधरीलाई बनाउने तयारी
मधेश केन्द्रित सात दलबाट अलग रहेर जनमतले छुट्टै उम्मेदवार उठाउने भएको छ । रुपन्देही–१ मा गत निर्वाचनमा पराजित भएका धनिराम चौधरीलाई जनमतमा भित्र्याएर रुपन्देही–३ मा उम्मेदवार बनाउन लागिएको छ ।
भदौ ८ मा भैरहवा पुगेर जनमत अध्यक्ष डा. सीके राउतले नाउपाका नेता धनिरामलाई पार्टीमा प्रवेश गराएका हुन् । जनमत प्रवक्ता डा. शरदसिंह यादवले उम्मेदवार बनाउनकै लागि धनिरामलाई पार्टी प्रवेश गराइएको जानकारी गराए । उनले भने, ‘हाम्रो दलबाट धनिराम चौधरी निश्चित जस्तै हो ।’ गत निर्वाचनमा नाउपाबाट रुपन्देही–१ को उम्मेदवार बनेका धनिरामले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए ।
नाउपा : रेशम-रञ्जिताको विवादले स्वतन्त्र उठाउने तयारी
प्रतिनिधिसभाको अर्को दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रुपन्देही–३ को उपनिर्वाचन नजिकिंदै गर्दा थप आन्तरिक विवादमा फसेको छ । संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको विवादले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने अवस्थामा नाउपा पुगेको छ ।
आन्तरिक विवादले दल दर्ता हुन नसकेपछि स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरिएको छ । पार्टी संरक्षक रेशमले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरे पनि अर्को पक्षले समर्थन गर्ने/नगर्ने खुलेको छैन ।
नाउपाका तर्फबाट स्वतन्त्र उम्मेदवारमा डा.सरोजसिंह चौधरी र डा.उमाशंकर चौधरीको नाम चर्चामा आएको छ । पेशाले चिकित्सक सरोजसिंह लुम्बिनीका कार्यवाहक अध्यक्ष हुन् । उमाशंकर थारू आयोगका पूर्व सदस्य हुन् ।
नाउपा संरक्षक रेशमले अघि सार्ने स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाले निर्णय गरेको छ । मोर्चाका एक नेताका अनुसार उनीहरुको जोड उमाशंकरलाई छ । उमाशंकर नवलपरासी निवासी हुन् ।
रुपन्देहीका नाउपा अध्यक्ष तुलसी चौधरीले नाउपाका दुवै पक्षबाट एउटै नाममा सहमति जुट्ने दाबी गरे । उनले भने, ‘केन्द्रीय समितिको बैठकमा चुनावको बारेमा पनि कुरा हुन्छ । पार्टीको निर्देशन अनुसार जिल्ला सम्मेलन गरेर उम्मेदवार बनाउँछौं ।’
अध्यक्ष रञ्जिताले हिजो र आज बोलाएको केन्द्रीय समिति बैठकमा रेशम पक्ष अनुपस्थित रहेको छ । रञ्जिता पक्षका केन्द्रीय सदस्य दामोदर पण्डितले नाम सिफारिस गर्न तल्लो तहका कमिटीलाई निर्देशन दिएको जानकारी गराए ।
उपचुनावका लागि सन्तोष गिरी, किरण विक, लेखनाथ गैरे, अजयकुमार गुप्ता लगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटिसकेका छन् ।
प्रतिक्रिया 4