+
+
Shares

एमालेले भन्यो– भदौ १५ भित्र उपनिर्वाचनको उम्मेदवार सिफारिस गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते ९:१२

१५ साउन, काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई भनेको छ ।

आगामी कात्तिक १७ गते हुने तय भएको उपनिर्वाचनका लागि एमालेले भदौ १५ गतेभित्र सम्भावित उम्मेदवार सिफारिस गरिसक्न भनेको हो ।

महासचिव शंकर पोखरेलले निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवाररको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई भनेको एमाले केन्द्रीय कार्यालयका प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेद्वार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेद्वार सिफारिसका लागि जानकारी गराउनेछ ।

केन्द्रीय कार्यालय प्रमुख डा.अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ भित्र उम्मेद्वारको नाम पठाइसक्न भनिएको हो ।

मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?