
५ मंसिर, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ मा वडाध्यक्षका लागि उपचुनाव हुँदैछ ।
उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । उनीहरुले निर्वाचन आचारसहित विपरीत भोज भतेर र प्रचारप्रसार सुरु गरेपछि प्रहरी प्रशासनले त्यसलाई बिथोलेको छ ।
उपचुनाव आचारसंहिता अनुगमन समितिले अनुगमनका क्रममा त्यस्तो गतिविधि भएको पाएपछि रोकेको हो ।
अचारसंहिता विपरीत पम्पलेट, व्यानर, झण्डा लगाएको पाइएपछि हटाउन लगाइएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । त्यस्तै बुधबार राति समाजवादी पार्टी नेपालको तर्फबाट राखिएको भोज पनि बिथोलिएको छ ।
समाजवादी पार्टी नेपालका समर्थकका लागि खसी काटेर भोज लगाउने तयारी भइरहेको जानकारी पाएपछि प्रहरी पुगेको थियो ।
स्थानीय अशेश्वर साह कानूको घर अगाडि टेन्ट लगाएर भोजको तयारी गरिएकोमा बिथोल्न सफल भएको प्रहरीले जनाएको छ ।
आचारसंहिता विपरीतको गतिविधि नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि प्रहरीले नै टेन्ट खोलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
भोज गर्नु आचारसंहिता विपरीतको काम हो भनी सम्झाउँदा अबरोध आएको तर रोकिएको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए ।
समाजवादी पार्टी मात्रै नभएर अन्य पार्टीका उम्मेदवारले समेत आचारसंहिता विपरीत चुनावमा खर्च गरिरहेको मतदाताको भनाइ छ ।
यसअघि उपचुनाव आचारसंहिता अनुगमन समितिले अनुगमनको क्रममा सार्वजनिक स्थानमा पार्टीको झण्डा, तुल, व्यानर लगाएको पाइएपछि हटाइएको थियो ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आचारसंहिता पालना भए नभएको निरन्तर अनुगमन गरिरहेको बताएकी छन् ।
‘आचारसंहिता पालना गर्न दलहरुलाई आग्रह गरिरहेका छौं । विपरीतका गतिविधि भएको पाइए रोकेका छौं,’ उनले भनिन्, ‘तर आचारसंहिता उलंघनको उजुरी नै भने आएको छैन, उजुरी आएको खण्डमा आवश्यक छानवीन गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँछौं । ‘
आचारसंहिता अनुगमनकर्ता समेत रहेकी उनले अचारसंहिता पालना गराउन टोली परिचालन र छडके गर्ने कार्यसमेत भइरहेको बताइन् ।
वडा अध्यक्षका लागि ५ जना प्रतिष्पर्धामा छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट उदयशंकर प्रसाद रौनियार, नेपाली कांग्रेसबाट अशेश्वरप्रसाद
यादव, समाजवादी पार्टी नेपालबाट रुपलाल कुमार यादव चुनावी मैदानमा छन् । उनी यसअघिका वडाध्यक्ष बृजमोहन यादवको जेठो छोरा हुन् ।
वडा अध्यक्षमा निर्वाचित भएको ३ महिनापछि यादवको मृत्यु भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सदरी महरा र गोपाल साह कानूले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएर चुनावी अभियानलाई तीव्र पारेका छन् ।
प्रतिक्रिया 4