+
+
Shares

मन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रश्न : काठमाडौंका खाल्डाको गीत कति सुन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते २०:३५

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकका खाल्डाखुल्डी चार महिनाभित्र पुरी सक्न निर्देशन दिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि मन्त्री र सचिवहरूहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले जसको जिम्मेवारी हो, उसले काम गर्नुपर्ने बताए । ‘काठमाडौंको खाल्डाको गीत कति सुन्ने ? जहिले सुन्यो, त्यही सारंगी बज्छ । टेलिभिजन खोल्यो उही सारंगी, रेडियो खोल्यो उही सारंगी, अनलाइन हेर्‍यो उनी सारंगी’ उनले भने, ‘यो आगामी चौमासिकभित्र काठमाडौंका सबै खाल्डा समाप्त हुनुपर्छ ।’

उनले विकासका काममा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । ‘एउटाले सडक पिच गर्ने, अर्काेले भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनुपर्‍यो । विकासमा सहकार्य मात्रै होइन, सहउपयोगको नीति अपनाउनुपर्‍यो ।’

प्रधाननमन्त्री ओलीले विकास निर्माणको कामले तिव्रता पाउँदा केही समय धुलो उड्नु स्वभाविक भएको बताए । निर्माणाधीन प्रधानमन्त्री निवासतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु । ट्याङट्याङ टुङटुङ आउँछ । तर, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु भएन । प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’

उनले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तीनकुने माइतीघर सडकको उदाहरण दिँदै उनले एउटा व्युटिफिकेसन गरेको र अर्कोले बिजुलीको खम्बा राखेर बेचेको सुनाए ।

सरकारको समर्थ्यमाथि जनताको विश्वास रहेकार तत्परतामाथि अविश्वास गरेको प्रधाननमन्त्री ओलीको विश्लेषण थियो । ‘सरकारले चाहेकाे बेला त एक हप्तामा सडक चिल्लो हुँदोरहेछ नि भनेर जनताले भनिरहेका छन्’ उनले भनेे, ‘एक हप्तामा सवै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’

लोभ देखाए कारबाही 

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई दिनुपर्छ भनेर कसैले भन्छ भने त्यो नेपाललाई गरिवीबाट मुक्त गर्ने नीति विपरित काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ’ उनले भने, ‘प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंहरुलाई पनि गाडी छ, राम्रो तलव छ । यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, यो भन्दा बढी के चाहियो ?’

उनले अघि भने, यदि कसैले लोभ गरेर तलमाथि गरे कारवाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु ।’

प्रधानमन्त्रीले देखेका तीन खाले विरोधी 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारको कामप्रति हुने विरोध तीन प्रकारको हुने सुनाए । कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न  आग्रह गरेका उनले  वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधलाई भने बेवास्ता गरेर अगाडि बढ्न सुझाव दिए ।

‘हामीले काम गर्दा केही कमजोरी भएर विरोध भए त्यसलाई तुरुन्तै सच्याउनुस्’ उनले भने, ‘विचार दर्शन मन नपरेर वैचारिक पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले भ्रम छरेर गरिने विरोधसँग डराउनुपर्दैन । काम गर्दै जाँदा विरोध गर्नेहरु नै आफैं थाक्छन् ।’

प्रधानमन्त्री ओलीले मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न पनि मन्त्रालयहलाई निर्देशन दिएका छन् ।

हटेका मन्त्रीहरु इमान्दार हुनुहुन्थ्यो

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको हेरफेरका विषयमा पनि प्रतिक्रिया दिए । प्रधानमन्त्रीले सबैजना इमान्दार हुनुहुन्थ्यो र सबैले सकेजति राम्रोसित कामै गर्नुभएको हो भन्ने प्रतिक्रिया दिएको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

तर, राम्रो काम गर्दा गर्दै पनि यत्रो ठूलो पार्टीमा अरुलाई पनि पालो दिनुपरेकाले फेरबदल गरिएको प्रधानमन्त्रीको भनाइ थियो । मन्त्रिपरिषद पुनगर्ठन हुनुपर्‍यो भनेर तलबाट पनि अलिअलि कुरा उठेको र आफूले अलिअलि काम पनि हेरेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?