Comments Add Comment

घनश्यामलाई ‘जबरजस्ती’ मन्त्रीको जिम्मा !

आफ्नै आदर्शको अग्नि परीक्षामा मन्त्री भुसाल

५ मंसिर, काठमाडौं । नेकपा नेता घनश्याम भुसाल न्युज फेस्टिवलमा भाग लिन चार दिनअघि लुम्बिनी पुगेका थिए । मंगलबार राति उनी रुपन्देही जिल्लास्थित आफ्नै घरमा बास बसेका थिए ।

काठमाडौं बाहिरै रहेका बेला भुसाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले तीन/चारपटक फोन गरे । भुसालले मोबाइलको घण्टी बजेको सुनेनन् । रिमालको फोन ‘मिस्ड’ भयो ।

तारन्तार फोन गर्दा पनि नउठेपछि ‘प्रधानमन्त्रीज्यूले कुरा गर्न चाहनुभएको छ, जसरी पनि सम्पर्कमा आउनुपर्‍यो’ भन्ने सन्देससहितको म्यासेज भुसालको मोबाइलमा झर्‍यो ।

भुसालले मन्त्री बन्नुभन्दा अगाडि नै सरकार सञ्चालनको कार्यशैली र मन्त्रीले पाउने अधिकारबारे छलफल गर्न चाहेका थिए ।प्रधानमन्त्रीबाट अनावश्यक हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने स्पष्ट हुन खोजेका थिए तर, प्रधानमन्त्री केपी शर्मा ओली त्यो मौका नदिई मन्त्री बनाएका छन्

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र सांसद भुसालवीच फोन सम्वादको साइत जुर्‍यो ।

जवाफमा भुसालले सरकार र पार्टीको सञ्चालन कार्यविभाजनका आधारमा गरिनुपर्छ भन्ने आफूले पहिल्यैदेखि बताउँदै आएको हुनाले सचिवालयको निर्णय सकारात्मक नै लागेको बताए ।पार्टी सचिवालयले गरेको दुई अध्यक्षको कार्यविभाजन निर्णयबारे तपाईको प्रतिक्रिया के छ भनेर प्रधानमन्त्री ओलीले सोधे ।

प्रधानमन्त्रीले त्यतिमा मात्र चित्त बुझाएनन् । आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको भन्दै प्रधानमन्त्रीले सोधे, तपाईलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागेको छु, यसमा के भन्नुहुन्छ ?

नेकपाका वैचारिक नेता मानिने भुसालले कुनै खास मन्त्रालयको विषयमा कुराकानी गर्नुभन्दा पहिले प्रधानमन्त्रीलाई भेटेर सरकार सञ्चालनका बारेमा केही कुरा राख्न चाहेको भन्दै बुधबार साँझ भेट दिनका लागि आग्रह गरे ।

आफू बुधबार साँझ भैरहवाबाट काठमाडौं र्फकने र सिधै बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आउने भुसालले प्रधानमन्त्री ओलीलाई भने ।

तर, प्रधानमन्त्री ओली बुधबार राति नै मन्त्रिमण्डल पुनर्गठन गरिसक्ने तयारीमा थिए । तर, फोनमा उनले यो कुरा भुसाललाई भनेनन् । बरु, अर्को प्रश्न सोधे, ठीकै छ, छलफल गरौंला, तर मन्त्री बन्ने कुरामा तपाईको सैद्धान्तिक धारणा चाहिँ के हो ?

प्रधानमन्त्रीको प्रश्नमा भुसालले सरकारमा सहभागी हुने विषयमा आफ्नो कुनै सैद्धान्तिक असहमति नरहेको तर त्यो भन्दा अगाडि सरकार सञ्चालको प्रक्रियाबारे छलफल हुनुपर्ने अनिवार्यता रहेको दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ समय दिन नसक्ने भन्दै विहीबार बिहान ९ बजे बालुवाटारमा आउन भने ।

तर, सांसद भुसाल चढेको बुद्ध एयरको विमान काठमाडौं ओर्लिन नपाउँदै आकाशमै रहेका बेला मन्त्रीहरुको नामावली सार्वजनिक भयो, जसमा भुसाललाई कृषि, मन्त्रीका रुपमा घोषणा गरियो । त्रिभुवन विमानस्थलबाट ओर्लेर निवासतर्फ जाँदै गर्दा भुसालले आफ्ना निकटस्थहरुलाई फोनमा भनिरहेका थिए, मन्त्रालयको कुरो गर्नुभन्दा पहिले भोलि बिहान ९ बजे प्रधानमन्त्रीसँग भेटेर केही सैद्धान्तिक प्रश्नमा छलफल गर्नै बाँकी छ ।

रोजेकै मन्त्रालय !

नेकपा सचिवालयका केही नेताले घनश्याम भुसाल स्वयंले कृषि मन्त्रालय रोजेको र उनलाई ‘रोजेकै मन्त्रालय’ दिइएको बताएका छन् ।

भुसालनिकट एक नेताले भने, ‘उहाँलाई प्रधानमन्त्रीले कृषि मन्त्री बनाउँदैछु भन्नुभएको हो, भुसाल कामरेडको आफ्नै रोजाइ होइन ।’

यद्यपि भुसालले मन्त्री नै बन्दिनँ चाहिँ नभनेको निटकस्थहरु स्वीकार गर्छन् । ‘भुसालजीले मन्त्री नै बन्दिनँ चाहिँ भन्नुभएको थिएन, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, मन्त्री बन्नुपूर्व प्रधानमन्त्रीसँग छलफल गर्ने र त्यसपछि मात्र निर्णय लिने सोचाइमा हुनुहुन्थ्यो ।’

निकटस्थहरुले ‘भुसालको रोजाइ होइन’ भनिरहँदा विहीबार सिंहदरबारमा कार्यभार ग्रहण गर्दै स्वयं मन्त्री भुसालले कृषि आफ्नो रोजाइको मन्त्रालय भएको कर्मचारीहरुलाई बताएका छन् ।

भुसालले प्रधानमन्त्रीलाई के भन्न चाहेका थिए ?

प्रधानमन्त्री ओलीलाई नजिकबाट चिनेका मन्त्री भुसालले मन्त्री बन्नुभन्दा अगाडि नै सरकार सञ्चालनको कार्यशैली र मन्त्रीले पाउने अधिकारबारे एकचोटि छलफल गर्न चाहेका थिए । आफूले काम गर्ने मन्त्रालयमा प्रधानमन्त्रीबाट अनावश्यक हस्तक्षेप हुन्छ कि हुँदैन भन्नेबारे भुसालले प्रधानमन्त्रीसँग स्पष्ट हुन खोजेको तर, मौका नपाएको स्रोत बताउँछ ।

संवैधानिक कानूनका ज्ञाताहरुको विश्लेषणमा मन्त्री पद प्रधानमन्त्रीकै मातहतमा रहने जिम्मेवारी हो । प्रधानमन्त्रीले चाहेका बेलामा मन्त्रीलाई हटाउनु वा नयाँ मन्त्रीहरु नियुक्त गर्नु कार्यकारी प्रमुखको अधिकारक्षेत्रको विषय हो । मन्त्रीलाई यति वर्षका लागि भनेर तोकेर जिम्मेवारी दिइएको हुँदैन, प्रधानमन्त्रीले चाहेमा जुनसुकै बेला हटाउन र चाहेका बेला राख्न सक्ने संवैधानिक अधिकार प्रधानमन्त्रीमा निहीत छ ।

झलनाथ खनाल सरकारमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मन्त्री’ बनेका उनको छोटो कार्यकालका कारण कार्यक्षमताको परीक्षा हुन पाएको थिएन । यसपटक भने कृषि क्षेत्रमा घनश्याम भुसालको वौद्धिकता र ‘समाजवादी अर्थराजनीति’ को परीक्षा हुनेछ ।

तर, यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले गरेको अधिकार प्रयोगको सान्दर्भिकतामाथि भने आम नागरिकले प्रश्न उठाउन सक्छन् । अहिले मन्त्रीहरुको हेराफेरीबारे सामाजिक सञ्जालमा भइरहेको चर्चा पनि यसैको द्योतक हो ।

मन्त्रिपरिषद पुनर्गठनपछि बहिर्गमनमा परेका एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली आफ्ना मन्त्रीहरुलाई सिर्जनात्मक रुपमा काम गर्न नदिई ‘यस म्यान’ बनाउन चाहन्छन् । उनको यो पनि आरोप छ कि नियमितरुपमा ‘चाकडी’ नगर्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले मन पराउँदैनन् र असहयोग गर्न थाल्छन् । प्रधानमन्त्रीको यस्तो स्वाभाव मन्त्रीको कार्यशैलीवीचमा तालमेल नमिल्दा सम्बन्धमा अनावश्यक दरार आउने गरेको निवर्तमान मन्त्रीको विश्लेषण छ ।

प्रधानमन्त्रीको कार्यशैलीबारे स्रोतले दिएको एउटा दृष्टान्त यस्तो छ-

पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्री बन्नुपूर्व प्रधानमन्त्रीसँग भेटवार्ता र छलफल गर्ने मौका पाएका थिए । सो भेटमा प्रधानमन्त्रीले मन्त्रालयको काममा अनावश्यक हस्तक्षेप नगर्ने वचन भट्टराईलाई दिएका थिए । तर, प्रधानमन्त्रीले अहिले आफ्नै वचन उल्लंघन गरेको निवर्तमान मन्त्रीको भनाइ छ ।

बर्खास्तमा परेका निवर्तमान मन्त्रीका अनुसार नेपाल वाय सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई तत्काल हटाउन मन्त्री भट्टराईलाई प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनअनुसार नै मन्त्री भट्टराईले खरेललाई बोलाएर तपाईले निगमको काम गर्न सक्नुभएन, बाटो छाडेर काम गर्न सक्नेका लागि मार्ग प्रशस्त गरिदिनोस् भने ।

तर, प्रधानमन्त्रीकै गृहजिल्ला झापा घर भएका खरेलले मन्त्री भट्टराईको निर्देशन मानेनन् । प्रधानमन्त्रीकै रुची अनुसार निगममा ल्याइएका खरेलले मन्त्री भट्टराईलाई जवाफ दिँदै ‘म यसबारेमा प्रधानमन्त्रीज्यूसँगै कुरा गर्छु’ भने ।

खरेलले हट्न नमानेको र प्रधानमन्त्रीसँगै कुरा गर्छु भनेको जानकारी गराउँदा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईलाई ठीकै छ, अहिले यो विषय छाडिदिनू भनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो घटनाले गर्दा अहिले मन्त्री भट्टराईको शीर ढलेको छ । नेपाल वायु सेवा निगममा अब उनले केही गर्न नसक्ने स्थिति उत्पन्न भएको स्रोतले बतायो ।

पर्यटन मन्त्री भट्टराईको निरीह मनोदशालाई नजिकैबाट नियालिरहेका भुसाल प्रधानमन्त्री ओलीसँग आफ्नो मनको कुरै राख्न नपाई कृषि मन्त्रीको ‘हटसीट’मा बस्न पुगेका छन् ।

आफ्नै आदर्शको अग्निपरीक्षा

आफूलाई सिद्धान्तनिष्ट, वैचारिक र सादगी नेता बताउने भुसालले अन्ततः कृषि मन्त्रालयको जिम्मेवारी स्वीकार गरेका छन् । तर, यो जिम्मेवारीमा रहँदा इमान्दार नेताको पुरानो छविलाई बचाएर राख्नुपर्ने चुनौती उनका सामु खडा भएको छ ।

सिद्धान्तमा जतिसुकै प्रष्ट र आदर्शका कुरा गर्नेहरु पनि सिंहदरबारमा पुगेपछि फेरिन्छन् र असफल हुन्छन् भन्ने नजिर राजनीतिमा स्थापित हुँदै आएको छ ।

राजनीतिक अर्थशास्त्र र समाजशास्त्रमा गहिरो ज्ञान राख्ने अध्ययनशील नेता भुसालको प्रशासनिक अनुभव चाहिँ खासै लामो छैन ।

रुपन्देहीमा ०५१ सालको चुनावमा तत्कालीन एमालेबाट निर्वाचित सांसद धनपति उपाध्यायको निधन भएपछि सम्पन्न उपचुनावमा कांग्रेसका रामकृष्ण ताम्राकारलाई हराएर घनश्याम भुसाल पहिलोचोटि सांसद बने ।
एमालेबाट विभाजित भएर बनेको मालेबाट चुनाव लड्दा उनी ०५६ सालको चुनावमा पराजित भए । ०७० सालमा भुसालले संविधानसभाको चुनावमा जित हात पार्न सकेनन् । त्यसबेला उनी कांग्रेस नेता बालकृष्ण खाँडसँग ८८ मतले हारेका थिए ।

यसपटक ०७४ को चुनावमा नेकपा एकीकरणको फाइदा उठाउँदै राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिभिसभामा निर्वाचित भए । र, बिहीबारदेखि उनी दोस्रोपटक मन्त्री बनेका छन् ।

यसअघि ०६७ सालमा झलनाथ खनालको प्रधानमन्त्रित्वमा बनेको सरकारमा भुसाल विनाविभागीय जस्तै मन्त्री बनेका थिए । उनलाई त्यसबेला ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मन्त्री’ बनाइएको थियो । छोटो समयको उक्त जिम्मेवारीमा भुसालको कार्यक्षमताको परीक्षा हुन पाएको थिएन । यसपटक भने कृषि क्षेत्रमा भुसालको वौद्धिकता र ‘समाजवादी अर्थराजनीति’ को परीक्षा हुने देखिन्छ ।

त्यसो त कृषि मन्त्रालयभित्र चुनौतीहरु मात्र छैनन्, आम किसानको भविश्यसँग जोडिएको मन्त्रालय भएकाले यहाँ बसेर मन्त्री भुसालले प्रभावकारी भूमिका निर्वाच गर्न सके भने यो जिम्मेवारी उनका लागि राम्रो अवसर पनि हो ।

विगतमा लामो समय केपी ओलीभन्दा विपरीत कित्तामा उभिँदै आएका भुसालले ओली सरकारमा जाने कि नजाने भन्नेबारे प्रधानमन्त्रीसँग भेटेर कुरा गर्न नपाए पनि आफू निकटस्थहरुसँग चाहिँ केहीदिन यता सघन छलफल गरिरहेका थिए । उनी निकटस्थहरुले भागेर हैन समस्यासँग जुधेर अगाडि बढ्नुपर्छ भन्दै भुसाललाई जिम्मेवारी स्वीकार गर्न आग्रह गरेका थिए । अर्को आम चुनाव आउँन ३ वर्ष काँकी रहेकाले अब चुनौतीहरुलाई अवसरमा बदल्न भुसालले तयार रहनुपर्ने भन्दै उनलाई निकटस्थहरुले मन्त्री बन्न सुझाएका थिए ।

बुधबार राति नेकपाका अर्का नेता सुरेन्द्र पाण्डेले भुसाललाई फोन गरेर भने, ‘मन्त्री बन्नुभएकोमा तपाईलाई बधाइ छ, तर त्यहाँ गएर नबिग्रिनुहोला ।’

भुसालले मन्त्रालयको जिम्मेवारी सम्हालेको विषयमा प्रतिक्रिया माग्दा सांसद रामकुमारी झाँक्रीले चुनौतीको सामना गर्न आफूहरुले सुझाव दिएको बताइन् । नेकपा सांसद झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘कुन मन्त्रालय गौण र कुन प्रमुख भन्ने नै हुँदैन, काम गर्न सक्नुपर्छ । एउटा राजनीतिज्ञले जस्तोसुकै च्यालेञ्ज खेप्नुपर्छ । चुनौतीबाट भाग्ने मान्छे कसरी नेता हुन्छ ? चुनौतीको सामना गर्ने मान्छे पो नेता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment