Comments Add Comment

लोकदोहोरी प्रतिष्ठानको सचिव बन्न २० भन्दा बढी आकांक्षी

अहिले पोखरामा लोक तथा दोहोरी कलाकारको चहलपहल बाक्लिएको छ । यसको कारण हो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन ।

तीन दिनसम्म चल्ने महाधिवेशन शुक्रबारबाट सुरु भएको हो । यस महाधिवेशनबाट लोक तथा दोहोरी गीत प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ ।

स महाधिवेशनमा सचिव पदको लागि धेरै उम्मेदवारहरु प्रतिस्पर्धामा देखिएका छन् । सात प्रदेशको लागि सात सचिव, एक सांगठनिक, एक प्रशासनिक र एक महिला गरी १० जना सचिव रहने प्रावधान छ । त्यसमा २० जनाभन्दा बढीले आकांक्षा राखेका छन् ।

केही समयअघि केन्द्रीय सदस्यबाट राजीनामा दिएका गायक/संगीतकार वसन्त थापाले अहिले सचिवमा उम्मेदवारी दिने बताएका छन् ।  ‘सालको पात’ गीतमा कपिराइट विवाद आउँदा आफूलाई प्रतिष्ठानले सहयोग नगरेको भन्दै उनले पदत्याग गरेका थिए । अहिले पुन प्रतिष्ठानप्रति झुकाव बढेकाले उम्मेदवारी दिएको थापाले बताए ।

‘त्यो समय म प्रतिष्ठानसँग रुष्ट थिएँ । अग्रज दाइहरुले मलाई त्यो बेला नै सम्झाउनुभएको थियो । त्यसैले पनि होला, प्रतिष्ठानप्रति मेरो झुकाव बढेको छ,’ उनले भने । नयाँ कार्यसमितिले प्रतिष्ठान र कलाकारका लागि धेरै काम गर्नुपर्ने थापाको भनाइ छ ।

गायक खुमन अधिकारीले पनि सांगठनिकतर्फको सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । ‘प्रदेश सचिव भइसकेको हुनाले मलाई पुनः त्यसमा दोहोरिने मन भएन । त्यसैले सांगठनिक सचिव पद रोजेको हुँ ।’

उनको एजेण्डा कलाकारको हितमा काम गर्ने भन्ने नै छ । ‘पहिला पनि समितिमा रहेर काम गरिसकेको हुनाले साथीहरुले मलाई विश्वास गर्नुहुन्छ भन्ने लागेको छ । मैले जितेको खण्डमा कलाकारहरुको हितमा नै काम गर्नेछु ।’

सचिव पदमै गायक नवीन पौडेल, कुलेन्द्र विक, पुष्कल शर्मा, विनोद बाजुराली, कृष्ण रेउले, जीवन दाहाल, प्रचण्ड जीसी, होम गैरे, रमेशराज भट्टराई, हरी डाँगीलगायतले आकांक्षा राखेका छन् ।

यो पनि पढ्नुहोस ‘लोक तथा दोहोरी गीत प्रतिष्ठान’लाई लाग्यो चुनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment