Comments Add Comment

मन अघाउँदैन सिमिकोटमा (फोटोफिचर)

काठमाडौं । चारैतिर सेताम्मे चुचुरा । माझमा फराकिलो फाँट । अनि झुरुप्प बस्ती । यो लेकाली बस्तीमा बहने सिरेटो जति चिसो छ, उत्ति नै कञ्चन छ, यहाँबाट देखिने हिमशृंखला । नेपालकै सबैभन्दा उचाइमा रहेको सदारमुकाम, स्वागत छ सिमिकोटमा ।

हुम्ला जिल्लासम्म पुग्न पैदल हिँड्नुपर्छ । हिँड्न नसक्नेहरुका लागि हवाई मार्गको विकल्प पनि छ । भनिरहनु परेन, हुम्लाको सिमिकोटलाई सडक सञ्जालले सौतेनी व्यवहार गरेको छ । अर्थात यहाँसम्म पुग्ने मोटरबाटो नै छैन ।

यसपालि हामी हवाई मार्गबाट सिमिकोट पुग्यौं । नेपालगञ्जबाट हामीले भुइँ छाडेका हौं । पश्चिम नेपालको प्रवेशद्वार भनिने नेपालगञ्जबाट उडेका हामीले हुम्लाको सिमिकोटमा पुगेपछि धर्तीको स्पर्श गर्‍यौं । यो आकासे यात्रा कम्ता रोमाञ्चक रहेन । यसकारण कि, यतिका उचाइबाट हिमालै हिमालमाथि उडेको भान भयो हामीलाई ।्र

त्यसो त यहाँको आकासे यात्रा जोखिमपूर्ण पनि मानिन्छ । त्यसैले अलिकति भय, अलिकति रोमाञ्चकता समिश्रण थियो त्यो यात्रामा । आकासबाट हुम्लाको फन्को लगाइरहँदा देखिने दृश्यले भने जो-कोहीलाई मोहनी लगाउने । कुनै सिपालु चित्रकारले खुला क्यानभासमा पोतेको आकृति जस्तै । कहीँ अग्ला एवं भिरालो पहाड, कहीँ मनोरम फाँट, कहिँ हिमाली खोला । त्यसमाथि उडेका भुवाझैं बादलका टुक्राहरु । अहो ! कस्तो सुन्दर । जति हेरे पनि मन नअघाउने ।

बाजुराको कोल्टी विमानस्थल, दैलेख बजार र सुर्खेतका दृश्यहरु पनि हाम्रो आँखा अगाडि आए । हामीले आकासबाटै नियाल्यौं सिमिकोटका फाँटहरु, जसलाई पाक्नै लागेको अन्नपातले पहेंलपुर बनाएको छ । त्यसकै आसपासमा देखिन्छ झुरुप्प बस्ती र धावनमार्ग ।

हामी त्यही धवनमार्गबाट ओर्लिएर सिमिकोटमा घुलमिल हुन थाल्छौं । समुद्रि सतहबाट २ हजार ९ सय मिटरको उचाइमा रहेछ यो बस्ती । मानसरोवर जाने मुख्य स्थानमध्येको एक हो सिमिकोट । स्थानियबासी भन्दै थिए, ‘मानसरोवरकै कारण सिमिकोटले पनि भाउ पाएको छ ।’

सिमिकोटबाट दुई घण्टा हिँड्दा बुराउसे पुग्न सकिन्छ । यो लामाहरुको घनत्व भएको बस्ती हो । हिमाली रहनसहनसँग सक्षातकार गर्न सकिन्छ यहाँ । होमस्टेको व्यवस्था पनि छ । यद्यपि जति चर्चा हुनुपर्ने हो, त्यती पाएको छैन बुराउसेले ।

हुम्लाको कथा

त्यसो त हुम्ला जिल्ला आफैंमा एक सौन्दर्यको खानी हो । लोभलाग्दा भूगोल, दुर्लभ जडिबुटी, रैथाने रहनसहन, कलासंस्कृतिले समृद्ध छ यो जिल्ला । यो जिल्लाको नामकरणसम्बन्धमा एउटा रोचक प्रसंग छ ।

हिम श्रृंखलाले भरिएको यो जिल्लामा अवस्थित प्रसिद्ध खार्पुनाथमा प्राचिनकालमा कोटीहोम लगाएको हुनाले यही होम लगाएको अर्थात ‘होमला’बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाइ छ । अर्काथरीको भनाइ अनुसार ‘हुल्म लङरिङ्ग’ अर्थात साँघुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाइ पनि छ । यसका अतिरिक्त ‘हुण’ जातिहरूले यही बाटो भएर ‘ल्हा’ भञ्ज्याङ काटेर तिब्वत क्षेत्रमा प्रवेश गरेको हुनाले ‘हुण’ र ‘ल्हा’बाट ‘हुम्ला’ भएको भन्ने पनि भनाइ पाइन्छ ।

कसरी पुग्ने ?

हुम्लाको सिमिकोट पुग्नका लागि तपाईंले हवाई मार्ग समात्नुपर्ने हुन्छ । यसका लागि नेपालगञ्जबाट जहाज चढे पुग्छ । यदि पैदल हिँड्ने जाँगर छ भने पनि तपाईं हिँड्दै हिँड्दै सिमिकोटसम्म पुग्नु सक्नुहुनेछ ।

कृष्णबहादुर महरा

सडक सञ्जालले नछोएकाले मोटरबाट भने सिमिकोट पुग्ने सम्भावना छैन ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कृष्णबहादुर महराका अनुसार सिमिकोटदेखि कैलाश जाने बाटो बन्दै छ । उक्त बाटो व्यवस्थित गर्न सकियो भने यसले हुम्लाको मात्र नभई समग्र देशकै पर्यटनमा सघाउ पुर्‍याउनेछ ।

पर्यटकीय सम्भावना अथाह भएको क्षेत्र हो हुम्ला । हुम्लामा ऐतिहासिक महत्वका गुम्बाहरु छन् । अन्यत्रको भन्दा यहाँका पदमार्ग अलि फरक छ । यहाँको भौगोलिक बनावट तथा जीवनशैली नै प्रमुख विशेषता हो ।

यो क्षेत्रमा अझै पर्यटन विकासको लागि पूर्वाधारको विकास गर्न जरुरी छ । जबसम्म पर्यटकहरुलाई आधारभूत आवश्यक्ताहरु दिन सकिँदैन पर्यटकहरु एकपटक त आउलान् तर त्यसलाई दिगो दिन गाह्रो हुन्छ ।

यलबाग महोत्सवमा सहभागी हुन जाँदा पहिलोपटक सिमिकोट हेर्ने मौका पाएको बताउँदै महरा भन्छन्, ‘पर्यटकीय स्रोत र सम्भावानाको पहिचान गरेर प्रवर्द्धन गर्न जरुरी रहेको मैले पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment