Comments Add Comment
नियात्रा :

समुद्रले निल्न आँटेको टापुको देशमा !

मालदिभ्सका युवा भन्छन्- देश डुब्दैछ, केका लागि बैंक ब्यालेन्स !

बिहानको सूर्यका किरण पृथ्वीमा पोखिन थालिसकेका थिए । विमान मालदिभ्सको राजधानी मालेको आकाशबाट जमीनतिर लम्कियो । पानीको साम्राज्यमा थुम्काथुम्की टापु देखिन थाले ।

वरपर घरका वीचमा छचल्किइरहेको पानी र मानिसले खियाउँदै गरेका डुंगाहरु आँखामा ठोकिन पुगे । छिमेकीको घर जाँदा पनि डुंगाबाटै जानुपर्छ भन्ने कुनै किताबमा पढेको कुरा दिमागमा तत्काल क्लिक भयो ।

राष्ट्रको मुख्यद्वार अध्यागमनबाट बाहिर निस्केपछि हामीलाई होटल स्टाफले स्पीड बोटमा हालेर हिन्द महासागरमा हुइँक्याए । घरको धुरीजति अग्लो पानीको छालमा स्पिड बोट चाकाचुली खेल्दै अगाडि बढ्यो । घरिघरि त ‘सातो पुत्लो फ्लाइङ’ हुन्थ्यो !

समुद्रको ज्वारभाटा र स्पिड बोटको घर्षणबाट निस्केको शीतल बाछिटालाई हावाले उडाएर गालामा ठक्कर दिँदा यात्राको थकान हरायो । शरीर पूरै ‘रि-बुटिङ’ भयो ।

पानीको छालसँग लुकामारी खेल्दै झण्डै ४५ मिनेटको यात्रा पश्चात हामी ‘ओलिभेली बिच एण्ड स्पा’ टापुमा पुग्यौं । चिसो जुसबाट हाम्रो स्वागत सत्कार शुरु भयो ।

संयोगबस हामीलाई आतिथ्य प्रदान गर्ने नेपालकी छोरी कविता बहिनी रहिछिन् । उनले नै हामीलाई चेक ईन गराएर त्यहाँबाट ‘बग्गी’ मा हालेर सामुदि्रक तटमा अवस्थित हाम्रो कटेज भिलामा पुर्‍याउन मद्दत गरिन् ।

जादुमय, सुन्दर देश

जनसंख्या र क्षेत्रफलका आधारमा एसियाकै सबैभन्दा सानो देश हो मालदिभ्स । ‘मालादीपा’ अर्थात् द्वीपहरूको माला भनिने यो मुलुक हिन्द महासागरको मध्यतिर अवस्थित करिब ११८० स-साना टापुहरू मिलेर बनेको छ । यी द्वीपहरु, सामुन्द्रिक सतहबाट औसत डेढ मिटर भन्दा अग्ला छैनन् ।

सन् २००४ को सुनामीले गर्दा यसका करिव २० वटा टापुहरु समुद्रमा विलीन भएका थिए । झण्डै ४ लाख जनसंख्या भएको यो सुन्दर देशमा हिमाल, डाँडा पाखा र खोला नालाहरु दिउँसै राँको बालेर खोज्दा पनि कहीँ कतै पाइँदैनन् । चारैतिर, जता हेरे पनि समुद्र क्षितिजसँग विलीन भएको मात्र देखिन्छ ।

हजारौं वर्ष अगाडि समुद्रको पिँधमा ज्वालामुखी बिस्फोट भएर बनेका यी द्वीपपुञ्जहरु नै कालान्तरमा माल्दिभ्स देश बनेको हो भन्ने भूगर्वविदहरुको तर्क छ । ईशापूर्व पाँचांै शताब्दीतिर श्रीलंकाका सामुदि्रक यात्री बौद्ध धर्मालम्वीहरु गएर बसोबास गर्न शुरु गरेपछि यहाँ मानव वस्तीको सुरुवात भएको हो भन्ने इतिहासकार बताउँछन् ।

बाह्रौं शताब्दीतिर उत्तर अफ्रिकाबाट हिन्द महासागरको बाटो भई मोरक्कोतिरबाट आएका एक घुमन्ते अबु बाराकात अल बारबरीले यहाँका तत्कालीन बौद्ध धर्मालम्वी राजा ‘ढोविमी’ र सबै मालदिभियनहरुलाई मुस्लिम धर्ममा धर्मान्तरण गरी पुरै मुस्लिम राष्ट्र बनाएका रहेछन् । उनको समाधि राजधानी सहर मालेमा सुरक्षित राखिएको छ ।

त्यस पश्चात पश्चिमी साम्राज्यवादी शक्तिहरु पहिला पोर्चुगिष्ट, डच हुँदै सन् १८७९ बाट वेलायतको उपनिवेशका रुपमा रहेर सन् १९६५ मा मात्र मालदिभ्स पूर्णरुपमा स्वतन्त्र भएको देश हो ।

मालदिभ्स एशियाको सानो राष्ट्र मात्र नभएर विश्वको सानो मुस्लिम राष्ट्र पनि हो । मालदिभ्सका नागरिकहरु धर्मप्रति निकै कठोर छन् भन्ने सुनियो । तोकिएको रेष्टुराँ र होटलमा बाहेक अरु कुनै ठाउँमा मादक पदार्थ निषेधित छ । रिसोर्ट टापुहरु बाहेक, माले राजधानी सहरमा पनि कहीँ कतै पेयपदार्थ बिक्रीवितरण हुँदैन ।

मुस्लिमहरुको चाड रमजानको समयमा घुम्न जाने पाहुनाहरुले पनि यो पर्वको आस्थालाई मान्नुपर्छ भन्ने सुनियो । यो चाडमा सबै रेष्टुराँका कामदारहरु विदामा बसेपछि पाहुनाको सेवासुविधामा समेत प्रभाव पर्ने गर्छ भन्ने पनि दायाँवायाँबाट कानमा पर्‍यो ।

प्रकृतिको वरदान र मेहनतको गठजोड बनेको यो जलस्वर्ग साँच्चै आन्नदमय छ । पारिलो घाम, नीलो समुद्र, प्रदूषणरहित वातावरण, सूर्योदय र सूर्यास्तको दृश्य अनुपम छ सुन्तलाको रंगमा ।

सामुदि्रक छालले जमीनलाई चुम्दा अनि नीलो पानी, सुरिला र अग्ला एकैनासमा उभिएका नरिवलका रुखहरु साँच्चै हेरौं-हेरौं लाग्दारहेछन् । हिराझैं टल्किएका बालुवाका सेता सामुद्रिक तट अनि आउँदै, फर्कंदै गरेर जिस्किरहने समुद्रका छालहरुलाई नियाल्दा र हातले ती छालहरुलाई सुम्सुम्याउँदा आनन्द आउँछ । यी दृश्यहरु दृष्टिगत गर्दा जो पनि कवि वा साहित्यकार बन्न सक्छ जस्तो लाग्यो ।

स्थानीय नरिवलको पातबाट निर्मित भएका छन् त्यहाँका पाहुना घरहरु । सडक, गल्लीहरु र रेस्टुराँका भुइँ पनि सबै टल्कने सेतो बालुवाबाट बनेका छन् । आईल्याण्ड रिसोर्टहरुमा कुनै पनि चारपांग्रे सवारी साधन चलाउन मनाही छ । त्यसकारण यी ठाउँ प्रदुषणरहित छन् ।

शीतल र नुनिलो समुद्रमा पौडी खेल्दा, तटको आराम कुर्सीमा लमत्तन्न पल्टिएर सौर्यस्नान गर्दा मन शून्य हुन्छ । धपेडी र तनाब सबै बिर्सन पुगिन्छ । असीमित आनन्द पाइन्छ । मुक्ति पाइन्छ । अमृतमय क्षणहरु सिर्जना हुन्छन् । समुद्रको बिराट जल र जादुमय दृश्यले सबैको मन उडाई लान्छ ।

मालदिभ्सको रंगलाई हेर्नु पर्दा जमिन माथि होइन, पानी मुनि हेर्नुपर्छ भन्ने सुनेको सही रहेछ । सामुद्रिक तटको पानी सङ्लो र पारदर्शी भएकाले गर्दा समुद्रभित्रको संसार नाङ्गो आँखाले देख्न सकिन्छ । स्नकिङ र स्कुवा ड्राइभिङ गर्दा त झन् डल्फिन र ह्वेल माछाका हुल नै भेटिन्छन् । १८ देखि लिएर ३२ फिटसम्मका संसारका ठूला माछासँग साक्षात्कार गर्न सकिन्छ । ईच्छा भएकाहरुलाई अरु सामुद्रिक खेलहरु, जस्तै- विन्ड सफरिङ, क्यानोइङ जेट स्किइङ इत्यादि खेल्ने पूर्ण सुविधा र वातावरण छ ।

समुद्रमा पिउने पानीको अभाव !

मालदिभ्समा उनान्सय प्रतिशत कुराहरु बाहिरबाट आयात हुन्छ भन्ने सुन्नमा आयो । जताततै जलासय भए पनि यो मुलुकमा पिउने पानीको ठूलो हाहाकार छ । भर्खरैदेखि आफ्नै देशको पानीमा निर्भर हुनका लागि पानी प्रविधि आयात गरेर आफैँ समुद्रको पिँधबाट डीप वोरिङ गरी पानी निकालेर डि-स्यालिनेस प्रकृयाद्वारा पानी प्रशोधन गरी पिउने पानी निकाल्न थालेको रहेछ ।

अर्को, यो देशको पानीको स्रोत भनेको आकाशे पानी प्रत्येक घरको जम्मा गरी एउटा टे्रकिङमा जम्मा गरी प्रशोधन गरिँदो रहेछ । केही पानी भने बाहिरी देशबाट आयात गर्दा रहेछन् ।

हामी बसेको ‘ओलिभेली टापु’ रिसोर्टका मालिकले पनि आफ्नो टापुका लागि आफ्नै यस्ता विभिन्न प्रकृयाबाट खानेपानीको आपूर्ति गरेको देखियो । यो विडम्वना देख्दा हाम्रो नेपालका डाँडा र हिमालबाट पग्लेर बगेको अविरल नदीको पानी प्याक गरेर मालदिभ्समा बेच्न सके हाम्रो अर्थतन्त्रमा टेवा पुग्थ्यो कि जस्तो लाग्यो ।

ऊर्जाको स्रोत पनि मालदिभ्समा करिब-करिब शून्य नै रहेछ । प्रायःजसो अर्को देशबाट डिजेल आयात गरेर बिजुलीबत्ति जेनरेटरद्वारा बालिन्छ । ऊर्जा स्रोतमा आत्मनिर्भर रहन अहिले हालसालै मात्र सोलार ऊर्जा र विन्ड टर्वाइनहरु जडान गरी हावाबाट बिजुली निकाल्न शुरु गरिएको रहेछ । त्यस्तै, फोहोरबाट वायो ऊर्जा पनि यो राष्ट्रमा उत्पादन गर्न शुरु भएको रहेछ ।

जान अप्ठ्यारो, बस्न महंगो !

मालदिभ्सको अलौकिक सुन्दरताबारे वयान गर्दैगर्दा यो देश भ्रमण गर्न जान भने त्यति सजिलो र सस्तो छैन । नेपाल र भारतबाट सीधा हवाई यातायात रुटको सुविधा नभएपछि कि त खाडी मुलुक भएर जानुपर्‍यो, या त काठमाडौंबाट दिल्ली, अनि दिल्लीबाट श्रीलंकन एयरलाइन्स समाएर कोलम्बो पुगेर त्यहाँबाट माले पुग्नुपर्ने हुन्छ ।


दिल्लीबाट श्रीलंका उड्नका लागि कम्तिमा १० घण्टा पट्यारलाग्दो समयलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा धकेल्नु पर्‍यो । कोलम्बोमा पनि दिक्दारसँग चार घण्टा कुरेपछि मात्र मालेका लागि प्लेन पाइयो । यी ट्रान्जिट समयहरुमा मैले ‘योगमाया’ नेपाली उपन्यास पढिसकेको थिएँ ।

हवाई टिकट पनि त्यति सस्तो छैन । एकजनाको राउन्ड टिकटलाई झण्डै नेपाली ८० हजार रुपैयाँ हाराहारीमा पर्छ ।

माल्दिभ्सको अर्थतन्त्र मुख्य रुपमा होटल पर्यटन तथा मत्स्य व्यवसायमा आश्रति छ । ९० प्रतिशतभन्दा बढी आम्दानी पर्यटन व्यवसायबाट हुन्छ । योबाहेक माल्दिभ्समा धनाढ्य व्यापारीहरुका व्यक्तिगत टापुहरु स्वामित्वमा हुँदा रहेछन् । र, प्रत्येक एउटा टापु एउटा होटल मालिकको निजी हुन्छ ।

होटल प्रायः स्तरीय, सुविधाजनक र सम्पन्न छन् । यहाँ महंगा एवं गुणस्तरीय पर्यटनलाई प्रवर्द्धन गरिएको छ । समुद्री सुन्दरताको आनन्द उठाउन यहाँ आउने पर्यटकको संख्या बढ्दो छ । विशेष गरी रसियन, स्पेनिस र जापानी पर्यटकहरु बढी आउँदा रहेछन् । होटल आवास सुविधा अरु देशको तुलनामा निकै महंगो पाइयो ।

मालदिभ्समा विशेष गरी दुईखालका होटल हुँदारहेछन् । एउटा, पानीमाथि बनाइएका साना-साना रेजर्ट (भिल्ला) जहाँ एक जोडी अटाउने निजी स्विमिङ पुलसहितको डिलक्स कोठा हुन्छ । यस्तो खालका कोठाहरुको दाम एक रातको अमेरिकन डलर आठ सय वरिपरि पर्न जाँदो रहेछ । अर्को अलि सस्तो होटललाई ल्याण्ड वेस होटल भन्दा रहेछन्, जुन पानीमाथी नभएर सामुद्रिक तटमा हुन्छन् ।

माल्दिभ्समा सबै कुरा महंगो छ । सिंगापुरमा दुई डलरमा आउने चिया कप यहाँ दश अमेरिकन डलरसम्म पर्न जान्छ । एउटा नर्मल बर्गर वा म्याकडोनाल्ड अर्थात केएफसीलाई १० देखि १५ अमेरिकन डलर पर्न जान्छ ।

सायद सीमित जमीन, खानेपानीको समस्यादेखि लिएर अन्य उपभोग्य अन्नबालीहरु उत्पादन नभएर होला, यहाँ हरेक कुरा महंगो पर्न जान्छ । या त सरकारले नै महंगो पर्यटनलाई प्रवर्द्धन गरेको हो कि ? ठम्याउन सकिएन ।

देश डुब्दैछ, केका लागि बैंक ब्यालेन्स !

माल्दिभ्सलाई हात हल्लाउँदै बाईबाई गर्दै गर्दा त्यहाँको पुरै जमीन सामुन्द्रिक पिँधमा बिलाउँदै गएको हो कि भन्ने चिन्ता लागिरहेथ्यो । विश्व तापमान वृद्धिले गर्दा आर्कटिक आईस क्याप र हिमालयको हिउँ निरन्तर पग्लिएर समुन्द्रको सतह माथि आएर विश्व मानचित्रबाटै यो राष्ट्र नामेट हुन्छ भन्ने पिर पनि उत्तिकै लाग्यो ।

यही विषयप्रति विश्वको ध्यान आकर्षित गर्न सन् २००९ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपति मोहम्मद नासिदले पानीमुनि मन्त्रिपरिषदको बैठक राखेका थिए । भविष्यमा मालदिभ्स डुब्ने सम्भावना भएकाले धनीमानीहरुले आफ्नो भविष्य सुरक्षित गर्न क्यानाडा अमेरिका, बेलायत, सिंगापुर, थाइल्याण्ड, भारत, श्रीलंका आदि मुलुकमा बसाइँ सराइँ गरिसके र कतिले गर्दै गरेको अवस्था रहेछ ।

अधिकांश युवाहरुमा पनि सुरक्षित भविश्यका लागि पैसा जोहो गर्ने, घर बनाउने र जग्गा किन्ने कुराप्रति चिन्तित देखिएनन् । कारण सोध्दा उनीहरु भन्छन्, देश डुब्दैछ, केका लागि बैंक ब्यालेन्स चाहियो ? मालदिभ्स सरकारले आफ्ना जनतालाई सुरक्षित राख्न भारत, श्रीलंका र अस्ट्रेलियामा जमिन किन्न खोजिरहेको छ भन्ने पनि सुनियो ।

नेपाल सरकारसँग आधिकारिक तथ्यांक के छ, तर लगभग १० हजार नेपाली कामदार माल्दिभ्समा छन् भन्ने सुनियो ।

हामी गएको रिसोर्टमा मात्र ३० जनाभन्दा बढी नेपाली कामदार छन् भन्ने ‘सनराइज वारमा भेटिएकी सिर्जना बहिनीले सुनाइन् । सेफमा अण्डा पकाइरहेका एकजना टीका भाइ तेह्रथुम, सिरजुङका रहेछन् । मैले आफ्नो जिल्लाबासी गाउँलेलाई एउटा ‘स्याम्पेन’ उपहार दिएर फर्कें ।

यो पनि पढ्नुहोस युरोपको समृद्धि र मिथक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment