Comments Add Comment

देउवाको दावी : ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेेको हो

'ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ'

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ ।

नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो नक्सामा ‘काली’ लेखिएको पदावली हटाएर संशोधित नक्सा सार्वजनिक गर्‍यो । तर, त्यसलाई पनि नेपालले मानेको छैन ।

प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक मञ्चबाटै कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन् । यही साता सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ ।

तथापि, विपक्षी दलका नेता देउवाले कालापानीका विषयमा सरकारमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन् । शनिबार कास्की २ को चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नयाँ दाबी गरे, ‘भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो ।’

महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको देउवाको आरोप छ । पोखरा पुगेका उनले भने, ‘कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन् ओलीले ।’

के भने देउवाले ?

अघिल्लोपल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइन ।

ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको  हो, यो त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले ।

म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो । महाकालीलाई सीमा नदी मानिएको हो । त्यो कुरा महाकाली सन्धीमै छ । आज कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन् ओलीले । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएकाले यो सरकार राष्ट्रवादी नै होइन । यिनीहरु राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको यो आरोप चुनावी भाषण मात्र हो कि केही यसमा तथ्य पनि छ ? अनलाइनखबरको प्रश्नमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘प्रधानममन्त्री भइसक्नु भएकाले सभापतिले केही सूचनाका आधारमा बोल्नुभएको होला । यदि यो गलत हो भने सरकारले सावित गरोस् ।’

नेकपा भन्छ : भ्रामक प्रचार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भने देउवाको आरोपको खण्डन गरेको छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा हामी सरकारको साथमा छौं भनेका देउवाले नै भ्रमक प्रचार गर्नु दुःखद भएको नेकपा प्रवक्ता नारायणकाजी प्रकाशले बताए ।

यसले देशलाई अहित गर्ने उनले बताए । ‘राष्ट्रियताको सवालमा सिंगो देश एकतावद्ध भएको बेला आएको यो अभिव्यक्तिले देशलाई विभाजित गर्ने काम गर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment