+
+
Shares

६ दशकको राजनीतिबाट आफैंलाई अलग्याए देउवाले

कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले भरिभराउ खुलामञ्चमा यसअघिको महाधिवेशनमा निर्वाचित सभापति देउवा आएनन् । करिब ६ दशक लामो राजनीतिक यात्रामा हिँडेका देउवाले राजनीतिक जीवनको उत्तरार्धमा आफैंलाई अलग्याएका छन् ।

दुर्गा खनाल दुर्गा खनाल
२०८३ असोज १८ गते २१:२५
Listen News
0:00
0:00
🔊

१८ असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मुलुकका सबै राजनीतिक दलका नेताहरूको उपस्थितिले मञ्च भरिभराउ थियो ।

१४ औं महाधिवेशनबाट निर्वाचित मध्ये ४ जना बाहेक सबै पदाधिकारी १५ औं महाधिवेशनको मञ्चमा थिए । मञ्चमा अघिल्तिर पार्टीका दिवंगत सभापति र नेताहरूका तस्बिर राखिएका थिए । तर मञ्चमा छुटेका थिए- पूर्वसभापति शेरबहादुर देउवा ।

सभापति गगन थापाकाअनुसार उनको सम्मानका लागि मञ्चमा कुर्सी छुट्याइएको थियो । १५ औं महाधिवेशनको लोगोमा देउवाको तस्बिर पनि राखिएको छ ।

उनलाई महाधिवेशनको प्रमुख अतिथि बन्नका लागि कांग्रेसले निम्ता पनि पठाएको थियो । तर पार्टीले पठाएको निम्ता बोकेर जानेले बुझाउन पाएनन् । सहमहामन्त्री योगेन्द्र चौधरी सहितका नेतालाई सुरक्षाकर्मीहरूले फर्काइदिएका थिए ।

महाधिवेशन उद्घाटन समारोह सुरू हुनुअघिसम्म पनि कांग्रेस उपसभापति पुष्पा भुसाल लगायतका नेताहरू अनलाइनखबरसँग कुरा गर्दै देउवाको उपस्थिति हुनेमा झिनो आशा राखिरहेका थिए ।

तर कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले भरिभराउ खुलामञ्चमा देउवा आएनन् । करिब ६ दशक लामो राजनीतिक यात्रामा हिँडेका देउवाले राजनीतिक जीवनको उत्तरार्धमा आफैंलाई अलग्याएका छन् ।

कांग्रेसको १५ औं महाधिवेशन गर्न भनेर छुट्टै कार्यालय खोल्दै देशव्यापी गतिविधि गरिरहेका देउवाले अन्तिम समयमा कुनै निर्णय गर्लान् कि भन्ने अपेक्षा केही कांग्रेसजनले गरेका थिए । तर उनी आफ्नै अहंको कुण्डबाट बाहिर आएनन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अवैधानिक ठान्दै आफ्नो अनिश्चित यात्रामा हिँडिरहेका देउवाले आफ्नै निकटतम सारथीहरू गुमाएका छन् । उनलाई जीवनभर साथदिएका नेताहरू अहिले उनको बाटोमा छैनन् ।

जेनजी आन्दोलनपछि देउवाको नेतृत्वमाथि गगन थापा लगायतका नेताहरूले प्रश्न उठाएका थिए । त्यही प्रश्नको जग बलियो हुँदै गएको देउवाले भेउ पाएनन् । विशेष महाधिवेशनले उनलाई नेतृत्वबाटै हटायो । ६ दशक लामो लोकतान्त्रिक आन्दोलनको इतिहास भएका देउवा आफूविरुद्ध लोकतान्त्रिक तरिकाले उठेका प्रश्नहरूलाई स्वीकार्न तयार भएनन् ।

यो कुरातर्फ इंगित गर्दै आइतबार सभापति गगन थापाले खुलामञ्चको बिम्ब प्रयोग गर्दै भने,’ खुलामञ्चको विशेषता फरक मान्छेलाई एकैठाउँमा ल्याइदिन्छन् । तर,खुलामञ्चमा आएपछि सबै मतभेद सकिँदैनन् । यस्ता खुलामञ्च धेरै चाहिएको छ । प्रश्न गर्दा सदस्यताबाट ननिकालियोस् ।’

थापा तिनै व्यक्ति हुन् जसलाई विधानको वैधानिक व्यवस्था अन्तर्गत विशेष महाधिवेशनको माग गर्दा देउवाले सदस्यबाटै निकालेका थिए ।

सभापति थापाले देउवालाई एउटा कटु यथार्थ पनि सम्झाए । ‘ढोकामा गएर कसले कतिपटक सलामी दियो भन्ने आधारमा शेरबहादुर देउवाको मान रहने होइन । शेरबहादुर देउवाले बनाएको पार्टीलाई कति फराकिलो बनायो भन्ने आधारमा रहने हो,’ उनले भने ।

देउवाको इतिहासको मान आफूहरूले गर्ने भन्दै उनले त्यही मानका खातिर महाधिवेशन मञ्चमा स्थान छुट्याइएको उनको धारणा थियो ।

इतिहासमै सबै भन्दा धेरै प्रतिनिधिहरूबाट नेतृत्व र नीतिगत रुपान्तरण गर्नेगरी हुन लागेको महाधिवेशनबाट राजनीतिक उत्तरार्धमा आफ्नो इतिहास बनाउने अवसर देउवाले गुमाएका छन् ।

देउवा नेपाली राजनीतिका यस्ता पात्र हुन्, जसको लामो राजनीतिक इतिहास छ । जेल परेका छन् । चुनाव जितेर गृहमन्त्री हुँदै पाँचपटकसम्म प्रधानमन्त्री पनि भए । २०५९ सालमा पार्टी फुटाए, फेरि पार्टीमै फर्किए । पार्टी फुटाएर फर्किएपछि पनि पार्टी संस्थापनको रुपमा रुपान्तरित भए ।

तर अब यो अन्तिम सयममा उनी फेरि औचित्यहीन जस्तो भूमिकामा पुगेका छन् । उनको बाँकी राजनीतिक जीवनको सबैभन्दा कठिन लडाइँ अब कुनै चुनाव, संसद् वा राजासँग होइन आफ्नै समयसँग भएको छ ।

सर्वोच्च अदालतमा एउटा विचाराधीन मुद्दालाई लिएर उनी आफ्नो वैधानिकताको दाबी गरेर बसिरहेका छन् । तर यदी कुनै दिन उनको वैधानिकता फिर्ता आएछ भने पनि बदलिँदै गएको समयको चापमा उनले आफ्नो औचित्य स्थापित गर्नेसक्ने सम्भावना कम छ । किनकी आज जुन नयाँ अपेक्षा र उत्साह खुलामञ्चमा देखिएको थियो त्यो रुपान्तरित पार्टीको पक्षमा थियो ।

अब देउवा वा उनको पछि लागेका केही दोस्रो तहका नेताहरू नभएर कांग्रेसलाई केही फरक पर्दैन भन्ने सन्देश नेताहरूले दिइसकेका छन् । सभापति गगन थापाले नै भने- बीपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ गणेशमानको छोरा कहाँ हुनु्हुन्छ मलाई थाहा छैन । तर बीपी र गणेशमानको आत्मा यहाँ छ ।’

रास्वपा सभापति रवि लामिछानेले समेत देउवाको प्रबृत्तिप्रति इंगित गर्दै आइतबारको सभामा मसला थपिदिए । ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’लामिछाने सभापति थापालाई शुभकामना दिँदै भने ।

महाधिवेशनको यो विशेष अवसरमा देउवा छुट्दा कांग्रेसले उनको साथमा रहेका केही दोस्रो तहका नेताहरू गुमाएको छ । जस्तो बीपी कोइरालाका छोरा समेत रहेका शशांक कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधि, शेखर कोइराला इत्यादी । केही पुराना कार्यकर्ताहरू छुटेका छन् । तर देउवा स्वयंका लागि भने आफ्नो करिब ६ दशक लामो इतिहासको एउटा महत्त्वपूर्ण अध्याय छुटेको छ ।

उनले राजनीतिमा जित्न बाँकी केही थिएन । जस्तो- पाँचपटक प्रधामन्त्री भइसके । २ पटक कांग्रेसको सभापति बने । पार्टी फुटाएर पनि संस्थापन बने । पार्टीभित्रका आफ्ना समकालीन धेरैलाई पछाडि पारेर नेतृत्वमा आएका थिए । कहिले राजासँग लडे । कहिले पार्टीभित्रको कोइराला परिवारको एकाधिकारविरुद्ध उभिए । हरेक चुनावमा जनताको मन जिते । जीवनको उत्तरार्धमा उनले अब स्वाभाविक रुपमा नेतृत्व हस्तान्तरण गरेको भए उनले अर्को जीत हासिल गर्थे ।

गत विशेष महाधिवेशनबाटै यो काम गर्न सक्थे । विशेष महाधिवेशनमा चुक भएको भए पनि अब सर्वोच्च अदालतले समेत वैधानिकता दिइसकेका अवस्थामा मुद्दा मामिला नलागी १५ महाधिवेशनलाई आफ्नो भूल सच्याउने अवसरको रुपमा प्रयोग गर्न सक्थे । तर देउवाले त्यो अवसर प्रयोग गर्नतर्फ लागेन । जसका कारण अहिले उनको राजनीतिक धरातल नै हल्लिएको छ । न टेक्ने जमिन छ, न समाउने रुखको हाँगो छ ।

देउवाको राजनीतिक चरित्र बुझ्न धेरै दस्तावेज पढिरहनु पर्दैन। उनको पाँचपटकको प्रधानमन्त्री यात्रालाई हेरे पुग्छ। उनी सत्ताको मनोविज्ञान अरु कुनै पनि समकालीन नेताभन्दा बढ्ता बुझ्छन् ।

सत्तामा पुग्ने अंकगणितको हिसाब गर्न जान्दछन् । कुन बेला कसलाई साथ लिने, मौन बस्ने र निर्णय गर्ने मामिलामा देउवा निपुण छन् । तर अहिले चाहिँ उनले आफ्नो औचित्यतामाथि प्रश्न उठेको भेउ पाएका छैनन् वा नपाए जस्तो गर्दैछन् ।

देउवाले सत्ताको नेतृत्व गर्दा महाकाली सन्धि, मूल्य अभिवृद्धि करको कार्यान्वयन, कमैया मुक्तिको घोषणा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा बलियो बनाउने प्रयास, महिला, दलित, जनजाति, मधेस र पिछडिएका क्षेत्रलाई मूलधारमा ल्याउने नीतिगत प्रयासमा केही सकारात्मक काम गरेका थिए । तर यी सबैका वावजुद पनि उनको मूल ध्येय सत्ता नै रह्यो । पछिल्लो समय उनी पार्टीमा आफ्नो उत्तराधिकारीको रुपमा श्रीमती आरजु देउवालाई पनि ल्याउने कोसिस गरिरहेका थिए ।

त्यसका कारण उनको बद्नामी भइरहेको थियो । कतिसम्म आक्रोश थियो भन्ने गत जेनजी आन्दोलनमा उनले भौतिक आक्रमण समेत खेप्नुपर्ने अवस्था बन्यो ।

देउवाको सबैभन्दा ठूलो शक्ति उनका भित्रियाहरू थिए । मन्त्री सांसद राजनीतिक नियुक्ति वापत् देउवाबाट लाभ लिएकाहरूले उनको शक्ति जोगाइरहेका थिए । अब उनका खास भित्रिया नेताहरूले छोडेर लाखापाखा लागिसकेका छन् । उनका लागि एउटा आशाको त्यान्द्रो बाँकी छ- सर्वोच्च अदालतमा विचाराधीन मुद्दा ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?