Comments Add Comment

कास्कीमा कांग्रेसको चुनावी मसला : रवीन्द्रको काजकिरिया

नेकपाको जवाफ- सांस्कृतिक सुधारलाई चुनावी मसला बनाइयो

७ मंसिर, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको कास्की २ को माहौल तातिएको छ  । आफ्ना उम्मेदवारलाई भोट माग्न शीर्ष नेताहरुको दौडधुप मात्र बढेको छैन, आरोप-प्रत्यारोपको श्रृंखला पनि चलिरहेको छ ।

पछिल्लो समय केही दलले नेकपा उम्मेदवार विद्याका पति स्व. रविन्द्र अधिकारीको किरिया कर्मका विषयलाई चुनावी मसला बनाएका छन् । कांग्रेसको अधिकांश चुनावी सभा र घरदैलोमा विद्याले काजकिरियासमेत नगरेर परम्परा र  हिन्दु संस्कृतिमाथि नै प्रहार गरेको आरोप लगाउने गरिएको छ ।

कांग्रेसले शुक्रबार र शनिबार पोखरामा ठूला सभा गरेको थियो । दुबैमा काजकिरियाको विषय उठ्यो । नेता धनराज गुरुङले धर्म र संस्कारमाथि नै प्रहार गर्ने काम नेकपाले गरेको बताए ।

शुक्रबारको चुनावी सभामा विद्याप्रति लक्षित गर्दै गुरुङले भने, ‘जसले काजकिरिया पनि पूरा गर्न सक्दैन, उसले धर्म र संस्कारको रक्षा गर्न पनि सक्दैन ।’

कांग्रेस नेता मिनेन्द्र रिजालले प्रत्येक भाषणमा किरियाको विषय उठाउँदै आएका छन् । जुन धर्म मान्ने हो, त्यो धर्मभित्रको पूरा संस्कार पालना गर्नुपर्नेमा विद्याले हिन्दु धर्म मान्ने तर पूरा काज किरिया कर्म नमान्ने गरेको उनको आरोप छ ।

नेता रामहरि खतिवडाले पूरा किरिया पनि गर्न नसक्नेले जनताको सेवा गर्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । नेता गगन थापाले धर्म, संस्कार र संस्कृति भनेको पहिचान, जीवनका मूल्य मान्यतामाथि जोडिएको उल्लेख गर्दै धर्म संस्कारमाथि प्रहार भइरहेको बताए ।

आगामी मंसिर १४ गते हुने चुनावमा विद्या भट्टराई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेकी छिन् । उनलाई नेपाली कांग्रेसका खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ र विवेकशील नेपाली दलकी जमुना शर्माले चुनौती दिएका छन् ।

रविन्द्रको काज किरियालाई लिएर कांग्रेस नेताहरुले कम्युनिष्टलाई धर्म संस्कारविरोधी देखाउने प्रयास गरेको उनीहरुको अभिव्यक्तिमा झल्किन्छ । यसो गर्दा चुनावका बेला काजकिरियाको विषय बहसमा तानिएको छ ।

कसरी भएको थियो रविन्द्रको काज किरिया ?

गत साल फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । अधिकारीले आफू जीवित हुँदै परिवारजनसँगको कुराकानीमा हाम्रो संस्कृतिमा सुधार गरिनुपर्ने बताउने गरेको उल्लेख गर्दै परिवारजनले ७ दिनमै काज किरिया सम्पन्न गरेका थिए ।

ताप्लेजुङबाट पोखरासम्म शव ल्याउन तीन दिन लागेको थियो भने त्यसपछिको ४ दिन जोडेर सात दिनमा किरिया गरिएको थियो । १३ दिने काजकिरिया लामो भएकाले यसमा सुधार गरेर ७ दिन बनाउनुपर्ने समाजमा आवाज उठिरहेका बेला अधिकारी परिवारले स्व. रविन्द्रको प्रगतिशील ढंगबाट काज किरिया सम्पन्न गरेको थियो ।

काज किरियाका सन्दर्भमा गरुण पुराण वाचन गरिएको थिएन, बरु समापनका दिन श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । बाहुनलाई गाई दान पनि गरिएको थिएन ।

यो पनि पढ्नुहोस ७ दिनमै काजकिरिया ! न बाहुनलाई गौदान, न सेतो बस्त्र !

समाजमा सांस्कृतिक सुधारको सन्देश दिने गरी गरिएको संक्षिप्त काजकिरियालाई कांग्रेसले राजनीतिक मसला बनाएको भन्दै नेकपा नेताले आपत्ति जनाएका छन् । नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङले शनिबार बिहान नेकपाको चुनावी घरदैलोलाई सम्बोधन गर्दै रवीन्द्रकै चाहना अनुसार विद्याले काज किरिया फरक तरिकाले गरेको बताए ।

‘रवीन्द्रले राजनीतिसँगै संस्कृतिमा पनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नुभएको थियो । उहाँ संस्कृति सरल र सहज होस् भन्ने चाहनुहुन्थ्यो, संस्कृतिको नाममा कसैले पनि दुःख नपाओस् भन्ने उहाँको चाहना थियो’, उनले भने, ‘उहाँ(रवीन्द्र) कै चाहना अनुसार विद्याले ७ दिन काजकिरिया गर्नुभयो, यसलाई अन्यथा लिन हुँदैन ।’

कांग्रेसले चुनाव हार्ने देखेपछि ‘विद्याले काजकिरिया गरिनन्’ भनेर मतदातामाझ भ्रम छर्ने प्रयास गरिरहेको गुरुङको तर्क छ । उनले भने, ‘संस्कृतिलाई सरल र सहज बनाउँदा अनर्गल प्रचार गर्ने कांग्रेस आफैं संस्कृतिविरुद्ध छ भन्ने पुष्टि हुन्छ ।’

शनिबार पोखरा ७ मा आयोजित युवा परिचालन कमिटीको कार्यक्रममा युवा संघका पूर्वअध्यक्ष राजीव पहारीले भने, ‘विद्या कमरेडले ७ दिनसम्म काजकिरिया गर्नुभएको हो । कांग्रेसका बीपी कोइरालाले बाबुको किरिया नै गरेका थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment