+
+
Shares

पर्सामा ढुंगा, गिट्टी, बालुवाको अभाव, विकास निर्माणमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १८:३९

६ मंसिर, वीरगञ्ज । ढुंगा गिट्टी बालुवाको अभावका कारण विकास निर्माण प्रभावित भएको छ । भवन, सडक, पुल, बाँधलगायतका पूर्वाधार निर्माणका लागि अति आवश्यक वस्तु बालुवा, ढुङ्गा, गिट्टीको विगतका ४/५ महिनादेखि अभाव देखिएको हो ।

वैधानिक तवरबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाइएकोले सहजै उपलब्ध नहुँदा भवन तथा उद्योगहरुको निर्माणमा शिथिलता आएको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ढुंगा गिट्टी बालुवा उपलब्ध नहुँदा विकास निर्माणको काम प्रभावित भएको बताएको छ । ‘बालुवा, ढुङ्गा, गिट्टीको अभाव छ, पाइएको पनि महंगो छ । यसको प्रमुख कारण यसको बिक्री वितरणको लागि सम्बन्धित निकायद्वारा समयमा ठेक्का नलगाउनु हो’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अति महँगो दाममा ढुङ्गा, गिट्टी, बालुवा खरिद गर्नुपर्ने बाध्यताले निर्माण कार्य असहज हुन गएको, निर्माण कार्य असहज हुँदा निर्माण उद्योग र निर्माणसँग सम्बन्धित सिमेन्ट, छड, इँट्टा, क्रसर, ग्रिल, काठ जस्ता उद्योगहरु समेत धरासायी हुँदै गएको उल्लेख छ ।

बालुवा, ढुङ्गा, गिट्टीको ठेक्का लगाउने कार्य यथाशीघ्र सम्पन्न गर्न गराउन र भविष्यमा समेत ढिलासुस्ती नदेखाउन सङ्घले आग्रह गरेको छ ।

सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच समन्वय र सहमति हुन नसक्दा बजारमा लामो समयदेखि निर्माण सामग्रीको अभाव देखिएको भन्दै निर्माण व्यवसायीले पनि असन्तुष्टि जनाएका छन् । निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रामाकान्त चौरसियाले ढुंगा, गिट्टी बालुवाको अभावले विकास निर्माणको काममा समस्या भइरहेको बताए ।

‘असार साउन, भदौं त खोलानदीमा उत्खनन बन्द नै हुन्छ, असोजबाट शुरु हुनुपर्ने मंसिर लागिसक्दा समेत अधिकाशं खोला खुलेका छैन’ अध्यक्ष चौरसियाले भने ‘दुई महिना बन्द हुँदा यसले पछिसम्म विकासको काममा असर पार्छ ।’

ढुंगा गिट्टी बालुवाबाट राम्रो आम्दानी हुने भएकोले स्थानीय तहमा यसमा निकै विवाद हुने गरेको छ । विगतमा बारा, पर्साका कतिपय पालिकाबीच क्षेत्राधिकारको विषयमा समेत विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?