Comments Add Comment

मोटरसाइकल चोर्ने गिरोहका ‘नाइके’सहित चार जना पक्राउ

७ मंसिर, मकवानपुर । एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइकेेसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ ४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका ९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज चौधरी छन् । उनीहरुसहित प्रहरीले २२० सीसीका दुई वटा पल्सर र रोयल इन्पिmल्ड बुलेट बाइक नियन्त्रणमा लिएको छ ।

ज्ञानेन्द्र चौधरी मोटरसाइकल चोर्ने गिरोहको नाइके रहेको प्रहरीको दाबी छ । उनी यसअघि मोटरसाइकल चोरी मुद्दामा ३ लाख १० हजार रुपैयाँ घरौटी बुझाएर २०७५ पुस ३ गते रिहा भएका थिए ।

मोटरसाइकल चोरी गर्ने समूहलाई जिल्लाका तीन छुट्टा छट्टै ठाउँबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । प्रहरीले पूर्वपश्चिम राजमार्गको हेटौंडा १९ बाट चोरीको मोटरसाइकल सहित निरन्जन चौधरीलाई प्रदेश ३-०२-०१०प २४५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । त्यस्तै राजमार्गको हेटौंडा-लेवट खण्डबाट अनटेष्ट मोटरसाइकलसहित राजकपुर चौधरी पक्राउ परेका थिए ।

राजमार्गमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीलाई छक्याएर भागेका राजकपुरलाई लेवटको टोलीले पक्राउ गरेको हो । प्रहरीलाई छक्याएर भाग्ने क्रममा मोटरसाइकलबाट लड्दा उनको दायाँ कुमको हड्डी भाँचिएको प्रहरी उपरीक्षक सिंहले बताए ।

चोरी गर्ने गिरोहका नाइके भनिएका ज्ञानेन्द्र चौधरीलाई चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३००२ प ५९४७ नम्बरको बुलेट वाइकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले चलाएको मोटरसाइकलको पछाडि बसेका बारा कोल्बी नगरपालिका ६ का २२ वर्षीय धिरज चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ किलो गाँजासहित दुईजना पक्राउ

यसैबीच मकवानपुर प्रहरीले ५ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पनि पक्राउ गरेको छ । मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा ५७ प २३४३ नम्बरको मोटरसाइकल जाँचको क्रममा प्रहरीले लागुऔषध गाँजासहित निजगढ नगरपालिका १२ का २७ वर्षीय राजकुमार तितुङ्ग र ३२ वर्षीय बिरबहादुर तितुङ्गलाई पक्राउ गरेको हो ।

बिरबहादुरले बोकेको झोलामा प्लाष्टिकको डोरीले बाँधेको चारपाटे आकारमा रहेको साढे ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment