Comments Add Comment

विमानस्थलमा तोडफोड गर्ने सांसदको गुनासो : यो देशमा माननीयको भ्यालू छैन

८ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद प्रमोद साहले आफूलाई जनकपुर विमानस्थलमा बुद्व एयरका कर्मचारीहरुले सांसदको जस्तो व्यवहार नगरेको गुनासो गरेका छन् ।

आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद शाहले विमानस्थल सुधार गर्नुपर्छ भनेर पटक–पटक कुरा उठाएको र सरकारको ध्यानाकर्षण गराउने आफू नै अपमानजनक व्यवहार सहन बाध्य भएको दुखेसो गरे ।

गत असोज २८ गते सांसद साह त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआईपी कक्षबाट पक्राउ परेका थिए । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका साह तीन दिनपछि साधारण तारेखमा रिहा भएका थिए ।

नागरिक उडड्यन प्राधिकरण जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाई उड्यन ऐन २०१५ अन्तर्गत कारबाही गर्न उजुरी दिएपछि जिल्ला अदालत धनुषाबाट पक्राउ गर्न आदेश भएको थियो । प्राधिकरणले हालसम्म शाहविरुद्धको मुद्धा फिर्ता लिएको छैन ।

आवेगमा आएको स्वीकार

सांसद शाहले बुद्ध एयरको विमानस्थलस्थित कार्यालयमा आफूले बेथिती देखेको र लामो समय कुर्नु पर्दा आवेगमा आएको स्वीकार गरे ।

‘विमान साढे ११ बजे उड्नुपर्ने थियो । दुई घन्टा ढिलो भयो । भीआईपी कक्षमा अर्का एक जना बिरामी थिए, ढिलो हुँदा उनी छटपटाइरहेका थिए, कुनै प्रकारको सुविधा थिएन । २/३ दिन अघिदेखिका चियाका कपहरु फालिएका थिए । सफा सुग्घर थिएन । त्यो देख्दा म केही आवेगमा आएँ र काउण्टरमा गएर लात्ताले हानेको हुँ’ बैठकपछि शाहले अनलाइनखबरसँग भने ।

आफू आवेगमा आएपछि केही प्रहरी आएर सम्झाएपछि पुनः भीआईपी कक्षमै गएर बसेको तर, केही बेरपछि बुद्ध एयरका कर्मचारीले आफूलाई धम्की दिँदै विमान चढ्नसमेत अवरोध गरेको उनले सुनाए । ठेलमठेलकै स्थितिमा प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर विमान चढ्न पाएको साहले बताए ।

‘मलाई बुद्ध एयरका कर्मचारीले हातपात गरे, माननीयको ब्यवहार गरेनन् । यो देशमा व्यापारीहरुको राज छ । हामी माननीयको कुनै भ्यालु छैन भनेर समितिको बैठकमा राखेको छु’ उनले भने ।

समितिले सरकारको ध्यानाकर्षण गराउने

सांसद साहले आफूलाई विमानस्थलमा दुब्र्यवहार गरेको गुनासो गरेपछि संसदीय समितिले यसअघि विमानस्थल सुधारका लागि दिएका निर्देशन कार्यान्वयन भए/नभएकोबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्ने तयारी गरेको छ ।

गत कात्तिक २७ गते उद्योग समितिले विमानस्थलको सुरक्षा प्रभावकारी र सवल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई निर्देशन दिएको थियो । उक्त निर्णयमा आन्तरिक उडानमा समेत टिस्यु पेपर दिने र सामान्य खाना दिने ब्यवस्था मिलाउन समेत भनेको थियो ।

उक्त निर्देशन कार्यान्वयनको अवस्था के छ ? भनेर पर्यटन मन्त्रालयको ध्यानाकर्षण गर्ने तयारी भएको समिति सभापति विमल श्रीवास्तवले जानकारी दिए ।

‘समितिले दिएका निर्देशन कार्यान्वयन भएको छ वा छैन भनेर समितिले सरकारको ध्यानाकर्षण गर्न सक्छ । माननीयको दुखेसो पनि दिइएका निर्देशन कार्यान्वयन नहुँदा समस्या आएको भन्ने हो’ समिति सभापति श्रीवास्तवले अनलाइखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment