Comments Add Comment

मेडिकल कलेजको राष्ट्रियकरण सुरु गर्न डा. केसीको माग

९ मंसिर, काठमाडौँ । प्रा. डा. गोविन्द केसीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजविरुद्ध ठगी मुद्दा चलाउन र कलेजको राष्ट्रियकरण सुरु गर्न माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरी उनले सरकारले दिएको समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगर्ने कलेजविरुद्ध ठगी मुद्दा चलाउन र मेडिकल कलेजको राष्ट्रियकरण प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

‘सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिंदा पनि शुल्क फिर्ता नभएकाले तत्काल ठगी गर्नेहरुलाई पक्राउ गरेर फौजदारी मुद्दा चलाउन तथा मेडिकल कलेजहरुको राष्ट्रियकरणको प्रक्रिया शुरु गर्न पनि माग गर्दछौं’ उनले भनेका छन् ।

सरकारले गत वर्षसम्म एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर धेरै कलेजले त्यो भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।

केसीले सरकारले आफूले तोकेको शुल्क कायम गर्नुको सट्टा बढी शुल्क लिने कलेजलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । ‘सरकारले आफैंले तोकेको शुल्क कायम गर्नु त कता, माफिया र अपराधीहरुलाई संरक्षण गरिरहेको छ । फलस्वरुप शुल्कमा दशौं अर्बको कालोबजारी गर्नेहरु दण्डित हुनुको सट्टा पुरस्कृत हुँदै गइरहेका छन्’ केसीले भनेका छन् ।

विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गर्न बारम्बार मेडिकल कलेजहरुसित अनुनय विनय गरे पनि तिनका सञ्चालकहरुले सुनुवाइ नगरेको भन्दै केसीले सरकार पनि कलेज सञ्चालकअघि लाचार भएको आरोप लगाए ।

‘प्रधानमन्त्री ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने भने पनि ठगहरुका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न सकेका छैनन्’ उनले भनेका छन् ‘प्रधानमन्त्रीको संरक्षण प्राप्त अपराधीहरुले शुल्क फिर्ता गर्ने मात्र हैन विद्यार्थीलाई अमानवीय यातना र धम्की दिइरहेका छन् ।’

अतिरिक्त शुल्क फिर्ता गर्नेलगायतका आफ्ना माग पूरा नभएमा पुन: सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment