Comments Add Comment

उड्डयन इतिहासकै रहस्यमय घटना, आकाशमै कहाँ हराए अपहरणकारी ?

यो संसारमा बेला–बेलामा केही रहस्यमय घटनाहरू हुन्छन्, जसको भेद इतिहासकै गर्भमा लुकिरहन्छ ।

हवाईजहाजमा यात्रा गरिरहेको मान्छे आकाशमै हराएको घटना सुन्नुभएको छ ? जहाज सकुशल विमानस्थलमा अवतरण हुने तर जहाजभित्र रहेको मानिस आकाशमै हराउने कुरा सायद अकल्पनीय हो । तर आजभन्दा ४८ वर्षअघि अमेरिकामा ठ्याक्कै यहीँ घटना घटेको छ ।

घटना सन् १९७१ को हो । एकजना व्यक्ति शुटबुट लगाएर आफ्नो हातमा एउटा कालो रङको ब्याग बोकेर अमेरिकाको पोर्टल्याण्ड एयरपोर्टमा पुगे । ती व्यक्तिको नाम ड्यान कूपर बताइएको थियो । तर उनले आफ्नो खास नाम बताएकै थिएनन् ।

उनले टिकट काउन्टरमा गएर सिएटल जाने जहाजको टिकट काटे र बोइंग ७२७ विमानमा चढे । बोर्डिङ पासमा उल्लेखित जहाजको पछिल्लो सिटमै गएर उनी बसे । उनले बोकेको कालो रङको झोलाचाहिँ उनले जहाजको डिक्कीमा नराखी आफैंसँग राखीरहे ।

विमानले जसै विमानस्थलबाट उडान भर्यो कूपरले विमान परिचारिकालाई कागजको एउटा टुक्रा दिए । जब उनले दिएको कागजको टुक्रामा लेखिएको कुरा परिचारिकाले पढिन् तब उनी झसंग भइन् । किनकि उक्त कागजको टुक्रामा लेखिएको थियो, ‘मसँग बम छ ।’

कूपरले ती एयर होस्टेजलाई आफ्नो झोला खोलेर त्यसभित्र रहेको बम पनि देखाइदिए ।

एयर होस्टेजले सो कुराको जानकारी पाइलटहरूलाई गराइन् । कूपरले आफ्ना शर्तहरूको बारेमा जानकारी गराए र विमानलाई नजिकैको एयरपोर्टमा अवतरण गराएर इन्धन भर्न लगाए । साथै उनले दुई लाख डलर नगद र चारवटा प्यारासुट पनि मागे ।

पाइलटहरूले सोही बमोजिम विमान अपहरणमा परेको र कूपरले दुई लाख डलर नगद तथा प्यारासुटको माग गरेको कुरा सिएटलको एयर ट्राफिक कन्ट्रोललाई सूचना दिए । त्यो सूचना पाउनेवित्तिकै सिएटल विमानस्थलमा तहल्का मच्चियो । पुलिस तथा एफबिआई तत्कालै एक्सनमा उत्रियो । सरकारले विमानमा भएका यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अपहरणकारीका सबै माग पूरा गर्ने वचन दियो । तर एफबीआईले कूपरलाई दिने सबै डलरका नोटको नम्बर आफूसँग राख्यो, ताकि उनलाई पक्रन सकियोस् ।

जहाजलार्ई सीएटलमा अवतरण गराएर सबै यात्रुहरूलाई ओरालियो । जहाजमा इन्धन भरियो । कूपरको मागबमोजिमको रकम तथा प्यारासुट समेत उनलाई उपलब्ध गराइयो । तर ती अपहरणकारी जहाज बाहिर निस्कनुको साटो पाइलटलाई जहाज उडाएर मेक्सिको लैजान आदेश दिए ।

जहाज मेक्सिकोतर्फको उडान भरिरहेको बेला कूपरले पाइलट तथा एयर होस्टेज सबैलाई क्याबिनमा गएर ढोका बन्द गरेर बस्न आदेश दिए । सोही बमोजिम सबैजना क्याबिनमा गए । जहाज आकाशमै थियो । केही बेरपछि पाइलटहरूले जहाजमा हावाको चापमा असन्तुलन भएको महसुस गरे । उनीहरूले क्याबिन बाहिर निस्केर हेर्दा त विमानको पछाडिको ढोका खुल्ला भएको देखियो ।

पाइलटले तत्कालै विमानको ढोका बन्द गरे । कूपरलाई विमानभित्र यत्रतत्र खोजियो । तर उनी फेला परेनन् । उक्त विमानलाई पाइलटहरूले नेवादास्थित रेनो एयरपोर्टमा अवतरण गराए । त्यसबेला विमानलाई चारैतर्फबाट सुरक्षाकर्मीहरूले घेरेका थिए ता कि अपहरणकारीलाई पक्रन सकियोस् ।

तर जहाजभित्र अपहरणकारी कूपर थिएनन् । उनी त जहाजको ढोका खोलेर पहिले नै आकाशमा हाम फालिसकेका थिए । जहाजबाट बाहिर हाम फालेका कूपर हालसम्म पनि फेला परेका छैनन् ।

यो घटना उड्डयन क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा रहस्यमय घटनाको रूपमा रहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment