Comments Add Comment

भ्रमण वर्षबारे राजदूतसँग पर्यटनमन्त्रीको छलफल

न्यू इयर र क्रिसमस बिदा नेपालमै मनाउन राजदूतलाई पर्यटनमन्त्रीको आग्रह

तस्वीर : भ्रमण वर्षको सचिवालय ।

१८ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई आसन्न अंग्रेजी नयाँ वर्ष र क्रिसमसको बिदा नेपालमै मनाउन आग्रह गरेका छन् ।

नेपाल भ्रमण वर्ष सचिवालयले बुधबार नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुसँग गरेको छलफलमा मन्त्री भट्टराईले क्रिसमस र नयाँ वर्ष नेपालमै मनाउन अनुरोध गरेको हो ।

मन्त्री भट्टराईले नेपाललाई सन् २०२० लाई मात्र पर्यटन वर्ष मनाउन लागेको नभई पर्यटन दशककै रुपमा मनाउन लागेको उल्लेख गरे । बुधबार नेपालस्थित करिब ३ दर्जन राजदूतसँग सचिवालयले भ्रमण वर्षको महत्वका बारे छलफल गरेको हो ।

सो अवसरमा भ्रमण वर्षका संयोजक सुरज वैद्यले प्रस्तुति दिएका थिए । उक्त अवसरमा पर्यटनमन्त्री भट्टराईले निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई छूटको प्याकेज ल्याउन लागेको जानकारी गराएका थिए ।

उक्त अवसरमा राजदूतहरुले नेपाल भ्रमण वर्ष सफल बनाउन आआफ्नो स्थानबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा अमेरिकी, जर्मनी, जापानिज, भारतीय, चिनियाँलगायत ३ दर्जन राजदूत तथा नेपाली कूटनीतिक नियोगका प्रमुख सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment