Comments Add Comment

क्रिकेटमा भुटानमाथि नेपाल हावी हुँदा …(फोटोफिचर)

१९ मं‌सिर, काठमाडौं ।  क्रिकेटको सिकारु देश भुटान । ओडीआई मान्यताप्राप्त नेपाल । आजको भिडन्त एकपक्षिय हुने पूर्वानुमान थियो र भयो पनि त्यस्तै ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पायो । ओपनिङमा आए पूर्वकप्तान पारस खड्का र हालका कप्तान ज्ञानेन्द्र मल्ल ।

पारसले भुटानी बलरहरुको सातो खानेमा शंका थिएन, तर ज्ञानेन्द्र चाहिँ कप्तान भएयता निकै खराब फर्मबाट गुज्रिरहेका थिए । आफ्नो गुमेको आत्मविश्वास फर्काउन आज उनको ब्याटबाट बढिभन्दा बढि रन निस्किनुपथ्र्यो । र, भयो पनि त्यस्तै ।

पारस र ज्ञानेन्द्रले विष्फोटक सुरुवात गरे । पारस २८ बलमा ५७ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले आफ्नो इनिङलाई शतकसम्म डोर्‍याए । ज्ञानेन्द्रको आजको ब्याटिङमा खराब फर्मको झल्को देखिएन । सायद विपक्षी टिम कमजोर भएर पनि हुन सक्छ । प्राय ठूला सट खेल्न नरुचाउने उनले आज ८ छक्का प्रहार गरे, जुन टि–२० क्रिकेटमा नेपाली ब्याट्सम्यानले हानेको सर्वाधिक हो ।

ज्ञानेन्द्र अन्तर्राष्ट्रिय टि–२० मा शतक हान्ने पारसपछि दोस्रो ब्याट्सम्यान बनेका छन् । यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा सर्वाधिक स्कोर पनि हो ।

ज्ञानेन्द्र क्रिजमा हुँदासम्म नेपालले २५० रनको आँकडा कटाउने सम्भावना देखिएको थियो । तर, उनी आउट भएपछि अन्तिम दुई ओभरमा नेपालले अपेक्षित रन बटुल्न सकेन । १९ औं ओभरमा भुटानी बलरले ५ रन मात्रै खर्चिए । यद्यपि, नेपालले २ सय ३६ रनको किर्तिमानी स्कोर खडा गर्‍यो ।

जवाफी ब्याटिङमा आएको भुटानी टोलीले नेपालले दिएको चुनौति पछ्याउने प्रयास गरेन । टिकेर खेल्दै पूरा २० ओभर ब्याटिङ गर्नु नै उसका लागि सन्तोषको विषय रह्यो । अनुभवहिन भुटानलाई २० ओभरमा झण्डै एक सय रन दिँदा नेपालको बलिङमा भने प्रश्न उठाउने ठाउँ देखिएको छ ।

श्रीलंकाको अन्डर २३ टिमसँग कडा प्रतिस्पर्धामा पराजित भएको नेपालले भुटानलाई पराजित गर्दै जितको खाता खोलेको छ । यो जितले नेपाललाई धेरै उत्साहित भने बनाउन भने सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment